काठमाडाैँ । गृहमन्त्री सुधन गुरुङले आफ्नो चुनावी क्षेत्रमा मतदातासँगको भेटघाटलाई तीव्र बनाउनुभएको छ। उहाँले आइतबार गोरखाको सहिद लखन गाउँपालिका पुगेर स्थानीयवासीसँग भेटघाट गर्दै उनीहरूका गुनासा तथा समस्या सुन्नुभएको हो।
भेटघाटका क्रममा स्थानीयवासीले सडक, मल तथा खानेपानीको समस्या समाधानका लागि सरकारको साथ आवश्यक रहेको बताएका थिए। उनीहरूले दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका यी समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका थिए।
स्थानीयका गुनासा सुन्दै गृहमन्त्री गुरुङले उठाइएका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गर्ने बताउनुभयो। उहाँले स्थानीयवासीलाई समस्या समाधान हुनेमा ढुक्क रहन आग्रह गर्नुभएको छ।
गृहमन्त्री गुरुङले आफ्नो निर्वाचन क्षेत्रमा स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै जनताका आवश्यकता र समस्यालाई प्राथमिकताका आधारमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो।











