३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड

ग्रामीण विकासको प्रयोगशाला जिरी : इतिहास जोगाउने कि अवसर गुमाउने?

ग्रामीण विकासको प्रयोगशाला जिरी : इतिहास जोगाउने कि अवसर गुमाउने?
अ+ अ-

नेपालमा ग्रामीण विकास, प्राविधिक शिक्षा र आत्मनिर्भर समुदाय निर्माणको इतिहास खोज्ने हो भने जिरी एउटा विशिष्ट नामका रूपमा उभिन्छ । कुनै समय “नेपालको स्वीजरल्यान्ड“ भनेर परिचित जिरी आज पनि नेपालको योजनाबद्ध ग्रामीण विकासको सफल नमुनाको साक्षी बनेर उभिएको छ । तर विडम्बना, यही ऐतिहासिक सम्पदा र विकासको आधार बनेको जिरी प्राविधिक शिक्षालय आज अस्तित्व जोगाउन संघर्षरत छ । कुनै समय दक्ष जनशक्ति उत्पादनको केन्द्र बनेको यो शिक्षालय अहिले विद्यार्थीको अभाव, नीतिगत बेवास्ता र कमजोर व्यवस्थापनका कारण आफ्नो गौरवशाली इतिहास गुमाउने अवस्थामा पुगेको छ ।

एकीकृत ग्रामीण विकासको सुरुआत

सन् १९५० को दशकमा नेपालमा सडक सञ्जाल अत्यन्त सीमित थियो । कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासका लागि आवश्यक प्राविधिक जनशक्तिको समेत ठूलो अभाव थियो । यही पृष्ठभूमिमा नेपाल सरकारले स्वीस सरकारसँग ग्रामीण विकासका लागि सहयोगको आग्रह गर्यो । त्यसपछि नेपाल आएका स्वीस प्राविधिक टोलीले देशका विभिन्न क्षेत्रको अध्ययन गरी दोलखा जिल्लाको जिरी क्षेत्रलाई एकीकृत ग्रामीण विकास परियोजनाका लागि उपयुक्त स्थानका रूपमा छनोट गर्यो । जिरीको भौगोलिक बनोट र प्राकृतिक वातावरण स्वीस ग्रामीण भूगोलसँग मिल्दोजुल्दो भएकाले यो क्षेत्र विकासको प्रयोगशालाका रूपमा रोजिएको थियो ।

यस निर्णयसँगै जिरीमा कृषि, पशुपालन, दुग्ध उत्पादन, स्वास्थ्य सेवा, शिक्षा, सडक, विद्युत्, खानेपानी तथा अन्य ग्रामीण पूर्वाधारलाई समेटेर Jiri Multipurpose Development Project सुरु गरियो । यस परियोजना अन्तर्गत जिरी अस्पताल स्थापना भयो, दुग्ध प्रशोधन तथा चिज उद्योग सञ्चालनमा आयो, उन्नत जातका पशु भित्र्याइए, सडक सञ्जाल विस्तार गरियो, विद्युत् सेवा उपलब्ध गराइयो तथा जिरी विमानस्थल सञ्चालनमा ल्याइयो । यी सबै प्रयासले जिरीलाई नेपालको ग्रामीण विकासको आदर्श नमुना बनायो ।

यदि त्यतिबेलाको यो एकीकृत विकासको अवधारणालाई देशका अन्य क्षेत्रमा पनि योजनाबद्ध रूपमा विस्तार गरिएको भए, नेपालको ग्रामीण विकासको स्वरूप आज अझ फरक हुन सक्थ्यो ।

जिरी प्राविधिक शिक्षालय : दीर्घकालीन विकास सोचको परिणाम

जिरी प्राविधिक शिक्षालय कुनै आकस्मिक रूपमा स्थापना भएको संस्था थिएन । यो स्वीस–नेपाल सहकार्यबाट विकसित दीर्घकालीन विकास दृष्टिको परिणाम थियो । स्थानीय स्तरमै दक्ष प्राविधिक जनशक्ति उत्पादन गरी ग्रामीण विकासलाई दिगो बनाउने उद्देश्यले वि.सं. २०३९ (सन् १९८२) मा जिरी प्राविधिक शिक्षालय स्थापना गरिएको थियो ।

प्रारम्भिक चरणमा कक्षा ७ उत्तीर्ण विद्यार्थीलाई भर्ना गरी तीन वर्षको आवासीय तथा व्यवहारिक शिक्षा प्रदान गरिन्थ्यो । अध्ययनसँगै On the Job Training -OJT मार्फत कृषि, पशुपालन, स्वास्थ्य तथा निर्माण क्षेत्रमा प्रत्यक्ष प्रयोगात्मक सीप सिकाइन्थ्यो । तालिम पूरा गरेपछि विद्यार्थीलाई तत्कालीन एस.एल.सी. (कक्षा १०) सरहको प्रमाणपत्र प्रदान गरिन्थ्यो । त्यस समयका लागि यो शिक्षा प्रणाली अत्यन्तै आधुनिक, व्यवहारिक र रोजगारमुखी थियो ।

सुरुमा पाँच जिल्लालाई लक्षित गरी सञ्चालन गरिएको यो संस्था पछि प्राविधिक एस.एल.सी. तहसम्मको अध्ययन केन्द्रका रूपमा विकसित भयो। वि.सं. २०४६ मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) स्थापना भएपछि यो शिक्षालय परिषद्अन्तर्गत सञ्चालन हुन थाल्यो र नेपालकै प्रतिष्ठित प्राविधिक शिक्षालयमध्ये एकका रूपमा स्थापित भयो ।

एक समयको गौरव

कुनै समय करिब २०० रोपनी क्षेत्रफलमा फैलिएको जिरी प्राविधिक शिक्षालयमा अध्ययन गर्न पाउनु आफैंमा प्रतिष्ठाको विषय मानिन्थ्यो। देशका विभिन्न जिल्लाबाट विद्यार्थीहरू प्रवेश परीक्षामार्फत अध्ययनका लागि प्रतिस्पर्धा गर्थे। अत्याधुनिक प्रशासनिक भवन, व्यवस्थित छात्रावास, प्रयोगशाला, कार्यशाला, कृषि फार्म, अभ्यास स्थल तथा शान्त र स्वच्छ वातावरणले यसलाई उत्कृष्ट प्राविधिक शिक्षण संस्थाका रूपमा चिनाएको थियो । यस शिक्षालयले हजारौं दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्‍यो । जसले कृषि, पशुपालन, निर्माण तथा ग्रामीण विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको देखिन्छ ।

आज किन संकटमा छ?

यति समृद्ध इतिहास बोकेको शिक्षालय आज विद्यार्थीको अभावमा सञ्चालनको संकटमा पुगेको छ । करोडौं रुपैयाँ बराबरका पूर्वाधार प्रयोगविहीन बन्दै गएका छन् । व्यवस्थित भवन, छात्रावास, प्रयोगशाला र अभ्यासस्थल जीर्ण बन्दै छन् । कुनै समय ज्ञान र सीपको केन्द्र बनेको परिसर आज सुनसान देखिनु केवल एउटा संस्थाको समस्या मात्र होइन, यो नेपालको शिक्षा योजना र सार्वजनिक सम्पत्तिको व्यवस्थापनसँग जोडिएको गम्भीर प्रश्न पनि हो ।

आज नेपालभर प्राविधिक शिक्षाको आवश्यकता बढिरहेको छ । विद्यार्थीहरू महँगो शुल्क तिरेर निजी संस्थामा अध्ययन गर्न बाध्य छन् । अर्कोतर्फ राज्यले ठूलो लगानीमा निर्माण भएका यस्ता सार्वजनिक संस्थाहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्नु चिन्ताको विषय हो । समस्या विद्यार्थीको मात्र होइन; दीर्घकालीन नीति, व्यवस्थापन, पाठ्यक्रम, रोजगारसँगको सम्बन्ध, लगानीको प्राथमिकता तथा राजनीतिक इच्छाशक्तिसँग पनि जोडिएको देखिन्छ ।

पुनर्जागरणको अवसर

जिरी प्राविधिक शिक्षालयलाई पुनर्जीवित गर्न सकियो भने यसले केवल दोलखा जिल्लालाई मात्र होइन, सम्पूर्ण नेपाललाई लाभ पुग्न सक्छ । यसलाई अन्तर्राष्ट्रिय स्तरको ग्रामीण विकास, कृषि नवप्रवर्तन, जलवायु अनुकूल कृषि, पशुपालन, प्राविधिक शिक्षा तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने सम्भावना अझै जीवित छ ।

नेपालका ७५३ वटै स्थानीय तहले छात्रवृत्ति कार्यक्रममार्फत विद्यार्थी पठाउने व्यवस्था गर्न सक्ने हो भने देशभरका युवाले गुणस्तरीय तथा व्यवहारिक प्राविधिक शिक्षा प्राप्त गर्न सक्नेछन् । यसबाट दक्ष जनशक्ति उत्पादन, स्थानीय रोजगारी सिर्जना, वैदेशिक युवा पलायन न्यूनीकरण तथा ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा उल्लेखनीय योगदान पुग्न सक्छ ।

यससँगै जिरीको ऐतिहासिक विमानस्थल, अस्पताल, कृषि फार्म, दुग्ध उद्योग तथा अन्य पूर्वाधारलाई पनि एकीकृत विकास अवधारणाअनुसार पुन: सञ्चालन गर्न सकियो भने जिरी फेरि नेपालको नमुना विकास केन्द्र बन्न सक्छ । यसको व्यवस्थित सञ्चालनको लागि सार्वजनिक, निजि साझेदारीको अवधारणा पनि अवलम्वन गर्न सकिने देखिन्छ ।

जिरीबाट सिक्नुपर्ने पाठ

जिरीको इतिहासले एउटा महत्वपूर्ण शिक्षा दिन्छ—दिगो विकास छुट्टाछुट्टै आयोजना सञ्चालन गरेर सम्भव हुँदैन । शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, ऊर्जा, रोजगारी र स्थानीय अर्थतन्त्रलाई एउटै दृष्टिकोणबाट जोडेर अघि बढाउँदा मात्र समृद्ध समुदाय निर्माण गर्न सकिन्छ ।

नेपालमा आज पनि विकास आयोजनाहरू सञ्चालन भइरहेका छन् । तर ती आयोजनाहरूबीच समन्वयको अभाव, दीर्घकालीन सोचको कमी र एकीकृत योजना नहुँदा अपेक्षित परिणाम प्राप्त हुन सकेको छैन । जिरीले देखाएको सफल मोडेललाई आधुनिक आवश्यकताअनुसार परिमार्जन गरी पुन: लागू गर्न सके ग्रामीण विकासको नयाँ अध्याय सुरु हुन सक्छ ।

निष्कर्ष

जिरी प्राविधिक शिक्षालय केवल एउटा शैक्षिक संस्था होइन; यो नेपालको विकास इतिहासको अमूल्य सम्पदा हो । यसको संरक्षण, पुनर्संरचना र प्रभावकारी सञ्चालन स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार, शिक्षाविद्, नीति निर्माता तथा नागरिक समाज सबैको साझा जिम्मेवारी हो ।

यदि आज पनि हामीले यस्ता ऐतिहासिक सम्पदाको महत्व बुझ्न सकेनौं भने भविष्यले हामीलाई क्षमा गर्ने छैन । तर समयमै सही निर्णय गर्न सकियो भने जिरी फेरि एकपटक नेपालको प्राविधिक शिक्षा, ग्रामीण विकास र अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यको प्रेरणादायी केन्द्र बन्न सक्छ ।

इतिहासले हामीलाई केवल गौरव गर्न होइन, सिक्न पनि सिकाउँछ । प्रश्न केवल यत्ति हो—के हामी जिरीबाट सिक्न तयार छौं?

स्रोत: स्थानीय बासिन्दा केशरबहादुर जिरेल तथा अन्य जानकारहरूसँगको संवाद, जिरी प्राविधिक शिक्षालयका प्रमुख डा. रविन्द्र मरहट्टसँगको अन्तर्वार्ता तथा विभिन्न प्रकाशित सामग्री