२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित

जस्तापाताका भरमा जाडो छल्दै मनाङका तालवासी

जस्तापाताका भरमा जाडो छल्दै मनाङका तालवासी
अ अ+ अ-

मनाङ ।  चिसो बढेसँगै माथिल्लो मनाङका वासिन्दा जिल्ला बाहिर झरिसकेका छन् । मनाङका नार्पाभूमी गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकाका अधिकांश मानिस घर कुरुवा राखेर काठमाडौँ, पोखरालगायत सहरमा पुगिसकेका छन् ।

बाढीले क्षति पुर्‍याएका चामे गाउँपालिका र नासो गाउँपालिकाका मानिस भने जाडोयाममा जिल्लामा नै बसोबास गर्ने गर्दछन् । झनै यसपटक बाढीका कारण घरबार विहिन भएका यहाँका मानिस राहतमा आएका जस्तापाता तथा प्रदेश सरकार र गाउँपालिकाले उपलब्ध गराएको राहत रकमले बगर पञ्छाएर बसेका छन् । उनीहरु जस्तापाताको टहरामा दिन काटिरहेका छन् । उनीहरु अहिलेको यो चिसोमा पनि मस्र्याङ्दीको किनारमा बगर पन्ञ्छाउँदै कष्टकार जीवन बिताएका छन् ।

मनाङको तल्लो क्षेत्र नासो गाउँपालिका–१ सिरानतालमा सात घर थियो । गत जेठ ३१ को रातिदेखि परेको अवरिल वर्षाले मस्र्याङ्दीमा बाढी आउँदा सबै बगायो । स्थानीयवासी राजन गुरुङका अनुसार अहिले कुन ठाउँमा कुन घर थियो भनेर अड्कल गर्न पनि सकिँदैन । जसोतसो मान्छे जोगिए पनि घरबारी सबै बगायो । घर भएको ठाउँ पूरै बगर बनेको छ । पहिलेको ठाउँमा अब अर्को घर बनाउन पनि मिल्दैन ।

भीरपाखाको ओडार र छेलमा बसेर रात कटाएका स्थानीयवासी अहिले कोही तालबजारको छिमेकीकोमा छन् । कोही बेंशीसहर आफन्तकोमा छन् । सिरानतालकै दूधजङ्ग गुरुङको परिवार तालबजारस्थित कविन्द्र गुरुङको घरमा एउटा कोठा भाडामा लिएर बसेको छ । बाढीले डुबाएको कविन्द्रको घरका कोठाबाट बालुवा झिकेर पत्नी र छोरीसहित तीन जनाको परिवार एउटा कोठामा बसेको छ । तालडाडामा पालमुनि बस्दै आएको परिवार चिसोले सताउन थालेपछि तीन साताअघि मात्रै कविन्द्रको घरमा आएका हुन् । “दाताले दिएको पालमुनि बसियो । चिसोले सकिएन । तप्पतप्प चिसो चुहिएपछि डेरा खोजेर बस्यौँ’’, उहाँले भन्नुभयो ।

उहाँका अनुसार हिउँद अगाडि जस्ताको अस्थायी टहरा बनाउने योजना छ । यसका लागि गण्डकी प्रदेश सरकारले रु दुई लाख दिएको छ । “हामी घरबार विहीन भएको सात महिना भयो, प्रदेश सरकारले चेक दिएको छ । अब घर टहरा बनाउनुपर्ला’’, उहाँले भन्नुभयो । “चिसो छल्न आफन्तको घरमा कोठा लियौँ । रु दुई लाखले घर बन्दैन । टिन जस्तापाताले बार्ने र टिनैको छानो हाल्ने हो । टिनले पनि के जाडो छेकिएला र खै ?’’

तालबजारकै खिमबहादुर गुरुङको घरमा कोठा लिएर बसेका भीमबहादुर गुरुङले पनि रु दुई लाखको चेक बुझ्नुभयो । पत्नी, दुई छोरी र एक छोरा अहिले कोठामा बसेका छन् । मस्र्याङ्दीले घर सबै पुरिएपछि उनी तालडाँडामा विस्थापित भएका थिए । “तालडाँडामै टेन्ट लगाएर बसियो । घर र खाद्यान्न सबै बाढीले डुबायो । दाताले दिएको राहत पनि सकियो”, उहाँले भन्नुभयो, “राहतको पैसाले सानोतिनो टहरा बनाउनुपर्ला । घर बनाउन पछि केन्द्र सरकारले दिने भनेको छ ।” नासों–१ का अध्यक्ष झलकबहादुर गुरुङले पूर्ण क्षतिको सूचीमा परेको तालगाउँका २२ घरधुरीलाई प्रदेश अर्थमन्त्री राम्जी बरालले धारापानीमा आएर रु दुई÷दुई लाखको चेक हस्तान्तरण गरेका थियो । घर बनाउनका लागि पैसापछि आउँछ भन्नुभएको छ । उहाँले भन्नुभयो, “केन्द्र सरकारले दिने हो कि, प्रदेशले दिने हो, त्यो त उहाँले भन्नुभएन ।”

अध्यक्ष चन्द्र घलेले गाउँपालिकाभित्र पूर्ण क्षति पुगेका लाभग्राहीको सङ्ख्या ४४ रहेकामा ३९ जनाले रु दुई लाखका दरले राहत पाएको बताउनुभयो । पाँच जनाको भने केही कागजात अपुग भएको भन्दै नपाएको उहाँले बताउनुभयो । उहाँका अनुसार क्षति भएको ठाउँमा टालटुल गर्न, अस्थायी टहरा बनाउन भन्दै उक्त रकम दिएको हो । “घरबारविहीन भएको सात महिना भयो । जनता भोकै छना  कि, नाङ्गै छन् कि भनेर वास्ता नगर्ने भनेर गुनासो गरेँ । नियम, प्रक्रियाले गर्दा ढिलो भयो भन्ने कुरा मन्त्रीबाट आयो”, उहाँले भन्नुभयो । उहाँका अनुसार केन्द्र सरकारले रु ५ लाख दिने भन्ने कुरा छ । तर, कसरी दिने भनेर प्रस्ट छैन । “केन्द्रले ६० प्रतिशत, प्रदेशले ३० र स्थानीय तहले १० प्रतिशत रकम पुनःनिर्माणका लागि दिने भन्ने थियो”, उहाँले भन्नुभयो, “रु दुई लाख के भनेर दिएको हो, प्रस्ट छैन । प्रदेशले फेरि दिन्छ वा दिँदैन, त्यो पनि प्रस्ट छैन ।”

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार प्रदेश सरकारबाट ७४ लाभग्राहीका लागि रु एक करोड ४८ लाख बजेट आएको थियो । प्रदेश विपद् व्यवस्थापन नियमावलीअनुसार रु एक लाख र हिमाली जिल्लाको हकमा सरकारले विशेष प्रभावित क्षेत्र घोषणा गरेकाले थप रु एक लाख गरी रु दुई लाख आएको बताउनुभयो । उहाँका अनुसार यो रकम निजी आवास पुनःनिर्माणका लागि प्रदेश सरकारको विशेष राहत हो । सङ्घीय र स्थानीय सरकारको रकम आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी आचार्यले जनाकारी दिनुभयो ।

“बाढीपहिरा पीडितको पुनःस्थापना तथा घर पुनःनिर्माणको लागि हो । प्रदेश सरकारबाट अर्को रकम आउँछ वा आउँदैन, यसै भन्न सकिँदैन”, उहाँले भन्नुभयो । मन्त्री बरालले भने विशेष प्याकेजका रूपमा बाढीपीडितलाई उक्त रकम प्रदान गरिएको बताउनुभएको थियो । नासो गाउँपालिका–१ का अध्यक्ष झलकबहादुर गुरुङका अनुसार तालगाउँको सबै घर डुबानमा परेका छन् । सिरानतालको सात घरसहित करिब ६० घर डुबानमा परेको उहाँले बताउनुभयो । नासो गाउँपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत गोविन्दबहादुर रानाभाटका अनुसार गाउँपालिकाभित्रका ८२ घरधुरीमा बाढीपहिराले क्षति पुर्‍याएको छ । यसमा पूर्ण क्षति भएका ४४ घर छन् । आंशिक क्षति तर उच्च जोखिमका १५ घर छन् । आंशिक क्षति न्यून जोखिमका २३ घर छन् । यी घर मर्मत गरेर बस्न सकिन्छ ।

उहाँका अनुसार वडा नं १ को तालमा मात्रै ५८ घरमा क्षति पुगेकामा २३ घरमा पूर्ण क्षति छ । १५ घर आंशिक क्षति तर उच्च जोखिममा छन् । १३ घर आंशिक क्षति छन् । आठ घरमा सामान्य क्षति छ । तालका १५ घर परिवार अरूकोमा आश्रय लिएर बसेका छन् । छ परिवार अन्यत्रै सरेका छन् । नासों–३ धारापानीका १४ परिवार आफन्तकोमा आश्रय लिएका छन् । पूर्ण क्षति नभएपनि आफ्नो घरमै बस्न नसकेका, लामो समयसम्म अन्यत्रै बस्न बाध्य भएका र आफ्नो घरमा बस्दा पनि मर्मत गरी बस्नुपर्नेलाई राहतमा नसमेटेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् । (रासस)