४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

प्रधानमन्त्री शाहसँग मुख्यमन्त्री पाण्डेको भेटवार्ता, गण्डकीका विभिन्न विषयमा ध्यानाकर्षण

प्रधानमन्त्री शाहसँग मुख्यमन्त्री पाण्डेको भेटवार्ता, गण्डकीका विभिन्न विषयमा ध्यानाकर्षण
अ+ अ-

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरी प्रदेशका विभिन्न महत्वपूर्ण विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सोमबार प्रधानमन्त्री कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशसँग सम्बन्धित पूर्वाधार, जग्गा व्यवस्थापन, सीमा नाका, संरक्षण क्षेत्र, घरेलु मदिरा, गाँजा खेती, सञ्चार तथा अधुरा आयोजनालगायत विषयमा संघीय सरकारको सहजीकरण र नीतिगत निर्णयको माग गर्नुभएको हो ।

मुख्यमन्त्री पाण्डेले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत दुम्किबासदेखि त्रिवेणीसम्मको हुलाकी मार्गको चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने करिब ८ किलोमिटर सडक निर्माणका लागि आवश्यक सहजीकरण गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभएको छ ।

यस्तै, गण्डकी प्रदेशमा प्रस्तावित लोकाहाखोला र पुडीटार औद्योगिक क्षेत्रका लागि आवश्यक जग्गा प्राप्ति प्रक्रिया अघि बढाउन, मनाङ, मुस्ताङ र गोरखाको उत्तरी क्षेत्रमा रहेका जग्गाको नापी तथा दर्ताको व्यवस्था मिलाउन पनि ध्यानाकर्षण गराइएको छ ।

मुख्यमन्त्री पाण्डेले अन्नपूर्ण संरक्षण क्षेत्र (एसीएपी) र मनास्लु संरक्षण क्षेत्र (एमसीएपी) अन्तर्गतका वन क्षेत्र प्रदेश सरकारको मातहतमा ल्याउन तथा ती क्षेत्रभित्रका नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी र बालुवाको संकलन, व्यवस्थापन तथा उपयोगको अधिकार स्थानीय तहलाई दिनुपर्ने माग गर्नुभएको छ । त्यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र संरक्षण क्षेत्र व्यवस्थापन नियमावली, २०५३ मा आवश्यक संशोधन गर्नुपर्ने विषय पनि उठाइएको छ ।

त्यस्तै, गण्डकी प्रदेश घरेलु मदिरा ऐन, २०८२ कार्यान्वयनमा सहजीकरण गर्न, औद्योगिक व्यवसाय नियमावलीअनुसार उद्योग स्थापना सम्बन्धी अधिकार प्रत्यायोजन तथा घरेलु मदिराको अन्तःशुल्क दर निर्धारणका विषयमा आवश्यक व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

प्रदेश सरकारले निर्माण गरेको औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८३ कार्यान्वयनका लागि पनि संघीय कानुनसँगको स्पष्टता र आवश्यक सहजीकरण गर्न मुख्यमन्त्री पाण्डेले आग्रह गर्नुभएको छ ।

गण्डकी प्रदेश आमसञ्चार ऐन, २०८० मा भएको व्यवस्थाअनुसार अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण र आमसञ्चारमाध्यमको इजाजतपत्र नवीकरणसम्बन्धी कार्य प्रदेश सरकारबाटै हुने गरी आवश्यक नीतिगत व्यवस्था मिलाउन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

भेटमा गण्डकी प्रदेशसँग भारततर्फ जोडिएको त्रिवेणी नाका तथा चीनतर्फका मुस्ताङको कोरला र गोरखाको रुईला नाकालाई अन्तर्राष्ट्रिय सीमा नाकाका रूपमा व्यवस्थित गर्दै सीमा क्षेत्रको पूर्वाधार विकास र सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने विषय पनि उठाइएको छ ।

यसैगरी, आर्थिक वर्ष २०८२/८३ मा नेपाल सरकारबाट बजेट विनियोजन नभएका संघीय सशर्त अनुदानअन्तर्गत सञ्चालित खानेपानीतर्फका १९० वटा अधुरा आयोजना र नेपाल सरकारबाट प्रदेश सरकारलाई हस्तान्तरण भएका सडकतर्फका चार वटा अधुरा आयोजनालाई आवश्यक बजेट तथा व्यवस्थापनको व्यवस्था गर्न आग्रह गरिएको छ ।

फेवातालमा रहेका अतिक्रमित संरचना हटाउने तथा मुआब्जा वितरणलगायतका विषयमा पनि प्रधानमन्त्री कार्यालयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले उठाइएका विषयमा सकारात्मक प्रतिक्रिया दिँदै कानुन निर्माण तथा संशोधन आवश्यक पर्ने विषयमा कानुनी सहजीकरण गर्ने र संघीय सरकारबाट नीतिगत निर्णय लिनुपर्ने विषयमा आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।