चितवन । भरतपुरको चितवन मेडिकल कलेज (सीएमसी) ले गरीव तथा विपन्न बिरामीहरुको निशुल्क डेंगु परीक्षण सुरु गरेको छ । चितवनमा डेंगुले महामारीको रुप लिन थालेपछि सीएमसीले यो व्यवस्था गरेको हो ।
कलेजका प्रमुख सञ्चालक डा. हरिशचन्द्र न्यौपानेका अनुसार सामाजिक उत्तरदायित्व निर्वाह गर्न गरीव तथा विपन्न वर्गका विरामीहरुको निशुल्क डेंगु परीक्षण गराउने कार्य थालिएको हो । उनका अनुसार एक हजार त्यस्ता वर्गका बिरामीको निशुल्क परीक्षण गरिने छ ।
चितवनलाई डेंगुले निकै प्रभावित गरिरहेको सन्र्दभमा कलेजका तर्फबाट उर्जा प्रदान गर्न यस्तो कार्यक्रम ल्याइएको उनले बताए । कलेजमा दैनिक ४ सय ज्वरो तथा डेंगुका बिरामीहरु उपचारका लागि आउने गरेका छन् । निशुल्क डेगु परीक्षणसँगै चिकित्सकिय परामर्श पनि दिइने कलेजका निर्देशक डा. दयाराम लम्सालले बताए ।
डा. न्यौपानेका अनुसार ये सेवा सरकारले बनाएको विपन्न बर्ग सम्बन्धी मापदण्ड पुरा रेर आउने बिरामीलाई प्रदान गरिने छ । गरीब तथा विपन्न वर्ग भनी प्रमाणित गर्ने सिफारिस ल्याउन नसक्ने बिरामीहरुलाई अस्पातलले नै मुल्याङ्कन गरेर यो सेवा प्रदान गर्ने व्यवस्था पनि कलेजले गरेको छ ।
अन्य नीजि मेडिकल कलेज तथा अस्पतालहरुले एक हजार पाँचसय रुपैयाँ डेंगु परीक्षणमा लिदै आएका छन् भने, सरकारी भरतपुर अस्पतालमा डेंगुको निशुल्क परीक्षणको व्यवस्था गरिएको हो ।