काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनका सिर्जना, विचार र उनले देखाएको मार्ग सधैँ जीवित रहने बताएका हुन् ।
प्रधानमन्त्री शाहले लेखेका छन्, “जनकवि दुर्गालाल श्रेष्ठज्यू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। भौतिक रूपमा उहाँ हामीमाझ नरहे पनि उहाँले देखाउनुभएको बाटो, उहाँका सिर्जना र विचारहरू सधैँ हामीमाझ जीवित रहनेछन्। उहाँले देखाउनुभएको मार्गमा हामी निरन्तर हिँडिरहनेछौँ। हार्दिक श्रद्धाञ्जली !”
९३ वर्षीय श्रेष्ठको आइतबार राति बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो। उनी पछिल्लो ६ दशकदेखि निरन्तर साहित्य सिर्जनामा सक्रिय थिए ।
श्रेष्ठले नेपाल भाषाका साथै नेपाली भाषामा समेत कविता, गीतलगायत साहित्यका विभिन्न विधामा महत्वपूर्ण योगदान पुर्याएका छन्। उनका साहित्यिक सिर्जना र योगदानका कारण उनी नेपाली तथा नेपाल भाषाको साहित्य क्षेत्रमा स्थापित व्यक्तित्वका रूपमा परिचित थिए।











