काठमाडौं । एक वर्षमा नेपाल प्रहरीमा कार्यरत जवानदेखि अधिकृतसम्मका १८ सय जना कारबाहीमा परेका छन् । आर्थिक बर्ष ०७५/७६ मा १८ सय कार्यरत जवानदेखि अधिकृतसम्मलाइृ कारबाही गरिएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार २ सय ४९ जनालाई भविष्यमा सरकारी सेवाका जागिर खान नपाउने गरी नोकरीबाट हटाइएको छ भने ७ जनालाई बर्खास्त गरिएको छ । प्रहरीका अनुसार बर्खास्त गरिएका भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिन्छन् ।
नोकरीबाट हटाइएका अधिकृतमा कञ्चनपुरको निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी डिल्लीराज विष्टलाई सेवाबाट हटाइएको थियो । सोही अवधिमा दुई जना प्रहरी निरीक्षकको पनि जागिर गएको छ भने ५ जना प्रहरी नायब निरीक्षक, ११ जना प्रहरी सहायक निरीक्षक, २४ जना प्रहरी हवल्दार र १ सय ९५ जना प्रहरी जवान सेवाबाट हटाइएका छन् । प्रहरी महानिरीक्षकको सचिवालयका अनुसार यो अवधिमा ११ जना प्रकास पनि कारबाहीमा परेका छन् । प्रकास प्रहरी जवानपछिको पद हो ।
बर्खास्तीमा पर्नेमा एक जना प्रहरी सहायक निरीक्षक, दुई/दुई जना प्रहरी हवल्दार र जवानसहित ११ जना प्रकाश छन् ।
यो अवधिमा प्रहरी प्रधान कार्यालयले १ हजार ५ सय ४४ जनालाई विभागीय कारबाही गरेको छ । विभागीय कारबाही भोग्नेमा सबैभन्दा बढी प्रहरी जवान ९ सय ८६ जना छन् । प्रहरी हवल्दारतर्फ ३ सय ३३ जना विभागीय कारबाहीमा परेका छन् भने दुई जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)ले पनि कारबाही पाएका छन् ।
विभागीय कारबाही पाउनेमा दुईरदुई जना एसपी र डीएसपी (प्रहरी नायब उपरीक्षक) छन् । विभागीय कारबाहीमा नसिहत दिने, पद घटुवा, सेवा अवधिको कम गणना, पदोन्नति रोक्का, अभिलेखमा प्रतिकूल राय राख्ने, ग्रेड घटुवा, ग्रेड रोक्का, निलम्बनलगायत पर्छ ।
प्रहरी प्रधान कार्यालयका अधिकृतहरु गलत कार्य गर्नेविरुद्ध निर्मम रुपमा प्रस्तुत हुने संगठनले नीति लिएर कारबाही संख्या बढेको दाबी गर्छन् ।