४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नेकपाको मधेस पार्टी कमिटीमा विवाद

नेकपाको मधेस पार्टी कमिटीमा विवाद
अ+ अ-

काठमाडौं । नेकपाको मधेस पार्टी कमिटीमा विवाद देखिएको छ। शीर्ष नेताबीचको गुटका कारण प्रदेश २ मा पदाधिकारीमै विवाद छताछुल्ल भएको हो। पूर्वमाओवादीका प्रभु साह र मातृका यादव पक्षबीच अन्तरविरोध चुलिएको छ। दुवै जनाले अध्यक्ष पुष्पकमल दाहाललाई नेता मान्छन्।

मधेसमा भने उनीहरू आआफ्नो समूह बनाउन क्रियाशील छन्। पूर्वएमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि मिलेका छैनन् । पार्टी एकतापछि ओली र साह एकातिर र यादव र नेपाल अर्कातिर देखिएका छन्। यही समीकरणका आधारमा नेताहरूले संगठनात्मक भागबन्डा खोजी गर्दा विवाद बढेको हो। यसले गर्दा प्रदेशका आठमध्ये तीन जिल्ला कमिटीका पदाधिकारीको शपथ रोकिएको छ।

नेपाल र यादव पक्षका नेता सोमबार प्रदेश इन्चार्ज, अध्यक्ष र सचिवलाई कारबाही माग गर्दै अध्यक्ष पुष्पकमल दाहालकहाँ डेलिगेसन पुगेका छन्। सहइन्चार्ज नागेन्द्र चौधरी, महेन्द्र पासवान, नेताहरू रामचन्द्र झा, रामकुमार शर्मा, भरत शाह, गोपाल ठाकुरलगायत केन्द्रीय सदस्य टोलीमा थिए। वनमन्त्रीसमेत रहेका यादव भने नयाँदिल्ली पुगेका छन्। यादव मंगलबार फर्किएपछि उनीहरूले पार्टी केन्द्रीय कार्यालयमा ज्ञापनपत्र दर्ता गराउने तयारी गरेका छन्।

नेकपाको २ नम्बर प्रदेश कमिटीमा एक इन्चार्ज, तीन सहइन्चार्ज र एक–एक अध्यक्ष र सचिव छन्। यीमध्ये चार नेता (इन्चार्ज सत्यनारायण मण्डल, सहइन्चार्ज विश्वनाथ साह, अध्यक्ष प्रभु साह र सचिव सुमनराज प्याकुरेल) एकातिर छन् । दुई नेता (सहइन्चार्जहरू नागेन्द्रप्रसाद चौधरी र महेन्द्र पासवान) अर्कातिर छन्। इन्चार्ज मण्डल र सचिव प्याकुरेल ओली पक्षका नेता हुन् भने सहइन्चार्ज चौधरी नेपाल पक्षका।

भदौ २४ गते बर्दिबासमा ओली(साह समूह एकातिर र नेपाल–यादव समूह अर्कातिर भएपछि झडप भएको थियो। त्यसपछि चार नेताको बैठकले नेपालसहितका नेतालाई कारबाही गर्नुपर्ने माग गरेको छ। बर्दिबास घटना नेपाल र यादवको निर्देशनमा भएको निष्कर्ष बैठक निकालेको थियो। नेताद्वयलाई आवश्यक कारबाही गर्नुपर्ने माग उनीहरूले गरेका छन्। सहइन्चार्ज पासवानलाई केन्द्रीय समिति, गंगा पासवान र फुल्गेन नायकलाई प्रदेश कमिटी र पूर्वमन्त्री उमेश यादवलाई साधारण सदस्यबाट हटाउनुपर्ने पनि उनीहरूको माग छ।

प्रदेश इन्चार्ज मण्डलले नेताहरूलाई थप्पड हान्न खोज्ने, गालीगलौजमा उत्रनेलाई कारबाही नगर्ने हो भने पार्टी नचल्ने बताए। ‘सचिवालयले हाम्रो प्रदेशमा दुई सहइन्चार्ज थप्ने निर्णय गयो। थपिएका नेताहरूले मसँग आएर सल्लाह गर्नुभएको छैन। हामीलाई के जिम्मेवारी दिनुहुन्छ भनेर आउनुभएको पनि छैन। बैठक बोलाउन खोज्दा उहाँहरूलाई फोन गरेको थिएँ तर आउनुभएन’, उनले भने, ‘तर, उहाँहरू यहाँ आएर पदबहाली गर्नुभन्दा आठै जिल्लामा आफूनिकट नेताहरूको मिटिङ गरेर काठमाडौं जानुभयो।’

सहइन्चार्ज नागेन्द्र चौधरीले भने प्रदेश कमिटीका पदाधिकारी विधानअनुसार चल्न नखोजे आरोप लगाए। ‘अन्तरिम विधानबमोजिम प्रदेश कमिटीले आफूमध्येबाट एकतिहाइ नबढाई सचिवालय बनाउने, नौजनाको कार्यालय बनाउने व्यवस्था छ। कार्यालय गठन भएको छैन। सचिवालय बनेको छैन। कसले के निर्णय गर्छन् ? त्यसको आधिकारिकता के ? ’ उनले भने, ‘ प्रदेशका अध्यक्ष र सचिवले गर्ने निर्णय पार्टीको हुन्छ ? जसलाई मन लाग्यो उसलाई कारबाही गर्ने हो र ? ’

दाहालको भूमिका ओली र नेपाल दुवैतिर सन्तुलनकारी देखिन्छ। ‘प्रचण्डले मातृका र प्रभुलाई बोलाएर विवाद मिलाउने हो भने मधेसको समस्याले एक प्रकारको समाधान पाउँछ’, नेकपाका एक नेताले भने। सोमबार डेलिगेसन आएका नेतालाई दाहालले सचिवालय बैठकबाट विवादको हल खोज्ने बताएर फर्काएका थिए। ‘मधेसको पार्टी कमिटीमा समस्यै देखियो। आरोप(प्रत्यारोपले कहीं पुगिन्न’, उनले भनेका थिए, ‘दुवै पक्ष बसेर समाधान खोज्नुपर्छ। सचिवालयले पनि अब निर्णय लिन्छ।’

जिल्लापिच्छे फरक समीकरण प्रदेशमा जिल्लापिच्छे फरक समीकरण छ नेकपामा। तत्कालीन एमालेभित्र ओली पक्षबाट सत्यनारायण मण्डल र नेपाल पक्षका नागेन्द्र चौधरीबीच विवाद छ, माओवादीभित्र मातृका र प्रभुबीच। यसबाहेक पनि नेताहरूका आआफ्नै गुटगत विवाद छ। धनुषामा रघुवीर महासेठविरुद्ध श्रीप्रसाद साह, योगनारायण यादव र शत्रुधन महतो एकातिर छन्।

यसमा महतो मात्र नेपाल पक्षका हुन्। यसअघि नमिलेका रामचन्द्र झा र मातृका यादव पनि जिल्लामा एकै ठाउँ आइपुगेका छन्। सिरहामा पूर्वमाओवादीभित्र विश्वनाथ साह र महेन्द्र पासवान मिल्दैनन्। अजयशंकर नायक, राामकुमार यादव र लीला श्रेष्ठ एकातिर छन। सिरहामै ओली समूहका धर्मनाथप्रसाद शाह र लीला श्रेष्ठको फरक गुट छ।

नेपाल समूहका रामचन्द्र यादवको अर्को गुट छ। बारामा अच्युत मैनाली एकातिर, पुरुषोत्तम पौडेल र गोपाल ठाकुर अर्कातिर छन्। रौतहटमा प्रभु साह एकातिर र सत्यनारायण मण्डल, अशोक जैसवाल अर्कातिर छन्। सप्तरीमा सत्यनारायण मण्डल र सुमनराज प्याकुरेल एकातिर, गोविन्द न्यौपाने अर्कातिर छन्।

आफ्नो मिलाउने अन्यत्र भड्काउने प्रभावशाली नेताहरूले आफ्नो जिल्लाको हकमा विवाद मिलाएका छन्। अन्यत्र भने उनीहरूले किचलो झिकिरहेका छन्। नेपाल पक्षका प्रदेश सहइन्चार्ज नागेन्द्र चौधरीको गृहजिल्ला पर्सामा जिल्ला कमिटीको शपथ भइसकेको छ। उनले अन्य जिल्लाको शपथमा विवाद झिकिरहेको ओली पक्षको आरोप छ।

बारामा नेपाल पक्षका पुरुषोत्तम पौडेल र मातृकानिकट गोपाल ठाकुरले जिल्लाको शपथ सकाएका छन्। उनीहरूको ध्यान पनि अन्य जिल्लाको शपथग्रहणतिर देखिएको छ। ‘उहाँहरू आफ्नोमा मिलाएर अन्य नेताको जिल्लातिर भड्काउन लागेको देखिन्छ’, ओली पक्षका एक नेताले भने।

नेपालनिकट सहइन्चार्ज चौधरीले गृहजिल्लाको शपथग्रहण पनि त्रुटिपूर्ण रहेको आवाज आफूले उठाइरहेको बताए। ‘पर्साको पनि त्रुटिपूर्ण छ। उजुरी केन्द्रमा परेको थियो। केन्द्रले सच्याएर शपथ गराउन निर्देशन दिए पनि प्रदेशले सच्याएको छैन। केन्द्रले दबाब नदिएकाले पर्साको शपथ सकिएको हो’, उनले भने, ‘आफ्नोमा मिलाउने अन्यत्र भाँड्ने भन्ने आरोप मात्र हो।’ समाचार अन्नपुर्ण पोष्ट दैनिकबाट