४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने प्रयासप्रति सचिवालयको आपत्ति

भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने प्रयासप्रति सचिवालयको आपत्ति
अ+ अ-

काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको सचिवालयले केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले धार्मिक आस्थाको प्रयोग गरी भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने प्रयास गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ।

सचिवालयले सोमबार जारी गरेको ‘गम्भीर ध्यानाकर्षण पत्र’मा पुराना भिडियो तथा अभिव्यक्तिलाई तोडमरोड गर्ने, भ्रामक तस्बिर तथा पोस्टर बनाएर सामाजिक सञ्जालमा प्रचार गर्ने र धार्मिक घृणा तथा सामाजिक विभाजन फैलाउने गतिविधि भइरहेको दाबी गरेको छ।

सचिवालयले धर्मनिरपेक्ष हुनु कुनै धर्मको विरोध गर्नु नभएको स्पष्ट पार्दै धर्मनिरपेक्षताको मूल मर्म राज्यले सबै धर्म र आस्थाप्रति समान व्यवहार गर्नु रहेको जनाएको छ। प्रत्येक नागरिकलाई धर्म मान्ने, आस्था राख्ने वा नराख्ने स्वतन्त्रता सुनिश्चित हुनुपर्ने उसको भनाइ छ।

त्यसैगरी विज्ञानमा विश्वास गर्नु, वैज्ञानिक दृष्टिकोण अवलम्बन गर्नु वा नास्तिक हुनु व्यक्तिको वैचारिक स्वतन्त्रताको विषय भएको उल्लेख गर्दै त्यसलाई कुनै धर्म वा धार्मिक समुदायविरुद्धको गतिविधिका रूपमा प्रस्तुत गर्नु अनुचित भएको सचिवालयले जनाएको छ।

हिन्दू धर्मभित्रको जातव्यवस्था, जातीय विभेद तथा सामाजिक असमानताका विषयमा भइरहेको बहसलाई केही समूहले पूर्वाग्रहपूर्ण ढंगले प्रचार गरिरहेको सचिवालयको आरोप छ। कुनै पनि धर्म, संस्कृति वा परम्पराभित्रका सामाजिक अभ्यासमाथि प्रश्न उठाउनु तथा सुधारका लागि बहस गर्नु लोकतान्त्रिक समाजको स्वाभाविक प्रक्रिया भएको उसले जनाएको छ।

भट्टराईका विचार तथा अभिव्यक्तिलाई समग्र सन्दर्भबाट अलग गरी पुराना सामग्रीको तोडमरोड र भ्रामक व्याख्या गरिएको भन्दै सचिवालयले यसलाई गैरजिम्मेवार राजनीतिक तथा सामाजिक व्यवहारको संज्ञा दिएको छ। पछिल्लो समय धम्कीपूर्ण तथा भय सिर्जना गर्ने सामग्री पोस्ट गर्ने र योजनाबद्ध रूपमा भ्रामक भाष्य निर्माण गर्ने गतिविधि भइरहेको भन्दै सचिवालयले आपत्ति जनाएको छ।

यस्ता गतिविधिले भट्टराईको सुरक्षा तथा प्रतिष्ठामा मात्र नभई धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकतामै असर पार्न सक्ने सचिवालयको भनाइ छ।

सचिवालयले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्यले फैलाइएका भ्रामक, तोडमरोड गरिएका, धम्कीपूर्ण तथा घृणा उत्पन्न गर्ने सामग्रीबाट सतर्क रहन आम नागरिकलाई आग्रह गरेको छ।

साथै, यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा समूह र उनीहरूले प्रयोग गरिरहेका सामाजिक सञ्जाल खातामाथि निगरानी राखी आवश्यक अनुसन्धान गर्न तथा प्रचलित कानुनबमोजिम कारबाही अघि बढाउन नेपाल सरकारसँग अनुरोध गरेको छ। अभिव्यक्ति तथा वैचारिक स्वतन्त्रताको सम्मान गर्दै धार्मिक आस्था, व्यक्तिगत सुरक्षा, प्रतिष्ठा तथा सामाजिक सद्भावमा आघात पुर्‍याउने गतिविधिमा राज्यले प्रभावकारी कानुनी हस्तक्षेप गर्नुपर्ने सचिवालयले जनाएको छ।