• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   एसइईमा सामुदायिकतर्फ भिमाद जलौदीको बाल शैक्षणिक मावि जिल्लामै प्रथम ★   विदेशमा रहेका नेपालीहरूको हितरक्षाका लागि विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ: प्रधानमन्त्री ★   नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ★   रोहितले द्रविडलाई भनेका थिए – कोचिङ जारी राख्नुहोस् ★   संसदमा साङ्केतिक भाषाको दोभासे राख्न माग ★   आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो ★   प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल ★   विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक ★   सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी ★   मनाङको बाटो सधैँ जोखिमपूर्ण

सुपादेउरालीमा पुगेपछि गाडीको स्टार्ट किन ‘बन्द’ हुन्छ ? यस्तो छ कारण



अर्घाखाँची । अर्घाखाँची जिल्लामा पर्ने पश्चिम नेपालको प्रख्यात सुपादेउराली मन्दिर अगाडि पुगेपछि गाडीको गति रोकिन्छ र इन्जिन बन्द हुन्छ । अर्घाखाँचीको नरपानीमा पर्ने सुपादेउराली मन्दिर अगाडी पुगेपछि सबै गाडीले रोकेर मन्दिरको दर्शन गर्छन् । हतार नै रहेछ भनेपनि चालकले गाडीको चाबी निकालेर स्टार्ट बन्द गर्छन् अनि गाडीबाटै दर्शन गरेर मात्र आफ्नो गन्तव्यमा लाग्छन् ।

किंवदन्ति अनुसार एक जना बाटो हिँड्ने युवकले ‘देवी, म सेनामा भर्ती हुन पाऊँ, छुट्टीमा पहिलोपटक फर्की आउँदा एकतोला सुन चढाउनेछु,’ भनी भाकल गरेको थियो । देवीको भाकल अनुसार ऊ भर्ती पनि भयो । केही समयपछि लाहुरे छुट्टीमा फर्कियो । लाहुरेले सुन ल्याउन भुलेछ र बाटो छलेर जान लाग्दा देवीको शक्तिका कारण लाहुरे आफैँ भित्तामा टाँसिएको किंवदन्ति छ ।

मन्दिर नजिकको पहरामा पछि लाहुरेको नक्सा र उसले बोकेको गुण्टाझैँ आकृति देख्न सकिन्छ । सो स्थानमा अहिले पनि ‘लाहुरे टाँसिएको भिर’ भनेर मन्दिर संरक्षण समितिले होर्डिङ बोर्ड नै राखेको छ ।

अहिले पनि सो बाटो भएर हिँड्ने गाडीले मन्दिरको दर्शन गरेर मात्र अघि बढ्ने गर्छन् । गोरुसिङ्गे–सन्धिखर्क चल्ने कुनै पनि सवारीका गाडीहरू यो मन्दिरमा भेटी नचढाइकन अगाडि बढ्दैनन् ।

सुपादेउराली दर्शनको लागि पश्चिम नेपालका गुल्मी, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान लगायत भारतबाट समेत दर्शनार्थीको भीड लाग्ने गर्दछ । ती जिल्लाहरूमा विवाह गरेपछि सुपादेउरालीको दर्शन गर्ने प्रचलन बढ्दै गएको छ ।

यसपटकको दशंैको समयमा दर्शनार्थीको भीडका कारण मन्दिर आसपासमा गाडी पार्किङको समस्या देखिएको थियो । मन्दिर भिरको टाकुरामा रहेको कारण सो स्थानमा पार्किङको समेत समस्या देखिएको छ ।

मुख्य मन्दिर नरपानीमा भएपनि अर्घाखाँचीकै बेलाहा र केरुङ्गामा सुपादेउरालीको शाखा मन्दिर स्थापना गरिएको छ । अर्घाखाँचीका अन्य गाविसमा पनि सुपादेउरालीका शाखा विस्तार गरिएको छ । बेलाहा भन्ने स्थानमा रहेको सुपा मन्दिरमा दशैको समयमा बलि चढाउनेको उत्तिकै भीड लाग्ने गर्छ ।

मन्दिरमा चढाएको बोकाको मासु नजिकै रहेको खोलो तरेर लैजान नहुने किंवदन्ति अनुसार पूजा गर्न आउनेहरू सोही स्थानमा ‘प्रसादका रूपमा’ मासु खाएर फर्किने गर्छन् ।

सुपादेउराली मन्दिरभित्र नवदुर्गा, महाकाली, महालक्ष्मी, महासरस्वती, शिवजी, गणेश, पाञ्चायन देवता, सिद्ध, झाँक्री लगायतका थुप्रै मूर्तीहरू छन् । सुपादेउरालीको दर्शन गर्दा आफुले चाहेको मनोकाक्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ ।