काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ महाधिवेशनको प्रक्रिया तत्काल रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ ।
महाराजगञ्जस्थित डा. शशांक कोइरालाको निवासमा बिहीबार बसेको संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठकले महाधिवेशन प्रक्रिया रोक्न कानुनी बाटो रोज्ने निर्णय गरेको हो ।
बैठकपछि संस्थापन इतर समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले महाधिवेशन रोक्न माग गर्दै शुक्रबारसम्म अदालतमा निवेदन दर्ता गर्ने तयारी रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार पार्टीको आधिकारिकतासम्बन्धी विवाद अदालतमा पुनः सुनुवाइ हुने अवस्थामा रहेकाले त्यसको टुंगो नलागेसम्म महाधिवेशन प्रक्रिया अघि बढाउनु उचित नहुने समूहको निष्कर्ष छ ।
कांग्रेसले भने १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाइसकेको छ । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो कार्यतालिकाअनुसार वडा अधिवेशन आगामी २४ भदौमा हुँदैछ ।
कांग्रेसले असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने पूर्वनिर्णयलाई कायमै राखेको छ । सोहीअनुसार तल्लो तहका अधिवेशनको कार्यतालिकामा भने केही हेरफेर गरिएको छ ।
संस्थापन इतर समूहको अदालत जाने निर्णयसँगै कांग्रेसको महाधिवेशन प्रक्रिया थप विवादित बन्ने देखिएको छ । अब अदालतमा दायर हुने निवेदन र त्यसबाट आउने आदेशले महाधिवेशनको आगामी कार्यतालिकामा समेत प्रभाव पार्न सक्ने देखिएको छ ।











