१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानकाे चुनावी र्‍यालीमा विस्फोट, २४ को मृत्यु, राष्ट्रपति घानी मुश्किलले बाँचे



अ+ अ-

काबुलः उत्तरी अफगानिस्तानमा राष्ट्रपति असरफ घानीका निम्ति भएको एउटा चुनावी र्‍यालीमा भएको विस्फोटनमा परेर कम्तीमा २४ जना मारिएका छन्। उक्त घटनामा कम्तीमा ३१ जना घाइते भएका छन्। राष्ट्रपति घानी भने सकुशल छन् ।

अफगान राष्ट्रपति घानी ।

बिबिसीका अनुसार पर्वान प्रान्तमा भएको उक्त विस्फोटनमा घाइते भएका दर्जनौँ मानिसहरूमध्ये केहीको अवस्था गम्भीर रहेको छ।

केही खबरहरूमा जनाइएअनुसार एउटा बम सुरक्षाकर्मीले प्रयोग गर्ने गाडीमा जोडिएको थियो र राष्ट्रपति घानीले सम्बोधन गरिरहेको मञ्च परिसरमा विस्फोट भएको थियो।

त्यसै समयमा राजधानी काबुलस्थित रक्षा मन्त्रालयको भवन नजिकै पनि अर्को विस्फोटन भएको अधिकारीहरूले पुष्टि गरेका छन्। सो घटनामा कम्तीमा ३ जना मारिएका छन्।

यसै महिनाको अन्त्यमा अफगानिस्तानमा राष्ट्रपति पदको लागि निर्वाचन हुँदैछ।

को जिम्मेवार?

दुवै विस्फोटको जिम्मा तालिबान विद्राेही समूहले लिएकाे छ । एपीका अनुसार तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले दुबै घटनामा तालिबानका अात्मघातीहरू सहभागी रहेकाे बताएका छन् ।

तालिबान विद्रोही समूह र अमेरिकाबीच जारी शान्ति वार्ता अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले एकतर्फी रूपमा भंग गरेकाे घाेषणा गरेपछि हिंसात्मक घटना अरू बढेका छन् । यद्यपी वार्ता जारी रहेकै समयमा पनि तालिबानले विस्फाेटका कार्यहरू जारी राखेकाे थियाे ।

तालिबानले सेप्टेम्बर २८ मा हुन लागेको राष्ट्रपतिय निर्वाचनलाई विथोल्ने धम्की दिएको छ।

हिंसाको चक्र

यसबीच बीबीसीले गरेको अनुसन्धानमा गत अगस्ट महिनाभरमा अफगानिस्तानमा दैनिक औसत ७४ जना महिला, पुरुष तथा बालबालिका मारिएका छन्।

अफगानिस्तानमा बितेका १८ वर्षदेखि जारी युद्धपश्चात् अमेरिकी सेना फिर्ता हुने तयारी विथोलिएको छ। यिनै घटनाक्रमका माझ हिंसाको चक्र भने निरन्तर चलिरहेको छ।

अगस्ट महिनामा मात्र हिंसाका ६११ घटना भएका र त्यसका कारण २३०७ जना मारिएको बीबीसीले थाहा पाएको छ।

तालिबान तथा अफगान सरकारले बीबीसीले दिएको आँकडामाथि प्रश्न उठाएका छन्।

मारिनेमध्ये अधिकांश मानिस लडाकू रहेका छन्- अपेक्षा गरिएभन्दा धेरै सङ्ख्यामा तालिबान लडाकू मारिएको पाइएको छ। तर कुल मारिनेमध्ये पाँच भागको एक भाग गैरसैनिक छन्।

थप १९४८ घाइते भएका छन्।