• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ आज ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र भुसाल भिड्दै ★   रास्वपाले गर्‍यो महामन्त्री ढकाललाई निलम्बन, बुर्लाकोटीलाई कार्यवाहकको जिम्मेवारी, प्रवक्तामा मनिष ★   पार्टीमा बस्ने वातावरण छैन भन्दै निस्किए महामन्त्री ढकाल ★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन

डेंगु परीक्षणमै समस्या, ६ जनाको मृत्यु



काठमाडौं। प्रछिल्लो साता देशभर डेंगुको त्रास फैलिएको छ। यति बेला चिकित्सकदेखि नेता, मन्त्री र सर्वसाधारण डेंगुका कारण एउटै मात्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्टको पर्खाइमा छन्।

प्रयोगशालामा जनशक्ति र उपकरण न्यून भएका कारण रिपोर्ट आउन ढिला हुनेदेखि अनेकौं समस्या बाहिर आएका छन्।

नेपालमा यति बेला ६१ जिल्लामा डेंगु देखिएको र त्यसमध्ये ५६ जिल्लामा प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको छ।

रोग नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालय तथा सरकारको समयमै ध्यान नपुगेको भन्दै संसद्मा समेत कडा आलोचना भइरहेको छ।

स्वास्थ्य सेवा विभागअन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो एक महिनाको बीचमा झन्डै ५ हजारको हाराहारीमा डेंगु संक्रमित बिरामी परीक्षणमा आइसकेका छन्।

६ जनाको मृत्युसमेत भइसकेको छ, यसमा महाशाखाले चार जनाको प्रमाणित भएको र दुई जनाको भइनसकेको बताएको छ।

डेंगु रोगका विशेषज्ञसमेत रहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार यति बेला अस्पतालको बेडमा बिरामी राख्ने ठाउँ नभएकाले बाहिर ग्यारेजदेखि पालमुनि समेत बिरामी राखेर परीक्षण गरिएको छ। जनशक्ति कम भएकाले विभागसँग माग गरी काम गरिएको उहाँले बताउनुभयो।

यसबीच दुई जना चिकित्सक र नौ जना स्वास्थ्यकर्मीमा पनि उपचार गर्दैगर्दा डेंगु देखियो। ‘डेंगु जुन किसिमको बाहिर हल्ला छ, त्यसरी डराउनुपर्दैन र बजारबाट जथाभावी औषधि खरिद गरेर नखान पनि हामी आह्वान गर्छौं।’ –डेंगु रोगमै विद्यावारिधि गरेका पाण्डेको सल्लाह छ।

विशेष गरी डेंगुको संक्रमण भएका व्यक्तिले झोलिलो पदार्थमा जोड दिनुपर्छ। ‘झोल पदार्थ प्रशस्त खाएर घरमै आराम गर्दा पनि हुन्छ, आत्तिनु पर्दैन।’ –डा. पाण्डे भन्नुहुन्छ।

सात सयमा तीन सयलाई डेंगु

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संयोजक डा. शंकर पाण्डेका अनुसार सोमबार मात्र ७ सय १३ नयाँ बिरामीको ल्याब परीक्षण गरिएको र ४ सय बिरामीको परीक्षण गर्दा २ सय ५० जना बिरामीमा डेंगु देखिएको बताउनुभयो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झा प्रयोगशाला बिहान ९ देखि ४ बजेसम्म खुल्ने र त्यतिञ्जेल जति बिरामी आएका छन् सबैको परीक्षण गरेका छौं भन्नुहुन्छ।

‘संख्या यकिनरूपमा भन्न सकिन्न।’ -झाले भन्नुभयो। उहाँले पछिल्लो समय बिरामीको चाप बढेको र आफ्नो जानकारीमा अघिल्लो आइतबारदेखि शुक्रबारसम्मको ७ सय ७ जनाबाहेक अरू नभएको बताउँदै तथ्यांक भन्न नमिल्ने बताउनुभयो।

डेंगुको उपचार भनेकै शरीरमा प्रशस्त पानीको मात्रा पुर्याउनु र आराम गर्नु नै हो। विश्वमा नै ठोस कुनै औषधि बनेको छैन। सरसफाइमा ध्यान दिने, ज्वरो कम गर्न सिटामोल खाने, पानी र सुप प्रशस्त खानाले बिरामीलाई लाभ पुग्छ।

टेकु अस्पतालकै डा। अनुप बास्तोलाका अनुसार घर–वरिपरि पानी जम्न नदिने, खाल्टाखुल्टी पुरीदिने र घरबाहिर निस्कँदा पूरा बाहुला भएका शरीर ढाक्ने कपडा लगाउने हो भने डेंगुबाट डराउनुपर्ने कुरै छैन। उहाँ भन्नुहुन्छ– ‘तर, लार्भा नष्ट नगरेसम्म डेंगुबाट बच्ने कुनै उपाय नै छैन।’

जब संक्रमित लामखुट्टेले फुल पार्छ त्यसमा भएको डेंगुको संक्रमण मानिसमा सर्छ र त्यही मानिसलाई लामखुट्टेले टोकेर अर्को मानिसलाई टोकेको खण्डमा डेंगु सर्छ। डेंगु लामखुट्टेबाट लामखुट्टेमा पनि सर्छ।

डेंगु सार्ने मुख्य लामखुट्टे भनेको एडिज इजिप्टाइ जातको पोथी लामखुट्टे हुन्छ। यसले विशेष गरी सफा जमेको पानीमा अण्डा पार्दछ र दिउँसोको समयमा मानिसलाई टोक्ने गर्दछ।

यो लामखुट्टेको खुट्टामा सेतो मार्किङहरू र ढाडको माथिल्लो भागमा वीणा आकारका मार्किङहरू रहेको हुन्छ, जुन अरू प्रजातिका लामखुट्टेमा पाइँदैन।

डा।अनुपका अनुसार बितेको ५० वर्षमा यो रोगको संक्रमण ३० गुणा बढेको छ। विश्वको आधाभन्दा बढी जनसंख्या यो रोगको जोखिममा रहेका छन्।

विश्वका एक सय २८ भन्दा बढी मुलुकका तीन दशमलव नौ अर्ब मानिसहरू यस रोगको जोखिम क्षेत्रमा बसोबास गर्दछन्।

प्रत्येक वर्ष झन्डै ३९ करोड मानिस डेंगु रोगबाट संक्रमित हुन्छन् र २० हजारभन्दा बढीको मृत्यु हुने गर्दछ। डेंगुको नियन्त्रण भनेकै सरसफाइमा जनचेतना नै हो।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा बिरामीका आफन्त रिपोर्ट लिन पालो कुर्दै । डेंगुको माहामारी बढेपछि सो अस्पताल अस्तव्यस्त हुँदै गएको छ ।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।