८ भाद्र २०८३, सोमबार
,
Latest
भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै… मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग पशुपतिनाथमा विशेष पूजा कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिदै अटो र बस ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति चितवन–१ का विकास आयोजनाको सांसद ढकालद्वारा स्थलगत अनुगमन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बडीमालिकातर्फ बाजुराको सरकारी टोली प्रस्थान



अ+ अ-

काठमाडाैँ । धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा प्रसिद्ध बडीमालिकामा पूजाआजाका लागि बाजुराको सरकारी टोली पूजा सामग्रीसहित प्रस्थान गरेको छ।

सदरमुकाम मार्तडीस्थित मालिका मन्दिरमा पूजाआजा गरेपछि सुरक्षाकर्मीको सलामी, बाजागाजा र फूलमालासहित टोलीलाई बिदाइ गरिएको हो। पञ्चकन्या तथा महिलाले जमराको टोकरी शिरमा राखेर सरकारी टोलीको बिदाइ गरेका थिए।

बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्का, उपप्रमुख नन्दा थापा, जिल्ला प्रहरी प्रमुख शैलेश्वरी बोहरालगायतको एकीकृत सरकारी टोली बडीमालिकातर्फ प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो। प्रहरी प्रमुखकै नेतृत्वमा टोली गएकोले बडीमालिकामा सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको उहाँले बताउनुभयो।

देशका विभिन्न जिल्लाका साथै छिमेकी भारतबाट समेत सयौँ तीर्थयात्री केही दिनअघिदेखि नै बडीमालिका र बुढीनन्दातर्फ जान थालेका छन्। यद्यपि, सरकारीस्तरबाट हुने औपचारिक यात्रा भने आजबाट सुरु भएको हो। बुढीनन्दातर्फ जिल्लाको सरकारी टोली यसअघि नै प्रस्थान गरिसकेको छ।

बडीमालिका र बुढीनन्दा दुवै धार्मिक शक्तिपीठमा मुख्य पूजाभन्दा तीन दिनअघि यात्रा प्रारम्भ गर्ने धार्मिक परम्परा रहेको छ। सरकारी टोली प्रस्थान गरेको अवसरमा बडीमालिका नगरपालिकाले आज सार्वजनिक बिदासमेत दिएको छ।

नगरप्रमुख खड्काका अनुसार सरकारी टोली पहिलो दिन सोता पाटन, दोस्रो दिन त्रिवेणी पाटन हुँदै तेस्रो दिन बडीमालिका मन्दिर पुग्नेछ। बडीमालिका, बुढीनन्दासहित जिल्लाका दर्जनभन्दा बढी धार्मिक शक्तिपीठमा हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दशीका दिन मुख्य पूजा हुने परम्परा छ।

मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ देशका विभिन्न स्थानबाट भक्तजन बडीमालिका तथा अन्य शक्तिपीठमा पूजाआजाका लागि पुग्ने गरेका छन्।

धार्मिक एवं पर्यटकीय तीर्थस्थल बडीमालिकामा २२ वटा आकर्षक पाटन, खेतीबेती, त्रिवेणी धामलगायतका क्षेत्र रहेका छन्। धार्मिक पूजाआराधनासँगै प्राकृतिक सौन्दर्यको अवलोकनका लागि पनि तीर्थयात्री तथा पर्यटक बडीमालिका पुग्ने गरेका छन्।

बडीमालिकाका पुजारी नेत्रप्रसाद पाध्यायका अनुसार सत्ययुगमा भगवान् शिवले सतीदेवीको शरीर बोकेर संसारभर घुमाउने क्रममा पर्वत शृङ्खलामा शरीरका अङ्ग पतन भएको र सोही स्थानमा देवीको पुनः अवतार भएको धार्मिक विश्वासका आधारमा बडीमालिकामा पूजाआजा गर्ने परम्परा रहेको छ। बडीमालिकाको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वासका कारण हरेक वर्ष ठूलो सङ्ख्यामा श्रद्धालु भक्तजन आउने गरेका छन्।

बडीमालिका पूजाका लागि डोटी, जुम्ला, कालिकोट तथा कैलालीको धनगढी उपमहानगरपालिकाबाट सरकारी टोली यसअघि नै प्रस्थान गरिसकेको छ। सुदूरपश्चिम प्रदेश सरकारले पनि पूजा सामग्रीसहित सरकारी टोली बडीमालिकातर्फ पठाइसकेको छ।

बडीमालिका र बुढीनन्दा दिदीबहिनीका रूपमा मानिने भएकाले यस वर्ष मुख्य पूजा भदौ ११ गते हुने जनाइएको छ। भक्तजनको चाप बढ्दै गएकाले एकै दिन सबैलाई पूजा गर्न कठिन हुने भन्दै भदौ १ गतेदेखि नै पूजा प्रारम्भ गरिएको नगरप्रमुख खड्काले बताउनुभयो।

यस वर्ष बडीमालिका दर्शन गर्न आउने भक्तजनको सङ्ख्या विगतका वर्षभन्दा बढ्ने अनुमान गरिएको छ। तीर्थयात्रीलाई सञ्चार सुविधामा सहजता पुर्‍याउन बडीमालिका क्षेत्रमा नेपाल टेलिकमले फोरजी टावरसमेत जडान गरिरहेको छ।

समुद्री सतहबाट करिब चार हजार दुई सय मिटर उचाइमा रहेको बडीमालिका मन्दिर र करिब चार हजार आठ सय ८८ मिटर उचाइमा रहेको बुढीनन्दा क्षेत्र धार्मिकसँगै प्राकृतिक पर्यटनका दृष्टिले पनि महत्वपूर्ण मानिन्छ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले यसअघि धनगढीमा चुनावी अभियानका क्रममा बडीमालिकालाई नेपालको ‘स्विट्जरल्यान्ड’को संज्ञा दिएपछि यस क्षेत्रले थप चर्चा पाएको स्थानीयको भनाइ छ ।