११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

रासायनिक मलको प्रयोगलाई घटाउँदै प्राङ्गारिक खेती प्रवर्द्धन गर्न सांसदहरूको सुझाव

रासायनिक मलको प्रयोगलाई घटाउँदै प्राङ्गारिक खेती प्रवर्द्धन गर्न सांसदहरूको सुझाव
अ अ+ अ-

काठमाडौं । सांसदहरूले रासायनिक मलको प्रयोग क्रमशः घटाउँदै प्राङ्गारिक मल र दिगो कृषि प्रणालीलाई प्रवद्र्धन गर्न सरकारलाई सुझाव दिएका छन् ।

बिहीबार कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा भएको जैविक तथा प्राङ्गारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र दिगो कृषि विकासको सम्भाव्यतासम्बन्धी छलफलमा सांसदहरूले प्राङ्गारिक खेतीलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसदहरूले प्राङ्गारिक मलको वैज्ञानिक मापदण्ड निर्धारण, किसानलाई प्रभावकारी अनुदान, स्थानीय मल उद्योगको प्रवद्र्धन तथा रैथाने बीउ संरक्षणमा जोड दिएका छन् । कृषि क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनीहरूको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद पुनमकुमारी अग्रवालले रासायनिक मललाई पूर्ण रूपमा विस्थापित गर्नुअघि प्राङ्गारिक मलको वैज्ञानिक मापदण्ड स्पष्ट गर्नुपर्ने बताइन् । हालको प्राङ्गारिक मलसम्बन्धी निर्देशिकामा फस्फेट र पोटासको तोकिएको मात्रा पर्याप्त छ कि छैन भन्ने विषयमा अध्ययन गर्नुपर्ने उनको भनाइ थियो ।

अग्रवालले तत्काल एक तिहाइसम्म रासायनिक मललाई व्यावसायिक रूपमा उत्पादित प्राङ्गारिक मलले प्रतिस्थापन गर्न सकिने सम्भावनाबारे राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) लगायतका निकायबाट परीक्षण र सिफारिस हुनुपर्ने बताइन् । स्थानीय तहबाट अनुमति पाएका साना प्राङ्गारिक मल उद्योगलाई स्थानीय बजार केन्द्रित भएर उत्पादन तथा बिक्री गर्ने वातावरण बनाउनुपर्नेमा पनि उनले जोड दिइन् ।

प्रदेश तथा स्थानीय तहमा दर्ता भएका र आयात हुने मलको गुणस्तर तथा पोषक तत्वको मात्रा नियमित परीक्षण गर्नुपर्ने उनको भनाइ थियो ।

नेपाली कांग्रेसकी सांसद गंगालक्ष्मी अवालले प्राङ्गारिक खेती प्रवद्र्धनका लागि सरकारले स्पष्ट कार्यक्रम ल्याउनुपर्ने बताइन् । महिला किसानलाई कृषि नीतिमा प्राथमिकताका साथ समेट्दै स्थानीय तथा रैथाने ज्ञानलाई आधुनिक कृषि प्रणालीसँग जोड्नुपर्ने उनले बताइन् ।

कृषि अनुदान वास्तविक किसानसम्म पुर्‍याउन खेतमै पुगेर आवश्यकता पहिचान गर्नुपर्ने उनको सुझाव थियो । उनका अनुसार हाल प्रस्ताव तथा प्रतिवेदन तयार गर्न सक्ने व्यक्तिले अनुदान पाउने तर वास्तविक किसान त्यसबाट वञ्चित हुने अवस्था छ ।

अवालले किसानलाई बीउ, बिरुवा, कृषि उपकरण वा प्रविधिका रूपमा सहयोग उपलब्ध गराउनुपर्ने तथा प्राङ्गारिक खेती प्रवद्र्धनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारलाई सुझाव दिइन् ।

नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली प्रदेशलाई रासायनिक मलमुक्त प्रदेश बनाउने अभियान सुरु गर्न सरकारलाई आग्रह गरे । कर्णालीमा रासायनिक मलको प्रयोग करिब २ प्रतिशत मात्रै रहेकाले आगामी आर्थिक वर्षदेखि यसलाई शून्यमा झार्ने अभियान सुरु गर्न सकिने उनको भनाइ थियो ।

उनले तराईमा देखिएको माटोको अम्लीयपन, पानीको समस्या र चुरे संरक्षणलाई समेत कृषि नीतिसँग जोड्नुपर्ने बताए । रासायनिक मलको प्रयोग घटाउँदा विषादीको प्रयोग पनि सँगसँगै घटाउनुपर्ने भन्दै उनले विषादीको विकल्प र त्यसको प्रभावकारिताबारे अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराए ।

रैथाने बीउमा रोग प्रतिरोधात्मक क्षमतासहित विभिन्न विशेषता हुन सक्ने भन्दै पोखरेलले हिमाली, पहाडी तथा कर्णाली क्षेत्रमा रैथाने बीउको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकता दिनुपर्ने बताए ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रेमबहादुर वयकले स्वच्छ तथा पोषणयुक्त खाद्य उत्पादनका लागि राज्यले कृषि अनुसन्धान र प्राङ्गारिक खेतीमा पर्याप्त लगानी गर्नुपर्ने बताए । पछिल्लो समय कृषि क्षेत्रको बजेट घट्दै गएको र रासायनिक मलमा ठूलो रकम विनियोजन हुँदा प्राङ्गारिक क्षेत्रले न्यून बजेट पाएको उनको भनाइ थियो ।

उनले कृषि अनुसन्धान तथा प्राङ्गारिक खेतीलाई प्राथमिकता दिने गरी बजेट र नीति निर्माण गर्नुपर्नेमा जोड दिए ।

बैठकमा सांसदहरूले प्राङ्गारिक खेतीलाई केवल रासायनिक मलको विकल्पका रूपमा मात्र नहेरी माटोको स्वास्थ्य, किसानको आय, खाद्य सुरक्षा, वातावरण संरक्षण र जनस्वास्थ्यसँग जोडिएको दीर्घकालीन कृषि नीतिका रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।