काठमाडौं । रोल्पाको थबाङ गाउँपालिका–२ छेर्लोबाङ झार्नेमा पहिरोले पुरिएर दुई जनाको ज्यान गएको छ भने चार जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी लिलाराम आचार्यका अनुसार गएराति आएको पहिरोमा परेर २८ वर्षीया श्रीकुमारी बुढा र उनका ४ वर्षीय छोरा असल बुढाको मृत्यु भएको हो ।
आचार्यका अनुसार एकान्तमा रहेको घर पुरिएको स्थानीयले विहानमात्रै थाहा पाएका थिए । उनी भन्छन्, ‘पुरिएको घरमा चार जना पाहुना पनि आएको भन्ने सुनेका छौं, उहाँहरू कता जानु भयो यकिन छैन ।’
वर्षा अझै नरोकिएको र लेदो माटोका कारण उद्धारमा कठिनाई भइरहेको थबाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती मगरले जानकारी दिएका छन् ।