४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

मानव बेचबिखन नियन्त्रणका लागि तीन तहकै सरकारलाई सक्रिय बनाउनुपर्छः सांसदहरु

मानव बेचबिखन नियन्त्रणका लागि तीन तहकै सरकारलाई सक्रिय बनाउनुपर्छः सांसदहरु
अ+ अ-

काठमाडौं । प्रतिनिधि सभाका सांसदहरूले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि पीडितको उद्धारसँगै उपचार, सुरक्षा, निःशुल्क कानुनी सहायता, क्षतिपूर्ति, पुनःस्थापना र सामाजिक सम्मानको सुनिश्चितता गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागी सांसदहरूले मानव बेचबिखन नियन्त्रणलाई प्रभावकारी बनाउन संघीय सरकारसँगै प्रदेश तथा स्थानीय तह, गैरसरकारी संस्था, सञ्चारमाध्यम र नागरिक समाजको भूमिका प्रभावकारी बनाउनुपर्ने बताएका हुन् ।

नेपाली कांग्रेसका सचेतक निश्कल राईले पीडितको उद्धार गरेर मात्र राज्यको दायित्व पूरा नहुने बताउनुभयो । उहाँले पीडितको उपचार तथा सुरक्षा, निःशुल्क कानुनी सहायता, क्षतिपूर्ति, अपराधीलाई कानुनी कारबाही, पुनःस्थापना र सामाजिक सम्मानको सुनिश्चितता हुनेगरी विधेयकलाई पीडितमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले उद्धारपछि पीडितको जीवनयापनको ग्यारेन्टीसमेत कानुनमै सुनिश्चित गर्नुपर्ने बताउँदै मानव बेचबिखन नियन्त्रणको जिम्मेवारी संघीय सरकारमा मात्र सीमित राखेर समस्या समाधान नहुने उल्लेख गर्नुभयो । तीनै तहका सरकारसँगै समाजका सबै संरचनाको भूमिका प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ थियो ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले मानव बेचबिखन नियन्त्रणका लागि समाजका सबै पक्षलाई जोड्नुपर्ने बताउनुभयो । मानव बेचबिखन किन भइरहेको छ भन्ने विषयमा अध्ययन गरी समस्याको मूल कारण पहिचान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

बेरोजगारी र अशिक्षालगायत कारणले पनि मानव बेचबिखन बढिरहेको उल्लेख गर्दै राईले भारतसँगको सीमामा हुने आवतजावतको अभिलेख राख्ने प्रणालीलाई थप प्रभावकारी र डिजिटल बनाउनुपर्ने बताउनुभयो । अपराधीलाई दण्ड र सजाय दिने व्यवस्थाले मात्र समस्या समाधान नहुने उहाँको भनाइ थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आकृति अवस्थीले विधेयकले पीडितलाई न्याय दिने विषयलाई प्राथमिकता दिएको भन्दै समर्थन जनाउनुभयो । उजुरीकर्ताको पहिचान गोप्य राख्ने, पीडितको नाम तथा तस्वीर सार्वजनिक गर्नेलाई सजाय गर्ने र बालबालिकाको गोपनीयता संरक्षण गर्ने व्यवस्था स्वागतयोग्य रहेको उहाँले बताउनुभयो ।

मानव बेचबिखनमा परेका व्यक्तिको कथा सार्वजनिक जिज्ञासाको विषय बनाउन नहुने भन्दै अवस्थीले पीडितको गोपनीयताको अधिकार सुनिश्चित गर्दै न्याय र पुनःस्थापनालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद रमेशकुमार मल्लले मानव बेचबिखनलाई मानिसको किनबेच वा एक स्थानबाट अर्को स्थानमा लैजाने विषयमा मात्र सीमित गरेर हेर्न नहुने बताउनुभयो । प्रविधिको बढ्दो प्रयोगसँगै हुने मानव तस्करी, यौन शोषण र गैरकानुनी आप्रवासनलाई समेत जोडेर यसलाई विश्वव्यापी चुनौतीका रूपमा सम्बोधन गर्नुपर्ने उहाँको भनाइ थियो ।

महिला तथा बालबालिका मानव बेचबिखनको बढी जोखिममा रहेको उल्लेख गर्दै मल्लले वैदेशिक रोजगारीका नाममा दलालको प्रलोभनमा पार्ने, गैरकानुनी बाटोबाट विदेश लैजाने र विदेश पुगेपछि शोषण गर्ने प्रवृत्तिमा राज्यले प्रभावकारी नियमन तथा नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।

छलफलमा सहभागी सांसदहरूले मानव बेचबिखन नियन्त्रणसँगै उद्धारपछि पीडितको पुनःस्थापनाको जिम्मेवारीसमेत राज्यले स्पष्ट रूपमा वहन गर्नेगरी कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।