८ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गिनीको ल्यान्डफिलमा पहिरो जाँदा ३० जनाको मृत्यु



अ+ अ-

काठमाडौं । गिनीको राजधानी कोनाक्रीस्थित सबैभन्दा ठूलो ल्यान्डफिलमा पहिरो जाँदा कम्तीमा ३० जनाको मृत्यु भएको सरकारी अधिकारीले बताएका छन् ।

आइतबार बिहान भारी वर्षापछि दार एस सलामस्थित ल्यान्डफिलमा थुपारिएको फोहोरको ठूलो भाग भत्किँदा नजिकैका झुपडीहरू पुरिएका थिए । घटनामा छ जना गम्भीर घाइते भएका छन् भने धेरै घरमा क्षति पुगेको छ ।

अधिकारीहरूका अनुसार बिहान करिब २ बजे सुरु भएको भारी वर्षाका कारण फोहोर बगेर आसपासका बस्तीमा पुगेको थियो । घटनापछि जीवितको खोजी तथा उद्धार कार्य जारी रहेको छ । सैन्य इन्जिनियरिङ बटालियनका सरसफाइ अधिकारी लेफ्टिनेन्ट कर्नल बाल्डे मामाडोउ बैलोका अनुसार उक्त ल्यान्डफिल आइतबारदेखि बन्द गर्ने तयारी गरिएको थियो ।

ल्यान्डफिल आसपास बसोबास गर्ने स्थानीयलाई यसअघि नै अन्यत्र स्थानान्तरण हुन सूचना दिइएको थियो । त्यसका बाबजुद पहिरो जाँदा धेरै मानिस त्यही क्षेत्रमा रहेको अधिकारीहरूले बताएका छन् । क्षेत्रीय प्रशासन तथा विकेन्द्रीकरण मन्त्री डिएनाबोउ टुरेले घटनास्थलमा पुगेर बाँकी परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने बताउनुभयो । गिनी खनिज स्रोतमा धनी मुलुक हो ।

यहाँ विश्वकै ठूलो बक्साइट भण्डारका साथै फलाम, सुन र हीराजस्ता खनिज पाइन्छन् । तर विश्व बैंकका अनुसार मुलुकको ४३ दशमलव सात प्रतिशत जनसङ्ख्या राष्ट्रिय गरिबीको रेखामुनि रहेको छ ।