११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

नेपालगन्जमा विपन्नका लागि ९४ शय्या निःशुल्क

नेपालगन्जमा विपन्नका लागि ९४ शय्या निःशुल्क
अ अ+ अ-

नेपालगन्ज। विपन्न, असहाय तथा बेवारिसे नागरिकका लागि नेपालगन्ज उपमहानगरपालिकाभित्रका २५ अस्पतालमा ९४ वटा  निःशुल्क शय्याको व्यवस्थापन गरिएको छ ।

उपमहानगरअन्तर्गत सूचीकृत २५ वटा निजी तथा सरकारी अस्पतालमा आगामी भदौ १ गतेदेखि प्रभावकारी रूपमा सेवा सञ्चालन गर्नेगरी आवश्यक तयारी पूरा गरिएको उपमहानगर कार्यालयले जनाएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपालगन्ज उपमहानगरका प्रमुख प्रशान्त विष्टले निःशुल्क शय्याको दैनिक उपलब्धताबारे नागरिकले सहज रूपमा थाहा पाउने गरी व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

उहाँले आर्थिक अवस्था कमजोर भएका लक्षित वर्गले मात्र सेवा पाउने सुनिश्चितता गर्न र दुरुपयोग हुन नदिन कडाइका साथ अनुगमन गरिने बताउनुभयो । उहाँले १० प्रतिशत निःशुल्क शय्यासम्बन्धी व्यवस्था कागजमा मात्र नभई व्यवहारमै कार्यान्वयन गर्न उपमहानगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा नवीन दर्नालले स्थानीय तह (वडा कार्यालय) द्वारा जारी आर्थिक रूपमा विपन्न भएको सिफारिसपत्र वा नेपाल सरकारले जारी गरेको विपन्न परिचयपत्र अथवा आकस्मिक अवस्थामा तुरुन्त कागजात नभएमा स्वघोषणा फाराम भरेर पनि उपचार पाउन सकिने जानकारी दिनुभयो ।

नेपालगन्ज उपमहानगरका प्रवक्ता प्रमोद रिजालले सिफारिसमा हुनसक्ने दुरुपयोगका सम्बन्धमा सजग बन्नुपर्नेमा जोड दिनुभयो । ‘लक्षित वर्ग निःशुल्क उपचार सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८३’ अनुसार उपमहानगरअन्तर्गत सञ्चालन भएका अस्पतालमा स्रोत व्यक्ति तोकेर सम्पर्क नम्बरसमेत उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बमले बताउनुभयो ।

प्रत्येक अस्पतालमा दैनिक रूपमा निःशुल्क शय्याको अवस्था अद्यावधिक गरी सेवाग्राहीलाई जानकारी उपलब्ध गराउने, निःशुल्क स्वास्थ्य सेवा सहयोग कक्षमार्फत सहजीकरण गर्ने तथा सम्बन्धित फोकल पर्सन (स्रोत व्यक्ति)मार्फत सेवा प्रवाहलाई व्यवस्थित गर्ने उद्देश्यले अस्पतालमा अनुगमन सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत बमले जानकारी दिनुभयो ।

सेवा प्राप्त गर्न कठिनाइ भएमा वा अस्पतालले निःशुल्क उपचार उपलब्ध नगराएमा सम्बन्धित अस्पतालको फोकल पर्सन तथा नेपालगन्ज उपमहानगरका जनस्वास्थ्य निरीक्षक तेज वलीलाई सिधै गुनासो गर्न सकिने व्यवस्था मिलाइएको छ ।

यसअघि, उपमहानगरअन्तर्गत सञ्चालित निजी अस्पतालका सञ्चालक तथा प्रतिनिधिहरूको सहभागितामा निःशुल्क उपचार सेवा तथा लक्षित वर्ग निःशुल्क उपचार पोर्टलसम्बन्धी अभिमुखीकरण तथा समन्वय बैठक भएको थियो ।

नेपालको संविधान, २०७२ को धारा ३५(१) ले नागरिकको स्वास्थ्यसम्बन्धी मौलिक हक सुनिश्चित गरेको छ ।

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ को दफा ७०(घ) ले विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि अस्पतालको कुल शय्याको १० प्रतिशत निःशुल्क उपचारका लागि छुट्याउनुपर्ने व्यवस्था गरेको छ ।