काठमाडौँ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बालश्रम सम्बन्धी विधेयकमा कुनैपनि किसिमको विरोधाभास नरहेको स्पष्ट पार्नुभएको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा मन्त्री यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रश्तावमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफमा उक्त कुरा बताउनुभएको हो ।
विधेयकका प्रावधानबारे प्रष्ट पार्दै उहाँले जोखिमयुक्त र शोषणमूलक कार्यलाई पूर्ण रूपमा निषेध गरिएको र बालबालिकालाई नकारात्मक असर नपुर्याउने सुरक्षित प्रकृतिका कार्यहरूलाई मात्र नियमन गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार यो अभ्यास विश्वव्यापी मान्यतामा आधारित रहेको छ ।
प्रश्तावित विधेयकमा १३ वर्ष उमेर पूरा भएका बालबालिकाले कडा सर्तहरूको अधीनमा रही विद्यालय समयबाहेक (अघि र पछि) सामान्य काम गर्न पाउने व्यवस्था गरिएको छ ।
उहाँले भन्नुभयो, ‘विधेयकमा कुनै विरोभाभास नरहेको कुरामा म स्पष्ट पार्न चाहन्छु । जोखिमयुक्त र शोषणमूलक कार्यलाई पूर्ण रुपमा निषेध गरिएको छ ।
जबकी बालबालिकालाई नकारात्मक असर नपुर्याउने सुरक्षित प्रकृतिका कार्यलाई मात्र नियमन गरिएको हो । यो अभ्यासलाई विश्वव्यापी रुपमा समेत अवलम्वन गरिएको मान्यता हो । सोहीबमोजिम १३ वर्ष उमेर पुगेपछि कडा शर्तसहित विद्यालय अघि र पछिको समयमा हुलका काम गर्न पाउने व्यवस्था गरिएको छ ।’
विधेयक सभामा पेश भएसँगै अब यसमाथि संशोधन प्रश्ताव दर्ता गराउने प्रक्रिया समेत खुला भएको छ ।–न्युज एजेन्सी नेपाल











