काठमाडाैँ । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो।
चार्टर्ड एकाउन्टेन्ट पृष्ठभूमिका साह यसअघि नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेका छन्। निगमको नेतृत्वका लागि भएको प्रतिस्पर्धामा उनी अन्तिम रूपमा छनोट भएका हुन्।
कार्यकारी निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिले साउन १७ गते मूल्याङ्कनका आधारमा तीन जनाको नाम सरकारसमक्ष सिफारिस गरेको थियो। सिफारिस सूचीमा धनुषाका नागेन्द्र साह, प्युठानका कौशल केसी र सप्तरीका सञ्जीव कुमार देव रहेका थिए।
यस पदका लागि आवेदन आह्वान असार २ गते गरिएको थियो। छनोट प्रक्रियापछि मन्त्रिपरिषद्ले सिफारिस भएका उम्मेदवारमध्ये साहलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो।











