१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्चीको प्रतिक्षामा राजधानीवासी



अ+ अ-

काठमाडौं । उपत्यकामा खानेपानीको समस्या भएको धेरै वर्ष भइसक्यो । यो समस्याको समाधानका लागि मेलम्ची खोलाको पानी उपत्यकामा वितरण गर्ने सोचकासाथ मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य भइराखेकोमा यो संपन्न भई पानी आपूर्ति गर्ने लक्षित समय तालिका धेरै पटक थप भइरहेको छ ।

यस सन्दर्भमा स्तम्भकार जल तथा ऊर्जा आयोगको सचिव हुँदा प्राप्त जानकारी उल्लेख गर्नु सान्दर्भिक हुनेछ । मेलम्ची आयोजनाको प्रगति स्तरबारे जानकारी लिन सन् २०१० मा हामी मेलम्चीको आयोजनास्थल पुगी कार्यप्रगति अवलोकन गरी विविध पक्षका बारेमा जानकारी लिँदा सन् २०१३ मा सम्पन्न गर्ने गरी कार्य अघिबढेको देख्दा उत्साहित भएकोमा साँझ एकजना इन्जिनियरले मेलम्चीको काम सम्पन्न हुन नदिन जल माफिया हातधोएर लागेका छन् ।

त्यसैले मेलम्ची आयोजना पूरा हुनेमा आशङ्का व्यक्त गर्दै यसको लामो पुस्ट्याइ दिएका थियो, त्यस समय उनको भनाइलाई पूर्वाग्रही र गैर जिम्मेवार अभिव्यक्तिको रूपमा ग्रहणगर्न पुगिएको थियो । आज उनै इन्जिनियरको भनाइको स्मरण हुनथालेको छ । किनकि मेलम्चीको ९५ प्रतिशत काम पुरा भई सक्यो भनेर प्रगति विवरण सार्वजनिक भइराखेको समयमा कार्य सम्पन्न गर्ने अवस्थामा रहेको तात्कालिन ठेकेदारलाई भाग्न बाध्य गराइयो, तत्कालीन सचिवले खानेपानी मन्त्रीे भ्रष्ट्राचारमा लिप्त भएकै कारण यो अवस्था आइपरेको जानकारी मिडियामार्फत स्पस्टगर्दा तत्कालीन सचिव र मन्त्रीमाथि छानबिन गर्न सरकार लगायत सम्बन्ध निकायले तदारुकता देखाउन नचाहनु, ठेकेदार काम गर्न नसक्ने भई पलायन भइसके पश्चात् हालसम्म अर्को ठेक्का बन्दोबस्त गरी बाँकी काम सम्पन्न गर्नेतर्फ सरकारको क्रियाशीलता देख्न नसकिनु, उपठेकेदार र आपूर्ति कर्ताको १.६ अरब भुक्तानी गर्नुपर्ने रकमको सम्बन्धमा सरकारले छानबिन गरी निष्कर्षमा नपुग्नु, ढल प्रशोधनको करीब सत्तरी प्रतिशत कार्य बाँकिरहनु, सरकारले पुन ठेकेदार नियुक्ति गरी बाँकी रहेको १ किलोमिटर सुरुङको निर्माण कार्य सम्पन्न गर्न नसक्नु, अन्तर्रा्ष्ट्रिय वा देश भित्रैका ठेकेदारबाट प्रतिस्पर्धा गराई हालसम्म कार्य सञ्चालन गराई सक्न सरकारलाई जागर नचल्नु मात्र होइन यतीखेर मुख्य कार्यतर्फ चासो नदिई निर्माण सम्पन्न भएका पानी ट्याङ्कीहरूमा पानी भरी परीक्षण गर्ने र पाइप लाइनमा पानी पठाउने कार्य भइराखेको जानकारी हुँदा सर्वसाधारण जनतामा मेलम्चीको पानी वितरणको अभ्यास भइराखेको अनर्गल प्रचारसमेत भएको छ, के यु के एलले नै सङ्कलन गरेको सुन्दरीजलको पानीले ट्याङ्की भरी पाइप लाइनमा पठाउने अभ्यास मात्र भएको हो मेलम्ची आयोजनाको थप काम केही भएको छैन ।

यसले भ्रम मात्र सिर्जना गरेको छ । तदारुकताका साथ कार्यगर्दा अब चारमहिनामा मेलम्चीको कार्य सम्पन्न भई पानी वितरणमा आउन सक्ने जानकारी मेलाम्चिसंग सम्बन्धितको रहेको छ तर सरकारको प्राथमिकतामा यो विषय परेको देखिएन ।

लामो समयदेखि मेलम्ची खोलाको पानी काठमाडौं उपत्यकामा वितरण गरी उपत्यकावासीको माग पुरा गर्ने प्रयास भइराखेको छ । यस आयोजनाकोे पानी वितरण गर्ने मिति सकिएको पनि लामो अवधि भइसक्यो, मेलम्चीको प्रगतिमा आएको सुस्तताको कारण पटक पटक म्याद थप र ठेकेदार परिवर्तन भइराखेको जानकारी पाउँदा यस कार्यक्रम सफल भई खानेपानीको आपूर्ति पूर्णरुपमा गरिने विषय मृगतृष्णाको रुपमा देखिदैछ ।

काठमाण्डौं उपत्यकामा औपचारिक जनसङ्ख्या पैतीस लाख भए पनि अनौपचारिक रुपमा रहेका सबै गरी करिब पचास लाख जनसङ्ख्या पुगेको अनुमान गरिदैछ । यो जनसङ्ख्यालाई माग अनुसार खानेपानी उपलब्ध गराउन प्रतिदिन ४० करोड लिटर पानीको आवश्यकता पर्दछ । हाल जम्मा मागको एक चौथाई पानी काठमाण्डौं उपत्यका खानेपानी लिमिटेडले उपलब्ध गराएको छ ।

मेलम्चीको प्रथम चरणमा १७ करोड लिटर र दोश्रो एवम् तेश्रो चरणमा याङ्ग्री र लार्के खोलाबाट थप १७, १७ करोड लिटर पानी वितरणमा आउन सक्ने क्षमता देखिएको छ । यस हिसाबले मेलम्ची आयोजनाको संपूर्ण चरण पूर्ण हुँदा ५१ करोड लिटर पानी उपलब्ध भई यसमा के. यू.के.एलले हालको अवस्थामा उपलब्ध गराई आएको १२ करोड लिटर थप गर्दा दैनिक ६३ करोड लिटर पानी आपूर्ति गर्न सक्ने क्षमता देखिदैछ ।

सन् २०१३ मा पूरा गर्ने लक्ष्य राखिएको मेलम्ची आयोजना अब सन् २०१९मा मात्रै प्रथम चरणको १७ करोड लिटर पानी काठमाण्डौं उपत्यकामा वितरण हुन सक्ने लक्ष्य राखिएको छ । जनसङ्ख्यामा हुदै गएको वृद्धि र पानीको उपभोग समेतमा बढोत्तरी आउँदै गएको देखिदा मेलम्चीको संपूर्ण चरण पूरा हुँदा उपत्यकावासीहरुको मागमा अझै वृद्धि हुन सक्तछ ।

त्यसैले मेलम्चीको पानीले मात्रै पनि उपत्यकाको माग पूराहुन नसक्ने अवस्था देखिदैछ । हाल उपत्यकामा वर्षा समयमा पनि पर्याप्त खानेपानी वितरण गर्न सकिएको छैन । वितरण भएको करिब १२करोड लिटर पानीमा पचास प्रतिशत पानी जमिन मुनीको हो, जमिनमुनिको पानी निकाल्दै जाँदा अहिलेको अवस्थामा १.९ मिटर पानीको सतह प्रति वर्ष घटदै जाने देखिदा यही क्रम जारी रहने हो भने अब ८५ वर्षमा यो पानीको उपयोग पूर्णरुपमा बन्द हुने अवस्था देखिएको छ । यसैले जमिनमुनीको पानी निकाल्ने कामले समस्याको समाधान होइन, थप समस्या सृजना हुँदै जाने अवस्था छ ।

समस्या व्यवस्थापनमा उत्तिकै छ । आयोजनाले स्थानीय स्तरका धेरै प्रकारका मागहरु पुरा गर्नुपर्ने, विविध खालका मागहरु राखी निर्माण कार्यमा अवरोध पु¥याउने, यो आयोजना नै असफल गराउन केही जलमाफियाहरु लागी परेका तर्क समेत भइरहदा २०१३ मा संपन्न गर्ने लक्ष्य राखिएको यो आयोजना सन् २०१९ मा प्रथम चरणको काम संपन्न हुनेमा पनि सन्देह भइराखेको छ, यसैले मेलम्चीको पानीको आशा फेरि पनि उपत्यकावासीका लागि मृगतृष्णा सावित भइराखेको छ ।

काठमाण्डौं उपत्यकाका खानेपानी आपूर्तिको जिम्मेवारी लिइबसेको के।ए।क्यू।एल।को कार्य संपादन स्तर अत्यन्त न्यून स्तरको छ । मेलम्ची र के.ए.क्यू.एलका कामहरु समानान्तर हिसाबले अघिबढनु पर्दथ्यो । मेलम्चीको पानी सुन्दरीजलमा खस्दा त्यसको उचित प्रकारले वितरण गर्न तयार रहनु पर्ने जिम्मेवारी के। ए। क्यू। एलको हो, तर यो पनि अत्यन्त सुस्त गतिमा पाइप सुधार तथा मर्मत कार्यमा लागेको छ । यो भन्दा पनि गम्भीर पक्ष हो काठमाण्डौं उपत्यका खानेपानी लिमिटेडले सबै कामहरु मेलम्चीलाई दृष्टिगत गरी अघिबढेको छ ।
जमिनमुनीको पानी बाहिर निकाल्दा यसको पुनः भण्डारण गर्ने, सतहको पानी सङ्ग्रह गरी आपूर्ति क्षमता बढाउने, घरघरमा ट्याङ्कर मार्फत खानेपानी उपलब्ध गराउने कार्यमा यो निकाय पछिपरेको छ । ट्याङ्कर मार्फत खानेपानी उपलब्ध गराउने काम निजी क्षेत्रले ज्यादा मात्रामा गरिराखेको छ ।

“मेलम्चीमा भ्रष्ट्राचार भएकैले यो अवस्था सृजनाभएकोतर्फ गम्भीर बनी विभिन्न कालखण्डमा यस आयोजनामा संलग्न रहेकाउपर छानबिन गर्नु पर्ने आवाज जनस्तरबाट उठन थालेको छ, लामो समयदेखि मेलम्ची खोलाको पानी काठमाडौं उपत्यकामा वितरण गरी उपत्यकावासीको माग पूरा गर्ने प्रयास भइराखेको छ । ”

आपूर्ति हुनसकेको पानीको चुहावट नियन्त्रण गर्न सकेको छैन । उपलब्ध गराएको पानीको शूल्क थुप्रै बाँकि रहेको छ । मेलम्चीको क्षमता पर्याप्त नहुँदा यसका लागि वैकल्पिक उपायहरुको खोजी गरी कार्यान्वयनमा जाने विषयमा पर्याप्त ध्यान दिन सकेको छैन । उपलब्ध गराइएको पानी पर्याप्त ट्रिटमेन्ट बेगर घरघरमा पठाइने भएकाले पानीबाट उत्पन्न हुने धेरै प्रकारका रोगहरुबाट ग्रसित हुने अवस्था भएकाले यो पानी खाने प्रयोजनमा उपभोग खासै भएको छैन ।

यो संंस्था सार्वजनिक निजी साझेदारीका आधारमा चलिराखेको छ । संस्था घाटामा छ, खानेपानी सूविधा उपलब्ध गराउनुपर्ने जवाफदेहिताबाट सरकार पछिहटन मिल्दैन, सरकारले नै जिम्मेवारी लिने, संस्था निजी क्षेत्रसङ्ग प्रतिप्रश्न गर्न नसक्ने हुँदा खानेपानी उपलब्ध गराउने संस्थाको क्षमतामा नै प्रश्न चिन्ह लागेको छ । यस्तो कमजोर निकायबाट मेलम्चीको पानीको व्यवस्था आउँदा दिनमा गर्नुपर्ने अवस्था छ ।

सरकारले संस्थाको क्षमता सुधारमा ध्यान दिएको छैन, तर ट्रेड युनियनीकरण, आवश्यकता भन्दा बढी कर्मचारी भर्ना, महाप्रबन्धकको भर्ना लगायत अन्य व्यवस्थापनमा राजनीतिक हस्तक्षेप भइराखेको छ त्यसैले उपत्यकावासीले प्राप्त गर्ने खानेपानीको सुविधाको भविष्य हालसम्मको स्थितिको मूल्याङ्कन गर्दा राम्रो देखिएको छैन ।

देशवासीहरुले खानेपानीको पीडा भोग्नुपरेको छ, अन्तराष्ट्रिय जगतमा जलश्रोतको प्रचुर सम्भावना भएको नेपालको राजधानी सहर नै खानेपानीको समस्याबाट ग्रस्तभएको सूचना प्रवाह भइराखेको छ । त्यसैले यस विषयमा सरकार गम्भीर भई अघिबढनु पर्दछ । मेलम्चीको प्रथम चरणको कार्य संपन्न गरी शीघ्र पानी आपूर्ति गरिनु पर्दछ , यसका लागि परियोजनालाई राष्ट्रिय महत्व दिई यसमा उत्पन्न हुने समस्याहरुको शीघ्र समाधान खोजी निर्माण कार्यलाई तीव्रगति दिनुपर्दछ ।

यसलाई निरन्तर अनुगमन गरी बाधा अडकाउ फुकाउने प्रयोजनका लागि एक जिम्मेवार निकायको सङ्रचनात्मक व्यवस्था हुनु पर्दछ । मेलम्चीको संपूर्ण चरण पूरा भई पूर्ण क्षमतामा आपूर्ति हुँदा पनि माग र आपूर्तिका बीचको खाडल कायम नै रहने छ, किनकि प्रथम चरण पुरा हुँदा दोश्रो चरणको काम फत्तेगर्न थप तीन÷चार वर्ष लाग्न सक्तछ ।

त्यसबखत जनसंख्या वृद्धि, बसाइ सराइ र पानीको उपभोगमा हुँदैजाने वृद्धिका कारण सन् २०२५तीर मेलम्ची पूरा हुँदा यसबाट ५१ करोड लिटर पानी आपूर्ति हुन्छ, हाल उपभोग गरिराखेको बाह्र करोड लिटर थप गर्दा ६३ करोड लिटर पूर्णक्षमता हुन्छ । बढदो जनसंख्या समेतका कारण यसबखत दैनिक ७५ करोड लिटरको माग हुन सक्तछ । यो प्रवृति बढदै जान्छ, त्यसैले आगामी २० वर्ष भित्र उपत्यकाको १०० करोड लिटर पानी आपूर्ति गर्न सक्ने गरी सरकार अघिबढनु पर्दछ ।

जमिनमुनिको पानीको तह घटदै जाने भएको र यसमा पुनः भण्डारणको अवस्था बढदो शहरीकरणका कारण कठिन बन्दै गएकाले सतहको पानीमा नै निर्भर हुने गरी योजना बनाउन नितान्त जरुरी छ । मेलम्चीको पानी वितरण गर्ने दृष्टिकोणले गर्दा ढलको पाइप र खानेपानीको पाइप अलग्गै राख्ने, थप ४०, ५० वर्षका लागि कुनै समस्या नपर्ने गरी पाइपको सञ्जाल तयार पार्ने, के.ए.क्यू.एललाई राजनीतिक हस्तक्षेपबाट मुक्त राखी यसको व्यवस्थापन क्षमता प्रभावकारी बनाउने सन्दर्भमा शीघ्र कार्य प्रारम्भ गरिनु पर्दछ ।

उपत्यकाको मागलाई पूर्णरुपमा संबोधन गर्न मेलम्ची बाहेकको अर्को श्रोतको खोजी गर्नु जरुरी छ । यसको उपयुक्त विकल्प त्रिशुली नदी हुन सक्तछ । त्रिशुलीको पानी लिफ्ट गरी उपत्यकामा वितरण गर्ने व्यवस्थाका लागि शीघ्र गम्भिरतापूर्वक कार्य थालनी गरिनु पर्दछअन्यथा मेलम्ची आयोजना पुरा हुँदा समेत उपत्यकावासीले यो समस्या व्यहोरी रहनु पर्नेछ ।

व्यक्तिगत फाइदाका लागि जल माफियाहरूको अभीष्ट पुरागर्न सार्वजनिक पदाधिकारीहरू तल्लीन रहने , मेलम्चीको सवैचरण पुराहुँदा पनि उपत्यकावासीको पानीको माग अनुसार आपूर्ति गर्न नसकिने, जलस्रोतले सम्पन्न देशका राजधानी वासीहरू नै काकाकुलको अवस्थामा रहन बाध्य हुनुपर्ने अवस्थामा स्तम्भकारले दस वर्षअघि प्राप्तगरेको मेलम्ची कहिल्यै पूरा नहुने गरी एक इन्जिनीयरले दिएको अभिव्यक्तितर्फ ध्यान केन्द्रित हुनपुगेको छ ।

तसर्थ मेलम्चीमा भ्रष्ट्राचार भएकैले यो अवस्था सृजनाभएकोतर्फ गम्भीर बनी विभिन्न कालखण्डमा यस आयोजनामा संलग्न रहेकाउपर छानबिन गर्नु पर्ने आवाज जनस्तरबाट उठनथालेको छ । तर यसतर्फ सम्बन्धित निकाय गम्भीर वनेको देखिएन । लोकतान्त्रिक गणतन्त्र नेपालका लागि यो भन्दा ठुलो विडम्बना अरू के नै हुन सक्तछ र ? सरकार गम्भीर बन्नु पर्दछ भन्ने माग सर्वत्र उठेको छ ।, समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।