• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

सरकारी गाडीको दुरुपयोग, यातायातमन्त्रीसँग आठ गाडी



काठमाडौं । खर्च कटौती र मीतव्ययी नीति अँगालेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका कतिपय मन्त्रीले सरकारको नीतिलाई नै उल्लंघन गरेका छन् । विकास र समृद्धिको मुख्य नारा बोकेको वर्तमान सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले करोडौं मूल्यका आधा दर्जनभन्दा बढी सरकारी गाडीको दुरुपयोग गरेको पाइएको छ ।

ती सरकारी गाडी श्रीमतीदेखि ज्वाइँ तथा नातेदारबाट दुरुपयोग हुँदै आएको छ । मन्त्रीले हालै मात्र विलासी गाडी झिकाएका छन् भने क्वार्टर र गृह जिल्ला जनकपुरका लागि छुट्टाछुट्टै गाडी स्ट्यान्डबाई अवस्थामा राखेका छन् । सरकारले २५ वैशाख २०७५ को मन्त्रिपरिषद् बैठकबाट सार्वजनिक खर्चमा मीतव्ययिता र प्रभावकारिता कायम गर्नेसम्बन्धी नीतिगत मार्गदर्शन २०७५ जारी गरेको थियो ।

मार्गदर्शनको बुँदा नम्बर दुईमा उच्चपदस्थ पदाधिकारीहरू आफैं मर्यादित, मीतव्ययी एवं उदाहरणीय रूपमा प्रस्तुत भई अनुकरणीय कार्यशैली प्रस्तुत गर्ने उल्लेख छ । मन्त्री महासेठले भने सरकारकै नीतिविपरीत मनलाग्दी काम गरिरहेको पाइएको छ । मार्गदर्शनको बुँदा नम्बर १३ मा स्वीकृत मापदण्डबमोजिम बाहेक सरकारी सवारी साधनमा निजी नम्बर प्लेट नराख्ने र सरकारी सवारी साधन अनधिकृत व्यक्तिले प्रयोग नगर्ने उल्लेख छ ।

मन्त्री महासेठले भने सरकारी सवारीलाई निजी बनाएको र परिवारका सदस्यलाई समेत शक्ति र पहुँचको दुरुपयोग गरेर गाडी प्रयोग गर्न दिइरहेका छन् । मन्त्री महासेठका स्वकीय सचिव उज्ज्वल सिंहले गाडी दुरुपयोगबारे स्पष्ट प्रतिक्रिया दिन सकेनन् । उनले सुरुमा गाडी दुरुपयोगबारे आफूलाई थाहा नपाएको बताए पनि पुनः मन्त्रीसँग दुईवटा गाडी भएको बताए । ‘एउटा गृहले दिएको छ । त्यसबाहेक एउटा मात्र छ । गृहले दिएको गाडी विशेष बेला मात्र प्रयोग गर्ने कुरो भयो, अर्को उहाँ (मन्त्री)ले प्रयोग गरिरहनुभएको छ,’ उनले भने, ‘यो विषयमा उहाँ (मन्त्रीसँगै) कुरा गर्नुहोस्, अहिले भइगयो ।’

मन्त्री महासेठ र उनको परिवारको कब्जामा मात्र करोड बढी मूल्यका हाल पाँचवटा सरकारी गाडी छन् भने सचिवालयमा तीनवटा छन् । बा२झ १०७० नम्बरको मित्सुबिसी पजेरो मन्त्रिपत्नीले प्रयोग गर्ने गरेकी छन् । मन्त्रालय स्रोतका अनुसार करोड बढी मूल्यको सो गाडी मन्त्री महासेठले सडक विभागलाई दबाब दिएर झिकाएका हुन् । सडक विभागमार्फत नै झिकाएको बा२झ २२१५ नम्बरको फोर्ड इन्भेटर भने प्रदेश नम्बर हालेर प्राइभेट बनाई पारिवारका सदस्यबाट दुरुपयोग भइरहेको स्रोत बताउँछ ।

मन्त्री नियुक्त भएपछि गृह मन्त्रालयले उपलब्ध गराएको बा२झ १०८९ नम्बरको कार भने मन्त्रीले क्वार्टरमा थन्काएका छन् । उनले सरकारी सुविधा लिने गरे पनि हाल केही महिनाअघि मात्रै सडक विभागलाई दबाब दिएर किन्न लगाएको बा२झ ४८६२ नम्बरको विलासी टोयटा ल्यान्डकुजर चढ्दै आएका छन् । त्यसको मूल्य नेपाली बजारमा २ करोड बढी पर्ने बताइएको छ । गत ११ भदौमा बानेश्वरमा यही गाडी जथाभावी रूपमा सडकपेटीमा पार्किङ गरेर राखेपछि ट्राफिक प्रहरीले ह्वील लक गरेको थियो ।

चालकलाई जरिवाना तिराएर गाडी छुटेको थियो । देशकै सडक र पूर्वाधारसम्बन्धी मेरुदण्ड मानिने मन्त्रालय सम्हालेका मन्त्री महासेठले घर जाँदा चढ्ने गाडी पनि छुट्टै झिकाएर गृह जिल्ला पुर्याएका छन् । परिवारका लागि सरकारी गाडीलाई प्राइभेट मन्त्रीका गृह जिल्ला र क्वार्टरमा छुट्टाछुट्टै गाडी स्टान्डबाई मन्त्रिपत्नीलाई झिकाइयो अलग्गै गाडी स्रोतका अनुसार जनकपुरमा उनले बा२झ ४०२ ९ नम्बरको टायोटा फचर्नु र राखेका छन् ।

त्यो गाडी पनि नातेदार तथा परिवारका सदस्यबाट दुरुपयोग हुने गरेको छ । मन्त्रीले आफ्नो सचिवालयमा पनि छुट्टै तीनवटा सवारी झिकाएका छन् । उनको सचिवालयले बा२झ ११०१ र बा२ झ १३९८ नम्बरको कार प्रयोग गर्दै आएका छन् । सचिवालयका लागि बा२झ ३४४५ नम्बरको पिक अप पनि प्रयोग हुँदै आएको छ । यान्त्रिक महाशाखाले भने सचिवालयका लागि दुईवटा सवारी उपलब्ध गराइएको बतायो ।

‘मन्त्रीहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०४९ (संशोधन २०७४)’मा मन्त्रीले ‘सवारीका निमित्त एक मोटर, मासिक २३० लिटर पेट्रोल र त्रैमासिक रूपमा पाँच लिटर मोबिल’ मात्र पाउने
उल्लेख छ । प्रधानमन्त्री ओलीले पदभार ग्रहण गरेलगत्तै आफ्नै सचिवालयमा भारी मात्रामा कटौती गरेका थिए भने मीतव्ययी निर्देशिका नै जारी गरेका थिए । तर, यही सरकारका मन्त्रीले भने सरकारको नीतिलाई पटक–पटक उल्लंघन गर्दै आइरहेका छन् । समाचार राजधानी दैनिकबाट