काठमाडौँ। इजरायलले आईतवार बिहान गजा पट्टीका विभिन्न स्थानमा गरेको हवाई आक्रमणमा परी दुई बालबालिकासहित ९ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।
इजरायली सेनाले यस साताको अन्त्यमा हमासका दुई कमाण्डरहरूलाई समेत मारेको दाबी गरेको छ । गजाको नागरिक प्रतिरक्षा बलका प्रवक्ता महमुद बासलकाअनुसार इजरायली लडाकु विमानहरूले आईतवार बिहानैदेखि आवासीय भवनहरूलाई निशाना बनाएका थिए ।
आक्रमणमा परी गजा शहरमा एकै परिवारका श्रीमान्, श्रीमती र एक बच्चाको मृत्यु भएको छ । यस्तै, दक्षिणी गजाको अल–मवासीमा एक बालबालिकासहित तीन जना र मध्य गजाको देर अल–बलाहमा एक वृद्ध दम्पतीले ज्यान गुमाएका छन् ।
यसैबीच, इजरायली सेनाले आईतवार एक विज्ञप्ति जारी गर्दै हमासका कमाण्डरहरू मोहम्मद अब्द अल–नासिर मोहम्मद खतिब र सलिम जमाल अब्द अल–रहमान अबु लाबाद मारिएको पुष्टि गरेको छ ।
खतिब शुक्रवार र लाबाद शनिवारको कारबाहीमा मारिएको सेनाको दाबी छ । युद्धका कारण गजामा आवास संकट ‘विपत्तिजनक’ स्तरमा पुगेको छ ।
हमासद्वारा सञ्चालित सार्वजनिक निर्माण तथा आवास मन्त्रालयका अनुसार गजाका करिव ४ लाख १० हजार आवास गृहहरू पूर्ण रूपमा ध्वस्त भएका छन् वा बस्न नमिल्ने अवस्थामा पुगेका छन् ।
मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार ३ लाख ५० हजारभन्दा बढी परिवारलाई तत्काल सुरक्षित आश्रयको आवश्यकता छ ।
तीमध्ये करिव १ लाख ५० हजार परिवार आधारभूत सुविधाहरू समेत नभएका जीर्ण पालहरूमा कष्टकर जीवन बिताउन बाध्य भएको बताइएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल











