४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

जनता जगाउदै काग्रेस, भ्रातृ संस्थामा भने तछाड मछाड

जनता जगाउदै काग्रेस, भ्रातृ संस्थामा भने तछाड मछाड
अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियानमा जुटेका बेला प्रभावशाली भ्रातृ संस्थाहरुमा भने एकपछि अर्को विवाद चुलिन थालेको छ । शनिबार मात्रै नेपाल तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत र महासचिव भूपेन्द्रजङ्ग शाही दुवैले एकअर्कालाई विज्ञप्तिमार्फत दलको साधारण सदस्यसमेत नरहने गरी पदबाट हटाएको विज्ञप्ति सार्वजनिक गरेपछि सङ्गठन भित्रको विवाद छताछुल्ल देखिएको हो ।

अध्यक्ष जीतजङ्ग बस्नेतले विज्ञप्तिमार्फत पदीय मर्यादा र जिम्मेवारी विपरीतका गतिविधि गरेको भन्दै सङ्गठनका महासचिव शाहीलाई साधारण सदस्यसमेत नरहने गरी पदबाट हटाउनुभएको थियो । लगत्तै महासचिव शाहीले पनि अर्को विज्ञप्ति जारी गर्दै तरुण दललाई अलोकतान्त्रिक ढङ्गबाट सञ्चालन गरेको र मुलुकका ठूला भ्रष्टाचार काण्डविरुद्ध नजरअन्दाज गरेको भन्दै अध्यक्ष बस्नेतलाई हटाएको घोषणा गर्नुभएको थियो ।

मातृ पार्टी काङ्ग्रेस ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरणमा देशभर जुटिरहेका बेला प्रभावशाली भ्रातृ संस्था तरुण दल भने विवादको भुमरीमा फसेको छ । काङ्ग्रेसले यही भदौ २४ देखि आगामी असोज ७ गतेसम्म देशभर जागरण अभियान थालेको छ ।

तरुण दलको वर्तमान केन्द्रीय समिति तीनवर्षे कार्यकालका लागि विसं २०७३ कात्तिक २७ देखि २९ गतेसम्म पोखरामा सम्पन्न चौथो महाधिवेशनबाट सर्वसम्मत चयन भएको थियो । महाधिवेशनले अध्यक्षमा जीतजङ्ग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, महासचिव भुपेन्द्रजङ्ग शाही र कोषाध्यक्षमा विद्वान गुरुङलाई सर्वसम्मत चयन गरेको थियो । पन्चानब्बे सदस्यीय केन्द्रीय समितिले त्यसयता हालसम्म पनि पूर्णता पाउन सकेको छैन ।

विसं २०१० कात्तिक १० गते तत्कालीन काङ्ग्रेस सभापति विश्वेश्वरप्रसाद कोइरालाको समन्वय र निर्देशनमा तरुण दल स्थापना भएको हो । तरुण दलका संस्थापक अध्यक्षमा सिंहध्वज खड्का रहनुभएको थियो । त्यसपछि २०१७ पुस १ गते तत्कालीन प्रधानमन्त्री विपीले तरुण दलको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गरिरहेका बेला तत्कालीन राजा महेन्द्रले सेनाको बलमा सबैलाई थुनेर ‘कु’ गरेका थिए ।

राजाले दलमाथि प्रतिबन्ध लगाएको अवस्थामा तरुण दल पनि विघटन हुन पुगेको थियो । विसं २०५४ मा नेपालगन्जमा भएको काङ्ग्रेसको महासमिति भेलामा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले बालकृष्ण खाँणको नेतृत्वमा तरुण दल पुनःस्थापनाको घोषणा गर्नुभएको थियो । त्यसपछि हालसम्म तरुण दलमा महादेव गुरुङ, विनोद कायस्थ, महेन्द्र यादव र उदयशम्शेर राणा अध्यक्ष भइसक्नुभएको छ ।

असोज पहिलो साता नेवि सङ्घ केन्द्रीय समिति बन्दै

अर्को प्रभावशाली भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ ९नेवि सङ्घ० अहिले नेतृत्वविहीन अवस्थामा छ । सङ्घको ११औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महर नेतृत्वको कार्यसमितिको समयावधि समाप्त भएपछि सात महीनादेखि केन्द्रीय समिति रिक्त छ । सङ्घको ११औँ महाधिवेशन विसं २०७३ साउनमा सम्पन्न भएको थियो । अध्यक्ष महरले विसं २०७५ माघ २८ मा पदबाट राजीनामा दिनुभएको थियो ।

विसं २०२७ वैशाख ७ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेका बेला स्थापना भएको सङ्घमा अहिलेको अवस्थासम्म आइपुग्दा १८ जनाले नेतृत्व सम्हाल्ने मौका प्राप्त गरिसक्नुभएको छ । सङ्घको पहिलो अध्यक्ष विपिन कोइराला रहनुभएको थियो । त्यसयता शेरबहादुर देउवा, विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँण, एनपी साउँद, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, केशव सिंह, किशोरसिंह राठौर, महेन्द्र शर्मा, प्रदीप पौडेल, कल्याण गुरुङ, रञ्जीत कर्ण र नैनसिंह महर अध्यक्ष भइसक्नुभएको छ ।

काङ्ग्रेसको यही भदौ १७ गतेको केन्द्रीय समिति बैठकले म्याद समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थालाई छ महीनाभित्र महाअधिवेशन गर्न निर्देशन दिइसकेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने आगामी असोज पहिलो साताभित्र नेविसङ्घ केन्द्रीय समिति गठन भइसक्ने जानकारी दिनुभयो ।

आठ भ्रातृ र छ शुभेच्छुक संस्थाको म्याद समाप्त

काङ्ग्रेसमा हाल नेपाल महिला सङ्घ, नेपाल तरूण दल, नेपाल विद्यार्थी सङ्घ, नेपाल किसान सङ्घ, नेपाल दलित सङ्घ, नेपाल भूतपूर्व सैनिक सङ्घ, नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल आदिवासी जनजाति सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, मुस्लिम सङ्घ नेपाल, नेपाल तामाङ सङ्घ, नेपाल राष्ट्रिय मगर सङ्घ, नेपाल ठाकुर समाज गरी १३ भ्रातृ संस्था छन् । त्यसमध्ये नेवि सङ्घ, प्रजातन्त्र सेनानी सङ्घ, किसान सङ्घ, दलित सङ्घ, आदिवासी जनजाति सङ्घ, लोकतान्त्रिक अपाङ्ग सङ्घ, तामाङ सङ्घ, ठाकुर समाजको समयमै महाअधिवेशन हुन नसकेर केन्द्रीय समितिको म्याद समाप्त भइसकेको पार्टी कार्यालयले जनाएको छ ।

यसैगरी काङ्ग्रेसका नेपाल ट्रेड युनियन काङ्ग्रेस, नेपाल सांस्कृतिक सङ्घ, नेपाल गैरसरकारी संस्था महासङ्घ, प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, नेपाल डेमोक्रेटिक लयर्स एसोसिएशन, नेपाल प्रजातन्त्रवादी इन्जिनीयर्स, प्रजातन्त्रवादी चिकित्सक सङ्घ, नेपाल प्रेस युनियन, नेपाल शिक्षक सङ्घ, नेपाल निजामती कर्मचारी युनियन, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम, प्रशासन व्यवस्थापन र विकास केन्द्र, नेपाल लोकतान्त्रिक शेर्पा सङ्घ, त्रिभुवन विश्वविद्यालय प्रजातन्त्रवादी कर्मचारी सङ्घ, प्रजातान्त्रिक वन प्राविधिक सङ्घ नेपाल, नेपाल कुमाल सङ्घ, लोकतान्त्रिक नेवाःखल र डेमोक्रेटिक एग्रिकल्चरिष्ट एसोसिएशन नेपाल गरी १८ शुभेच्छुक संस्था छन् ।

त्यसमध्ये प्रशासन व्यवस्थापन र विकास केन्द्र, लोकतान्त्रिक शेर्पा सङ्घ, प्रेस युनियन, वन प्राविधिक सङ्घ, कुमाल सङ्घ र नेवाः खल गरी छ शुभेच्छुक संस्थाको केन्द्रीय कार्यसमितिको म्याद समाप्त भइसकेको छ ।

पैंतीसमध्ये १८ जनसम्पर्क समितिको म्याद समाप्त

यसैगरी काङ्ग्रेसका हाल अष्ट्रेलिया, बहराइन, बेल्जियम, क्यानाडा, चीन, साइप्रस, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, हङकङ, भारत, आयरल्याण्ड, इजरायल, इटाली, जापान, कुवेत, मकाऊ, मलेसिया, नेदरल्यान्ड, न्युजिल्यान्ड, नर्वे, ओमान, पोल्यान्ड, पोर्चुगल, कतार, दक्षिण कोरिया, स्पेन, सउदी अरेबिया, स्विट्जरल्यान्ड, संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिकालगायत ३५ मुलुकमा जनसम्पर्क समिति छन् ।

त्यसमध्ये हाल १८ जनसम्पर्क समितिको समयमै महाधिवेशन हुन नसकेर केन्द्रीय समितिको कार्यकाल समाप्त भइसकेको छ । पार्टीको भदौ १७ गतेको केन्द्रीय समिति बैठकले म्याद समाप्त भएका जनसम्पर्क समितिलाई पनि छ महीनाभित्र महाधिवेशन सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको थियो ।