७ भाद्र २०८३, आईतवार
,
Latest
नाडा अटो शोको तयारी तीव्र, भृकुटीमण्डपमा स्टल निर्माणको चटारो नीतिगत अस्पष्टता र अव्यावहारिक मापदण्डले प्राङ्गारिक मल उद्योग संकटमा गरिमा हत्या प्रकरणमा कानूनमन्त्री गौतमको आग्रह : ‘मिडिया ट्रायल नगरौँ, न्यायको प्रक्रिया नबिगारौँ’ कानून रातारात बन्दैन,अनुसन्धान नाराले पूरा हुँदैन, न्याय आक्रोशले मात्र प्राप्त हुँदैन च्यातिएका म्याटमा अभ्यास गरेर पदक जित्ने नेपालका उसु खेलाडीको लक्ष्य सुनको मूल्य बढ्यो १४ बुँदे सहमतिपछि लघुवित्त ऋणीहरू घर फर्किए मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु ‘पार्टी कसैको मौजा होइन, कसले बोल्ने–नबोल्ने भन्ने निर्णय गर्न मिल्दैन’ : गोकुल बास्कोटा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोले विभिन्न सडक अवरुद्ध



फाइल फोटो
अ+ अ-

काठमाडौँ। वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ ।

प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ९ः०० बजेसम्मको विवरणअनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका विभिन्न सडक प्रभावित भएका छन् ।

काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर साँझ १८ः०० बजेदेखि बिहान ०४ः०० बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ०४ः०० बजेदेखि बेलुका १८ः०० बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइएको छ ।

मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण राति १७ः०० बजेदेखि बिहान ०५ः०० बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनको राति २२ः०० बजेदेखि बिहान ०५ः०० बजेसम्म आवागमन बन्द गरिएको छ ।

उक्त सडकमा अर्को सूचना जारी नभएसम्म कुनै किसिमका सवारीसाधन चलाउन नपाइने जनाइएको छ । इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक बाटो रहेको जनाइएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा इकु पहिरो, सोही गाउँपालिका–२ लिपिङस्थित सडक भासिएपछि उक्त राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड त्रिशूली नदीले कटान गरेपछि सो सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । साथै, गोसाइकुण्ड गाउँपालिका–२ स्याउपार्किङमा पहिरो खसेपछि पासाङल्हामु सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट–डोल्पा सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यसैगरी, रोल्पाको थवाङ गाउँपालिका–२ लाद्रेमा पहिरो खस्दा सहिद राजमार्ग पनि पूर्ण रुपमा अवरुद्ध भएको छ । लाद्रेमा आज बिहान पहिरो खसेको हो ।

सडक अवरुद्ध भएका स्थानमा पहिरो तथा बाढीको जोखिम कायम रहेकाले सम्बन्धित निकायले अवस्था हेरी सावधानीपूर्वक यात्रा गर्न तथा आवश्यकताअनुसार वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरी प्रधानकार्यालयले आग्रह गरेको छ । रासस