२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेतनाको विकास: उपचारका लागि चिकित्सक खोज्दै धामीझाँक्री



अ+ अ-

डोटी । कुनै समय चिकित्सकले निको पार्न नसकेको उपचार आफूले निको पार्न सक्ने दाबी गर्दै आएका यहाँका धामीझाँक्री पछिल्लो समय चिकित्सककहाँ गएर आफ्नो उपचार गराउन थालेका छन् । आफूमात्र नभई उनीहरु अहिले गाउँका अन्य बिरामीलाई पनि चिकित्सककहाँ गएर औषधोपचार तथा जाँच गराउन सल्लाह दिन थालेका जोरायल गाउँपालिका वडा नं ५ गड्सेराका डम्मर विष्टले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय तथा नेपाली सेनाको सुदूरपश्चिम पृतना दिपायल राजपुर व्यारेकले सुदूरपश्चिमेली जनतालाई घरैमा निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले यहाँका विभिन्न क्षेत्रमा सञ्चालन गरेका निःशुल्क स्वास्थ्य शिविरमा प्रायःजसो धामीझाँक्री उपचार तथा जाँच गराउन आउन थालेका छन् ।

पछिल्लो समय विभिन्न किसिमका रोग देखा पर्न थालेका र देउताकै भर पर्दा ज्यान नै खतरामा पर्ने भएकाले आफूहरुले बिरामीलाई अस्पताल तथा चिकित्सककहाँ पठाउने गरेको बोगटान फुड्सिल गाउँपालिका–५ भतालीका धामी देवबहादुर बोहराले बताए । उनले भने, “सुदूरपश्चिममा धामी तथा देउताप्रति आस्था र विश्वास नभएको चाहिँ होइन, स्थानीयवासीले विश्वास गर्छन्, तर सबै बिरामी देउताले निको पार्न नसक्ने भएकाले बिरामीको अवस्था र उसलाई लागेको रोगबारे बुझेर हामी अस्पताल जाने सल्लाह दिने गर्छौँ ।”

बिरामी उपचार गराउन अस्पताल तथा चिकित्सक खोज्न थालेपछि सुदूरपश्चिमका अधिकांश धामीझाँक्रीको आम्दानी शून्य हुन थालेको दिपायलका कलकबहादुर खत्रीले बताए । डोटीलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा विगत समयमा मानिस सामान्य बिरामी पर्दा पनि धामीझाँक्रीकहाँ धाउने चलन थियो ।

अहिले उक्त चलन क्रमिकरूपमा हट्न थालेको छ । यहाँका धामीझाँक्रीले ठूलो रोगबाहेक अन्य केही मसान, पिचास, बोक्सी लागेको भने निको पर्ने गरेको पिपल्लाका पदम दासले बताए । यसरी मसान, पिचास, बोक्सी लागेको छुटाउन यहाँका धामीझाँक्रीले बोका, कुखुरा, राँगा तथा हासको बलि दिने चलन छ ।