३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

मिड–भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता

मिड–भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता
अ+ अ-

काठमाडौं । मिड–भ्याली इन्टरनेसनल कलेजले आयोजना गरेको दुईदिने ‘बिल्ड नेपाल ह्याकाथन २०२६ ’मा ग्रामीण क्षेत्रमा बढ्दो बाँदर आतंकबाट किसानका बाली जोगाउने प्रविधिमा आधारित समाधान प्रस्तुत गर्ने ‘इनोभिजा’ समूह विजेता बनेको छ।

‘बिल्ड टुडे, ट्रान्सफर्म टुमोरो’ नारासहित शनिबार र आइतबार (अगस्ट १ र २) काठमाडौंकाे मिड–भ्याली इन्टरनेसनल कलेजमा आयोजित ह्याकाथनमा सनवे कलेजका विद्यार्थी समृद्धि डुम्रे, ग्रिस्मा कार्की, प्राची मगर र प्रिन्स केसी सम्मिलित चार सदस्यीय ‘इनोभिजन’ समूहले ग्रान्ड प्राइज जित्दै ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको हो।

ग्रामीण क्षेत्रमा पछिल्लो समय बढ्दै गएको बाँदर आतंकका कारण किसानले भोगिरहेको समस्या समाधान गर्ने उद्देश्यले समूहले प्रविधिमा आधारित समाधान प्रस्तुत गरेको थियो।

त्यस्तै, यातायात क्षेत्रलाई डिजिटल प्रविधिमार्फत व्यवस्थित बनाउने अवधारणा प्रस्तुत गरेको मिड–भ्याली इन्टरनेसनल कलेजका विद्यार्थी सम्मिलित ‘सेन्टिनाज’ समूह रनरअप बनेको छ। शिशिर न्यौपाने, स्वीकृति तिमिल्सिना र आदित्य भण्डारी सम्मिलित समूहले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।

मिड–भ्याली इन्टरनेसनल कलेजको आयोजनामा भएको ह्याकाथनमा २१ वटा बहुविषयगत टोलीमा विभाजित ६० भन्दा बढी युवाको सहभागिता थियो। १६ देखि २४ वर्ष उमेर समूहका सहभागीले कृत्रिम बौद्धिकता (एआई), इन्टरनेट अफ थिङ्स (आईओटी), रोबोटिक्स तथा क्लाउड प्रविधिको प्रयोग गर्दै नेपालका वास्तविक समस्या समाधानमा केन्द्रित कार्यात्मक नमुना तथा न्यूनतम व्यवहार्य उत्पादन (एमभीपी) तयार गरेका थिए।

ह्याकाथनमा स्मार्ट सिटी, स्मार्ट कृषि, शिक्षा तथा सिकाइ, पर्यटन तथा सम्पदा, साइबर सुरक्षा र डिजिटल अर्थतन्त्र गरी छवटा विषयगत क्षेत्रमा नवीन समाधान विकास गर्न सहभागी टोलीबीच प्रतिस्पर्धा भएको थियो।

मिड–भ्याली इन्टरनेसनल कलेजकी प्रबन्ध निर्देशक रीतल राणाले ह्याकाथनमा सहभागी सबै विद्यार्थीलाई धन्यवाद दिँदै पछिल्लो समय नयाँ–नयाँ प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेको बताइन्। उनले विद्यार्थीमा नयाँ विचार भए पनि त्यसलाई प्रस्तुत गर्न नसक्दा त्यसको प्रभाव सीमित हुने भन्दै यस्ता कार्यक्रममार्फत आफ्ना विचार र सिर्जनशीलता सार्वजनिक गर्नुपर्ने बताइन्।

‘विद्यार्थीको दिमागमा जति राम्रो आइडिया भए पनि त्यसलाई प्रस्तुत गर्न सकेन भने त्यसको सदुपयोग हुन सक्दैन,’ उनले भनिन्, ‘यस्ता कार्यक्रममार्फत आइडिया र प्रविधि सार्वजनिक गर्न सके त्यसबाट धेरै मानिस र परिवार लाभान्वित हुन सक्छन्।’

कार्यक्रममा अल्फा बिटाका प्रमुख सुभाष थापाले विद्यार्थीलाई आगामी दिनमा आवश्यक पर्ने परामर्श तथा काउन्सिलिङमा आफूहरूको तर्फबाट सहयोग रहने बताए। उनले युवाको डिजिटल सीप र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

त्यस्तै मिड–भ्याली इन्टरनेसनल कलेजका ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रमका प्रबन्धक सुदीपलाल बजिमयाले सैद्धान्तिक ज्ञान र व्यावहारिक प्रयोगबीचको दूरी कम गर्नु ह्याकाथनको मुख्य उद्देश्य रहेको बताए।

उनले विभिन्न २१ वटा टोलीमा सहभागी विद्यार्थीले दुई दिनसम्म आफ्ना विचार, सीप र सिर्जनशीलतालाई व्यवहारमा उतार्दै विभिन्न एप्लिकेसन तथा प्रविधिमा आधारित उत्पादन विकास गरेको बताए। सूचना प्रविधि क्षेत्रका विभिन्न कम्पनीबाट आएका विज्ञ तथा मेन्टरले सहभागी टोलीलाई प्राविधिक र व्यावहारिक पक्षमा प्रत्यक्ष मार्गदर्शन गरेको उनले जानकारी दिए।

बजिमयाले पछिल्लो समय एआईको प्रयोग तीव्र रूपमा बढिरहेको र ह्याकाथनमा सहभागी अधिकांश टोलीले एआईसँग सम्बन्धित परियोजना प्रस्तुत गरेको उल्लेख गर्दै नेपालको शिक्षा प्रणाली र पाठ्यक्रममा पनि एआईलाई प्राथमिकताका साथ समेट्नुपर्ने बताए।

‘आजका विद्यार्थीले विकास गरेका परियोजनाले एआई अहिले कुन स्तरमा प्रयोग भइरहेको छ र नेपालमा यसको आवश्यकता कस्तो छ भन्ने देखाएको छ,’ उनले भने, ‘सरकारले पनि यस्ता प्रविधिमा आधारित समाधानलाई प्राथमिकता दिँदै शिक्षा र पाठ्यक्रममा एआईलाई समावेश गर्न तथा विद्यार्थीले विकास गरेका उपयोगी प्रविधिलाई कार्यान्वयनमा लैजान पहल गर्न आवश्यक छ।’

उनले नेपालको आगामी दशकको विकासमा युवा नवप्रवर्तकको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उद्योग क्षेत्रका अनुभवी विज्ञसँग प्रत्यक्ष सहकार्य गर्ने अवसरले युवालाई देशका वास्तविक समस्या समाधान गर्न सक्ने प्रविधिमा आधारित समाधान विकास गर्न सहयोग पुग्ने बताए।

ह्याकाथनका निर्णायक तथा टेक उद्यमी एवं सिटीटेकका संस्थापक साजन शर्माले विद्यार्थीहरूले प्रस्तुत गरेका परियोजना निकै राम्रो र उत्कृष्ट रहेको बताए। उनले पछिल्लो समय एआईको प्रयोग तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै विद्यार्थीले प्रविधिको बदलिँदो स्वरूपअनुसार आफूलाई थप सक्षम बनाउनुपर्नेमा जोड दिए।

‘विद्यार्थीका लागि अहिले विभिन्न क्षेत्रमा अवसर सिर्जना भइरहेका छन्,’ शर्माले भने, ‘ती अवसर प्राप्त गर्न एआईलगायत नयाँ प्रविधिमा आफूलाई तयार राख्न आवश्यक छ।’

त्यस्तै, आईएमई खल्ती लिमिटेडका सहसंस्थापक तथा निर्देशक अमित अग्रवालले नयाँ उत्पादन तथा विचार विकास गर्दा परम्परागत ढर्राभन्दा फरक ढंगले सोच्न विद्यार्थीलाई आग्रह गरे। उनले कुनै पनि समस्याको वास्तविक कारणसम्म नपुगी समाधान खोज्दा अपेक्षित सफलता प्राप्त गर्न नसकिने बताए।

‘कुनै पनि समस्याको रुट कजसम्म पुगेर समाधान खोज्नुपर्छ। समस्याको वास्तविक कारण पहिचान नगरेसम्म त्यसको दीर्घकालीन समाधान सम्भव हुँदैन,’ अग्रवालले भने। उनले विद्यार्थीलाई नयाँ सोच, नवप्रवर्तन र व्यावहारिक समाधान विकासमा निरन्तर लाग्न आग्रह गरे।

ह्याकाथनका क्रममा सूचना प्रविधि क्षेत्रका आठ जना विज्ञ तथा मेन्टरले सहभागी टोलीलाई प्रत्यक्ष मार्गदर्शन गरेका थिए। प्रोशोर, पिनाकिन टेक्नोलोजिज र जेनेसेलगायतका आईटी कम्पनीका विज्ञले सहभागीलाई प्राविधिक तथा व्यावहारिक पक्षमा आवश्यक सहयोग र परामर्श दिएका थिए।

अन्तिम दिन सहभागी टोलीले आफूले तयार पारेका न्यूनतम व्यवहार्य उत्पादन (एमभीपी) निर्णायकमण्डलसमक्ष प्रस्तुत गरेका थिए। अन्तिम प्रस्तुतिको मूल्याङ्कन साजन शर्मा, बीएलसी ग्लोबल होल्डिङ्स प्रालिका प्रबन्ध निर्देशक तथा ग्लोबल इक्विटी फन्डका अध्यक्ष मनिष खेम्का र आईएमई खल्ती लिमिटेडका सहसंस्थापक तथा निर्देशक अमित अग्रवालले गरेका थिए।

कार्यक्रममा अल्फा बिटा, जेनेसे, भायानेट, दामी एक्सपिरियन्स, पिनाकिन टेक्नोलोजी र प्रोशोर नेपाल प्रालिलगायतका संस्था तथा प्रविधि क्षेत्रका साझेदारको सहयोग रहेको आयोजकले जनाएको छ।

मिड–भ्याली इन्टरनेसनल कलेजले आयोजना गरेको ह्याकाथनले युवाको नेतृत्वमा डिजिटल नवप्रवर्तनलाई प्रोत्साहन गर्दै नेपालका वास्तविक समस्या समाधानका लागि प्रविधिमा आधारित व्यावहारिक समाधान विकास गर्ने उद्देश्य लिएको थियो। कलेजले यस्ता कार्यक्रमले विद्यार्थीको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक सीप र उत्पादनमा रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ।

काठमाडौंको ज्ञानेश्वरमा रहेको मिड–भ्याली इन्टरनेसनल कलेजले सूचना प्रविधि, व्यवस्थापन तथा हस्पिटालिटीसम्बन्धी स्नातक तहका कार्यक्रम सञ्चालन गर्दै आएको छ । कलेजले व्यावहारिक तथा उद्योगमैत्री शिक्षामार्फत विद्यार्थीलाई प्रविधि, नेतृत्व र नवप्रवर्तनका क्षेत्रमा अघि बढाउने लक्ष्य लिएको जनाएको छ ।