१८ श्रावण २०८३, सोमबार
,
Latest
भेरी अस्पतलामा दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान मेसिन सञ्चालन ​नार्पाभूमि गाउँपालिकामा बेरुजु ‘शून्य’ : वित्तीय अनुशासन र सुशासनको उदाहरणीय सफलता मनाङकाे नार्पाभूमि गाउँपालिकामा बेरुजु शून्य, वित्तीय अनुशासनको उदाहरणीय सफलता भेरी अस्पतलामा दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान मेसिन सञ्चालन दुर्गा प्रसाईंविरुद्ध ३ मुद्दामा अनुसन्धान गर्न ७ दिनको म्याद माग नेपाल राष्ट्र बैंक ऐनमा ‘डिजिटल करेन्सी’ समेटिने, क्रिप्टोले कानुनी मान्यता नपाउने नेपाल उद्योग वाणिज्य महासङ्घका थप तीन विषयगत समिति गठन सेवाग्राहीसँग घुस मागेको आरोपमा वन कार्यालय प्रमुखविरुद्ध मुद्दा सशस्त्र प्रहरीद्वारा अवैध सामान बरामद ‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनशक्ति र प्रविधि अभावमा साइबर अपराध अनुसन्धान चुनौतीपूर्णः गृहसचिव श्रेष्ठ



अ+ अ-

काठमाडौं । गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले आवश्यक जनशक्ति, आधुनिक प्रविधि तथा स्रोत–साधनको अभावमा साइबर अपराधको अनुसन्धान र नियन्त्रण प्रभावकारी रूपमा गर्न नसकिएको बताउनुभएको छ ।

सोमबार प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा आयोजित साइबर सुरक्षासम्बन्धी छलफलमा गृहसचिव श्रेष्ठले साइबर अपराधका घटना प्रत्येक वर्ष बढ्दै गए पनि अनुसन्धान गर्ने निकायसँग पर्याप्त जनशक्ति र प्रविधि नहुँदा नागरिकलाई समयमै गुणस्तरीय सेवा दिन नसकिएको स्वीकार गर्नुभयो ।

उहाँले सामाजिक सञ्जालको प्रयोग बढेसँगै साइबर अपराधसम्बन्धी उजुरीसमेत तीव्र रूपमा बढिरहेको बताउनुभयो । साइबर अपराधका उजुरी अनुसन्धानका क्रममा प्राविधिक प्रक्रिया र कानुनी नियमनका कारण अपेक्षाभन्दा बढी समय लाग्ने गरेको उहाँको भनाइ छ ।

‘सोसल मिडियाको प्रयोग बढ्दो छ । साइबर रिलेटेड केसहरू हरेक वर्ष बढिरहेका छन् । तर, हामीसँग यसको अनुसन्धान गर्ने पर्याप्त जनशक्ति र प्रविधि छैन । त्यसैले हामीले चाहेर पनि छिटो र गुणस्तरीय सेवा दिन सकेका छैनौँ,’ उहाँले भन्नुभयो ।

गृहसचिव श्रेष्ठले साइबर अपराध नियन्त्रणका लागि कानून निर्माण र नियमन मात्र पर्याप्त नहुने बताउँदै संघ, प्रदेश र स्थानीय तहका सरकारी निकाय, शैक्षिक संस्था, सामाजिक संघसंस्था तथा नागरिक सबैको साझा जिम्मेवारी आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँका अनुसार साइबर अपराध न्यूनीकरणका लागि कानून कार्यान्वयन गर्नुपर्ने अवस्था नै आउन नदिने गरी जनचेतना अभिवृद्धि गर्नु अझ प्रभावकारी उपाय हो । सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो अधिकारप्रति सजग भए पनि त्यससँगै जोडिएको कर्तव्य र जिम्मेवारीप्रति पर्याप्त सचेत हुन नसक्दा साइबर अपराधका घटना बढिरहेको उहाँले बताउनुभयो ।

सामाजिक सञ्जालबाट सूचना प्राप्त गर्नु र प्रयोग गर्नु नागरिकको अधिकार भए पनि त्यसको प्रयोग गर्दा आफू कत्तिको जिम्मेवार बन्नुपर्छ भन्ने विषयमा पनि समान रूपमा सचेतना आवश्यक रहेको उहाँको भनाइ छ ।

गृहसचिव श्रेष्ठले सामाजिक सञ्जालको उचित व्यवस्थापन तथा साइबर अपराध र स्क्यामसम्बन्धी विषयको प्रभावकारी नियमन हुन नसके राष्ट्रिय सुरक्षामाथिको चुनौती थप गम्भीर बन्ने चेतावनीसमेत दिनुभयो ।

उहाँले आगामी दिनमा राष्ट्रिय सुरक्षा सुदृढ बनाउन साइबर सुरक्षालाई प्रमुख प्राथमिकताका रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै प्रभावकारी नियमनसँगै अनुसन्धान गर्ने निकायको जनशक्ति, प्रविधि र क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो ।