४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सार्वजनिक सेवा प्रसारण संस्थालाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना

सार्वजनिक सेवा प्रसारण संस्थालाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना
अ+ अ-

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण संस्था (नेपाल टेलिभिजन र रेडियो नेपाल) लाई थप व्यावसायिक, प्रतिस्पर्धी, प्रभावकारी र जनउत्तरदायी बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

सार्वजनिक सेवा प्रसारण नेपालले चालु आर्थिक वर्ष २०८३/८४ का लागि तय गरेको बजेट तथा वर्षभरि सञ्चालन हुने कार्यक्रमबारे जानकारी लिनुहुँदै सञ्चारमन्त्री तिमिल्सिनाले सबैजसो सार्वजनिक संस्थाहरु कमजोर र निष्क्रिय जस्तो अवस्थामा रहेकोमा तिनलाई पुनर्जीवन दिई बलियो र सक्षम संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

सञ्चारमन्त्री तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण संस्थाले आफ्नो मूल उद्देश्यअनुसार काम गर्नु नै पहिलो प्राथमिकता हुनुपर्ने बताउनुभयो । अहिले सञ्चारमाध्यमहरू डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालमा तीव्र रूपमा विस्तार भइरहेकाले नेपाल टेलिभिजन र रेडियो नेपालले पनि आफ्ना सामग्रीको गुणस्तर बढाउँदै डिजिटल माध्यममा प्रभावकारी उपस्थिति जनाउनुपर्ने उहाँको भनाइ थियो ।

साथै सञ्चारमन्त्री डा तिमिल्सिनाले उपलब्ध स्रोत, साधन र जनशक्तिको अधिकतम उपयोग गरी उत्कृष्ट नतिजा हासिल गर्न निर्देशन दिनुभयो । नेपाल टेलिभिजन र रेडियो नेपालको प्रशासन तथा लेखा शाखालाई एकीकृत गरी कार्यसम्पादन गर्नुपर्ने पनि उहाँको भनाई छ ।

संस्थाको विकास र संरक्षणमा व्यवस्थापन तथा कर्मचारीको मुख्य जिम्मेवारी हुने बताउँदै सञ्चारमन्त्री तिमिल्सिनाले संस्थागत हितलाई केन्द्रमा राखेर काम गर्न आग्रह गर्नुभयो । “संस्था जोगिन सक्यो भने मात्र त्यसबाट सबैले लाभ लिन सक्छन् । राज्यको ठूलो रकम खर्च भइरहने तर संस्थाले आफ्नो उद्देश्य पूरा गर्न नसक्ने अवस्था आउन भएन”, उहाँले भन्नुभयो ।

सञ्चारमन्त्री तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारणबाट प्रसारित समाचार तथा सूचना सामग्री तटस्थ, निष्पक्ष, तथ्यपरक र वस्तुनिष्ठ हुनुपर्नेमा जोड दिनुभयो । राजनीतिक आग्रह वा पूर्वाग्रहबाट प्रभावित सामग्री प्रसारण गर्न नहुने भन्दै उहाँले नागरिकलाई केन्द्रमा राखेर समाचार तथा कार्यक्रम उत्पादन गर्नसमेत निर्देशन दिनुभयो ।

नेपाल टेलिभिजन र रेडियो नेपालले खोजमूलक तथा जनचासोका सामग्रीलाई प्राथमिकता दिनुपर्ने बताउँदै उहाँले नागरिकलाई सही र विश्वसनीय सूचना उपलब्ध गराउने भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो । विशेषगरी सामाजिक सञ्जालमार्फत फैलिने गलत तथा भ्रामक सूचनालाई चिर्न सार्वजनिक सेवा प्रसारण संस्थाको महत्वपूर्ण दायित्व रहेको उल्लेख गर्नुहुँदै उहाँले विपद्को समयमा पूर्वसूचना प्रवाह, राहत तथा उद्धारसम्बन्धी सूचना प्रसारणमा पनि सार्वजनिक सेवा प्रसारण संस्थाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

सरकारले सार्वजनिक सेवा प्रसारण संस्थालाई उत्कृष्ट र सक्षम संस्थाका रूपमा विकास गर्न प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो ।

सार्वजनिक सेवा प्रसारण संस्थाका कार्यबाहक अध्यक्ष उर्वशी बस्न्यातले संस्थालाई प्रतिस्पर्धी, जवाफदेही र जनउत्तरदायी बनाउन आवश्यक पहल गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । वर्तमान आवश्यकता र भविष्यमा आउन सक्ने चुनौतीको विश्लेषण गर्दै संस्थालाई अघि बढाइने उहाँको भनाइ थियो ।

उहाँले डिजिटल युगमा रेडियो नेपाल र नेपाल टेलिभिजनले डिजिटल सामग्री उत्पादनलाई प्राथमिकता दिने बताउनुभयो । सामाजिक सञ्जालमा फैलिने गलत तथा भ्रामक सूचना नियन्त्रण गर्न विश्वसनीय सूचना प्रवाहमार्फत सार्वजनिक सेवा प्रसारण संस्थाले प्रभावकारी भूमिका खेल्नेगरी काम गर्ने उहाँको भनाई थियो ।

सञ्चार मन्त्रालयका सहसचिव तथा सार्वजनिक सेवा प्रसारण संस्थाका सदस्य रविलाल शर्माले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन आम्दानी र खर्च व्यवस्थापनमा नयाँ सोच र शैलीका कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । संस्थाले प्राप्त गर्नुपर्ने आम्दानीसमेत समयमा उठाउन नसकेकाले बक्यौता असुलीलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ थियो ।

शर्माले संस्थाको वार्षिक लेखापरीक्षण समयमै सम्पन्न गर्ने र बेरुजु फछ्र्योटलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । सरकारले सार्वजनिक सेवा प्रसारण संस्थामा ऋण, शेयर लगानी र अनुदान गरी तीनवटै माध्यमबाट लगानी गरिरहेको उल्लेख गर्दै शर्माले त्यसबाट नागरिकले प्रत्यक्ष लाभ पाउने अवस्था सिर्जना गर्नुपर्नेसमेत बताउनुभयो ।

संस्थामा लगानी भएको सरकारी ऋणको साँवा तथा ब्याज भुक्तानी गर्न संस्थाको आम्दानी बढाउनुपर्ने र सरकारले गरेको शेयर लगानीबाट लाभांश प्राप्त गर्ने अवस्था सिर्जना गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले संस्थाको वित्तीय अवस्था सुधार गर्दै सार्वजनिक सेवा प्रसारणलाई दीर्घकालीन रूपमा आत्मनिर्भर, सक्षम र प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो ।