• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

५ अर्ब २६ करोडमा संसदको आफ्नै भवन निर्माण हुने



काठमाडौं । सरकारले सिंहदरबारभित्र संघीय संसद्को भवन निर्माण प्रक्रिया अगाडि बढाएको छ। देशको प्रमुख प्रशासनिक निकाय सिंहदबारभित्र स्थित पुतली बगैंचामा संसद् भवन बन्न लागेको हो। १५ वर्षअघि नै संसद्को भवन निर्माणको योजना अगाडि सारे पनि हाल आएर मात्र निर्माणको काम अगाडि बढेको हो। शहरी विकास तथा भवन निर्माण विभागले अन्तर्राष्ट्रिय मापदण्डअनुसार भवनको डिजाइन गरेको छ।

आधुनिक र प्रविधिमैत्री संसद् भवन १ सय ७३ रोपनी ८ आना क्षेत्रफलमा फैलिनेछ। ५ अर्ब २६ करोडमा निर्माण हुन लागेको संघीय संसद् भवन निर्माण भएपछि संसदीय समिति, संसदीय दलको कार्यालय, संसद् सचिवालय एउटै भवनबाट सञ्चालन हुनेछ। शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले तीन वर्षभित्र संघीय संसद् भवन निर्माणको काम सम्पन्न गर्ने गरी काम अगाडि बढाइने बताए ।

उनले भने– ‘समयभित्र नै भवन सम्पन्न गर्ने अथक प्रयास हुनेछ, सबैबाट साथ र सहयोगको अपेक्षा गरेका छौं।’ उनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार ठूलो लगानीमा संसद् भवन निर्माण हुन लागेको बताए । संसद् भवन परिसरभित्र प्रतिनिधिसभा भवन, राष्ट्रिय सभा भवन, अति विशिष्ट व्यक्तिहरूको कार्यालय भवन, पुस्तकालयरसंग्रहालय, संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन, संसदीय सचिवालयको भवन, चमेना गृह, प्रेसरछपाइ भवन र ७ सयवटा सवारीसाधन पार्किङ तथा सुरक्षाकर्मीको भवन रहनेछ।

शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत रहेको विशेष भवन निर्माण एकाइका सीडीई प्रकीर्ण तुलाधरले मुख्य गुरुयोजनालाई चारवटा क्षेत्रमा विभाजन गरिएको बताए । उनका अनुसार भवन क्षेत्र, खुला क्षेत्र, पार्किङ क्षेत्र र सडक पूर्वाधार क्षेत्र गरी विभाजन गरिएको छ। भवन क्षेत्रले २७ प्रतिशत र हरियाली क्षेत्रले ४५ प्रतिशत क्षेत्र ओगट्ने बताउँदै उहाँले भवनको मूलढोका दक्षिणतर्फ रहने गरी डिजाइन गरिएको जानकारी दिए ।

भवनभित्र प्रवेश गर्न अति आधुनिक सुरक्षा प्रविधिबाट जाँच गरेर मात्र भित्र प्रवेश गर्ने व्यवस्था मिलाइएको छ। संसद् भवन परिसरमा बन्ने सबै भवनको वास्तुकला तथा डिजाइन काठमाडौंको स्थानीय वास्तुकला झल्कने गरी निर्माण गरिने जानकारी दिँदै तुलाधरले भवनहरू बढीमा तीन तलाको हुनुका साथै संसदीय दलको भवन र कार्यालय भवन भने पाँच तलाको हुने बताए ।

संसद् भवन परिसरभित्र हरियाली चौर, पानीको फोहोरा, सार्वजनिक खुला चौर रहनेछ भने आपत्कालीन विशेष अवस्था, भूकम्प, आगलागीलाई ध्यानमा राखेर इन्जिनियरिङ डिजाइन गरिएको तुलाधरले बताए । दक्षिण मुख्य प्रवेशद्वारको बायाँतर्फ संसद्को तल्लो सदन प्रतिनिधिसभाको बैठक बस्ने ठूला हल हुनेछ भने प्रवेशद्वारको दायाँतर्फ संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक बस्ने हल हुनेछ।

प्रतिनिधिसभाको भवनमा चार सय सांसद, सभामुखको कार्यकक्ष, तीन सय जना दर्शक आगन्तुक पाहुना अट्ने गरी डिजाइन गरिएको छ। प्रतिनिधिसभाको हलमा नौ सय जना र राष्ट्रिय सभाको हलमा तीन सय जना अटाउने गरी निर्माण हुनेछ। यसैबीच सिंहदरबारभित्र निर्माण हुन लागेको संघीय संसद् भवनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने भएको छ ।

सिंहदरबारस्थित पुतली बगैँचामा निर्माण हुन लागेको संघीय संसद् भवनको शिलान्यास प्रधानमन्त्रीबाट हुने शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले बताए । दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि प्रधानमन्त्री ओलीले संसद् भवन निर्माण गर्ने घोषणा गर्नुभएको थियो। झन्डै १९ महिनापछि उनले संसद् भवनको शिलान्यास गर्न लागेका हुन ।

सिंहदरबारस्थित संसद् भवनमा ठाउँ अपुग भएपछि सरकारले बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई २०६४ सालको पहिलो संविधानसभा निर्वाचनबाट संसद् भवनका रूपमा प्रयोग गर्र्दै आएको छ। संसद्को आफ्नै भवन नहुँदा एक दशकभन्दा बढी समयदेखि भाडामा चलाइँदै आएको थियो। संसद् सचिवालयले वार्षिक करिब १५ करोड अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडा बुझाउँदै आएको छ । समाचार नेपाल समाचारपत्र दैनिकबाट