काठमाडाैँ । नेकपा एमालेका नेता योगेश भट्टराईले मुलुकका संवैधानिक तथा राज्यका प्रमुख संस्थामाथि हस्तक्षेप र दबाब बढिरहेको भन्दै नेपाललाई असफल राष्ट्र बनाउने षड्यन्त्र भइरहेको हो कि भन्दै प्रश्न गरेका छन्।
भट्टराईले बिहीबार सामाजिक सञ्जालमार्फत संसदलाई कमजोर बनाउने, न्यायालयलाई कब्जा गर्ने, सेना र प्रहरीलाई लाचार बनाउने तथा कर्मचारीतन्त्रको हुर्मत लिने प्रयास भइरहेको दाबी गरेका हुन्।
उनले प्रेसमाथि सेन्सरसिप लगाउने, आफ्नै तथा अन्य राजनीतिक दललाई किनाराकृत गर्ने, व्यापारी तथा उद्योगीलाई लखेट्ने र परराष्ट्र सम्बन्धलाई लथालिङ्ग बनाउने गतिविधि भइरहेको आरोपसमेत लगाएका छन्।
त्यस्तै, गरीब तथा सुकुम्बासीको उठिबास लगाउने, कानुन र संविधानको धज्जी उडाउने तथा धार्मिक एवं साम्प्रदायिक द्वन्द्वलाई बढावा दिने काम भइरहेको उनको भनाइ छ।
यी सबै गतिविधि सामाजिक अराजकता र राज्यआतंकमार्फत नेपाललाई असफल राष्ट्र घोषणा गर्ने षड्यन्त्रको हिस्सा त होइन भन्दै भट्टराईले प्रश्न गरेका छन्।
यसअघि पनि भट्टराईले सेना, सुरक्षा निकाय, न्यायालय, संवैधानिक अंग र कर्मचारीतन्त्रप्रति एमालेको सम्मान र विश्वास रहेको बताउँदै आएका छन्।











