१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदको अवरोध हट्यो, सरकारले गर्यो कारबाही गर्ने प्रतिवद्धता



अ+ अ-

काठमाडौं । सरकारले बाँके घटनामा संलग्नहरुलाई कारबाही गर्ने प्रतिवद्धता जनाएसंगै संसद अवरोध हटेको छ ।

संसदको बैठक सुरु हुनासाथ विशेष समय लिदै प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले बाँके घटनामा संलग्नहरुलाई करबाही गर्न किटानी जाहेरी दिएको चार दिन भइसक्दा पनि कारबाही नभएको बताए । यसले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र सरकारको संरक्षणमा घटनामा संलग्नहरुलाई लुकाइँदैछ भन्ने आशंकालाई बल पुगेको भन्दै उनले भने, ‘घटनाको सही छानविन होस्, दोषीहरुमाथि कारबाही होस् । हामी सरकारको जवाफी चाहन्छौं ।’

लगतै सरकारका तर्फबाट कानूनमन्त्री भानुभक्त ढकालले संसदमा गृहमन्त्रीले सम्बोधन गरेको र शीर्ष नेताहरुबीच भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली स्वयंमले दोषीलाई कारबाही गर्ने बचन दिएको स्मरण गराउँदै उनले भने, ‘कारबाहीका लागि दिएको निवेदन दर्ता भएको छ । त्यसमा छानविन गरेर जो संलग्न छन्, उनीहरुलाई कानुनी दायरामा ल्याउने विश्वास दिलाउन चाहन्छु ।’ गल्ती नगरेका कोही नफस्ने र गल्ती गरेरकाहरु कारबाहीको दायरामा आउने उनले बताए ।

कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तरगत बाँकेको खुजारा नगरपालिका २ सीतापुरमा २५ भदौमा भएको कार्यक्रममा नेकपा कार्यकर्ताले आक्रमण गर्दा बाँके सभापति किरण कोइरालाको हात भाँच्चिएको थियो । प्रहरीले सुरुमा जाहेरी दर्ता गर्न मानेको थिएन ।

यसलाई लिएर कांग्रेस संसद अवरुद्ध गरेपछि जाहेरी दर्ता भयो । त्यसपछि कांग्रेस संसद सुचारु गर्न सहमत भएको थियो । तर, सत्तारुढ नेकपाकै सांसदले वडाध्यक्ष मल्ल निर्दोष भएको र उनीमाथि कारबाही गरिए स्वीकार्य नहुने बताएपछि सोमबार नै सुचारु भइसकेको संसद फेरि अवरुद्ध हुन पुगेको थियो ।