काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कारका विजेताको नाम सार्वजनिक गरेको छ। विभागका अनुसार १६ देखि ३१ साउनसम्म सामान खरिद गर्ने करदातामध्ये तुल पुडासैनीले बम्पर पुरस्कारस्वरूप १० लाख रुपैयाँ जितेका छन्।
पुडासैनीले गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट जम्मा ३५० रुपैयाँको सामान खरिद गरेका थिए। सोही खरिदका आधारमा उनी १० लाख रुपैयाँको पुरस्कारका लागि छनोट भएका हुन्।
यस अवधिमा १ लाख रुपैयाँका पुरस्कार विजेता भने १६ जना रहेका छन्। विभागका अनुसार योगेश विश्वकर्मा, दिनेश तामाङ, अस्क्रिना लामा, भगवती सापकोटा, रहिम महमद हवारी, महेशकुमार पौडेल, राजेन्द्र थापा र कमला तामाङले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
त्यस्तै शिवनारायण बदही मिस्त्री, चुडामणि दनाई, रमेश साह कानु, मनिष गौतम, घनश्याम तिवारी, राकेशकुमार सिंह, विकास गुरुङ र चक्रबहादुर शाही पनि १ लाख रुपैयाँ पुरस्कारका लागि छनोट भएका छन्।
विभागले पुरस्कारका लागि छनोट भएका सबै विजेता करदातालाई नजिकको आन्तरिक राजस्व कार्यालयमा सम्पर्क गरी पुरस्कार दाबी गर्न आग्रह गरेको छ।











