काठमाडौं– मेडिकल जाँचका विषयमा भइरहेकाे लामो अन्योलपछि मलेसिया रोजगारी खुला भएको छ । नेपाल र मलेसियाको मन्त्रालयस्तरीय बैठकबाट मलेसिया रोजगार खुला गर्ने सहमति भएको हो ।
बिहीबार भएको बैठकले तत्काल मलेसिया रोजगारीमा जाने बाटो खुला गर्ने निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले बताए । यो सहमतिसँगै नेपाली कामदार निःशुल्क मलेसिया जान पाउनेछन् ।
कामदार लैजाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनी र मेडिकल खर्च पहिलो महिनाको तलब दिने समयमा रिफण्ड गर्ने गरी सहमति भएको श्रम मन्त्रालयले जनाएको छ ।
दुई देशबीच गत अक्टोबर २९, २०१८ मा श्रम समझदारी कार्यान्वयन गर्ने सहमति भएको थियो । सो सहमतिमा नेपालका तर्फबाट सहसचिव राम प्रसाद घिमिरेले नेतृत्व गरेका थिए ।
मलेसियाली अधिकारीसँग भएको छलफलबाट विगतमा भएका सबै समझदारी कार्यान्वयन गर्ने गरी सहमति छ । मलेसिया जाने कामदारकाे स्वास्थ्य परीक्षण गर्न बायोमेडिकल भएका सबै संस्थाले पाउनेछन् । अहिले बायोमेडिकल ३६ वटा सँस्थामा छन् । यी सँस्थाहरुमा मलेसियाले अनुगमन गर्नेछ । यद्यपी, मलेसिया सरकारले नेपाली बायाेमेडिकल उपलब्ध गराउने संस्थाहरूकाे स्थलगत अनुगमन गरी स्वीकृति दिनेछ ।
अब मलेसियन रोजगारदाताले आफूलाई आवश्यक परेको कामदारका लागि नेपाली दूतावासमा मागपत्र पेश गर्नेछन् । नेपाली दूतावासले प्रमाणीकरण गरेपछि वैदेशिक रोजगार विभागले आफ्नो वेभसाइटमा सो मागपत्र अपलोड गरी जानकारी गराउनेछ र कामदार लैजाने प्रक्रिया शुरु हुनेछ ।
नेपाल सरकारले घरेलु कामदार पठाउँदा सम्बन्धित देशमा घरेलु कामदारसम्बन्धी छुट्टै कानुन हुनुपर्ने भनेकाले मलेसियामा सोको लागि कानुन बन्ने प्रक्रियामा रहेकाले हाल नेपालबाट घरेलु कामदार जान पाउने छैनन् ।
मलेसिया जाने कामदार माथि ठगी भएको भन्दै नेपाल सरकारले २०७५ जेठ १२ गते श्रम मन्त्रालयले मलेसिया श्रम स्विकृतिमा रोक लगाएको थियो ।