३ भाद्र २०८३, बुधबार
,
Latest
नेप्से परिसूचक झिनो अङ्कले घट्यो बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ? प्रधानमन्त्री शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु मल वितरणमा लालपूर्जा माग्नु नकारात्मक विषय होइन : कृषिमन्त्री चौधरी सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत जंगली जनावरको आतंक नियन्त्रण गर्न सरकार गम्भीर बनोस्ः सांसद बोगटी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा



अ+ अ-

क्षमताभन्दा बढी भार बोकेका मालवाहक सवारीका कारण कलंकी–नागढुङ्गा सडकमा क्षति बढ्दै गएको छ। सडक विभागका अनुसार ओभरलोडका कारण सडकको सतहमा क्षति पुग्नुका साथै सडकको आयुसमेत घट्दै गएको हो।

काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख सुवोध देवकोटाका अनुसार बालुवा, गिट्टीलगायत सामग्री बोकेका कतिपय ट्रकले सडकमा पानी चुहाउँदै हिँड्ने गरेका कारण सडक चिप्लो हुने र दुर्घटनाको जोखिमसमेत बढेको छ।

देवकोटाका अनुसार कलंकीदेखि नागढुङ्गासम्मको सडकमा छ महिनाअघि मात्रै ओभरले गरिएको थियो। सामान्य अवस्थामा सडकमा कम्तीमा पाँच वर्षपछि ओभरले गर्नुपर्ने भए पनि ओभरलोडका कारण अब दुई वर्षमै मर्मत गर्नुपर्ने अवस्था आउन सक्ने उहाँले बताउनुभयो।

सडकको अवस्था र ओभरलोडसम्बन्धी गुनासो बढेपछि सडक विभागले मंगलबार राति कलंकी–नागढुङ्गा सडकखण्डमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा कतिपय ट्रकले सडकमा पानी चुहाउँदै हिँडेको र तोकिएको क्षमताभन्दा बढी भार बोकेको पाइएको देवकोटाले जानकारी दिनुभयो।

उहाँका अनुसार एउटा एक्सलको सडक क्षमता १० टन रहेको भए पनि अनुगमनका क्रममा सिंगल एक्सलका ट्रकले १२ देखि १३ टनसम्म र डबल एक्सलका ट्रकले २५ टनसम्म भार बोकेको पाइएको छ। भार बढाउनुपर्ने अवस्थामा सोहीअनुसार ट्रकको एक्सल क्षमता पनि बढाउनुपर्ने भए पनि मापदण्डविपरीत भार बोक्ने प्रवृत्ति बढेको उहाँको भनाइ छ।

अनुगमनका क्रममा कतिपय ट्रकमा यातायात व्यवस्था कार्यालयबाट स्वीकृत मापदण्डभन्दा ठूलो ढल्ला बनाइएको समेत भेटिएको उहाँले बताउनुभयो। स्वीकृति लिँदाको भन्दा ठूलो ढल्ला थपेर बढी सामग्री बोक्ने प्रवृत्तिले सडकमा क्षति बढाएको उहाँको भनाइ छ।

‘बालुवा, गिट्टी बोकेका ट्रकले बाटोभरि पानी चुहाएर हिँड्दा सडकको आयु घट्नुका साथै दुर्घटनाको जोखिम बढेको गुनासो आएपछि अनुगमन गरेका हौँ,’ देवकोटाले भन्नुभयो, ‘अनुगमनका क्रममा कतिपय ट्रकले पानी चुहाउँदै हिँडेको र क्षमताभन्दा बढी भार बोकेको पायौँ।’

सडकमा पानी चुहिँदा सतह चिप्लो हुने र त्यसका कारण मोटरसाइकल तथा अन्य सवारीको ब्रेक प्रभावकारी नहुने अवस्था आउन सक्ने उहाँले बताउनुभयो। यसले दुर्घटनाको जोखिमसमेत बढाउने उहाँको भनाइ छ।

ओभरलोड नियन्त्रणका लागि सडक विभागले जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ। सडक विभागसँग आफैं कारबाही गर्ने अधिकार नभएकाले सम्बन्धित निकायसँगको समन्वयमा ओभरलोड नियन्त्रण गर्नुपर्ने देवकोटाले बताउनुभयो।

उहाँले यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी, जिल्ला प्रशासन र प्रहरीले नियमित अनुगमन तथा नियमन गर्नुपर्नेमा जोड दिनुभयो। ओभरलोड र पानी चुहाउने सवारीलाई नियन्त्रण गर्न सके सडकको आयु बढ्नुका साथै दुर्घटनाको जोखिमसमेत घटाउन सकिने उहाँको भनाइ छ।

‘सडक बनाएर मात्रै हुँदैन, यसको दीगोपन पनि सुनिश्चित गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘ओभरलोड बोकेर र पानी चुहाएर हिँड्ने कार्यलाई नियन्त्रण गर्न सम्बन्धित सबै निकायले नियमित रूपमा नियमन गर्न आवश्यक छ।’

सडक विभागका अनुसार स्वीकृत मापदण्डभन्दा ठूलो ढल्ला निर्माण गर्ने तथा सवारीको क्षमताभन्दा बढी भार बोक्ने प्रवृत्तिमाथि समेत निगरानी बढाउन आवश्यक छ। सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र नियमित अनुगमन भएमा सडकमा हुने क्षति तथा दुर्घटनाको जोखिम न्यूनीकरण गर्न सकिने विभागको भनाइ छ।