७ असार २०८३, आईतवार
,
Latest
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ट्युनिसियाविरुद्ध जापान ४–० गोलले विजयी योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउँछः मुख्यमन्त्री पाण्डे रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगे राप्रपा अध्यक्ष लिङ्देन रास्वपाको प्रथम महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह म्युनिसिपल कन्फरेन्समा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल इजरायल प्रस्थान रास्वपाको महाधिवेशनमा कांग्रेस सभापति गगन थापा सहभागी हुने एसइई उत्तरपुस्तिका व्यवस्थापनमा देखिएको त्रुटि छानबिन गर्न नेविसंघको माग बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २१ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब ट्रकको डाली छोपेर गाईगोरु ओसार्न नपाइने



अ+ अ-

झापा । झापा प्रहरीले ट्रकको डाली छोपेर गाईगोरु ओसार्न प्रतिबन्ध लगाएको छ । झापाका विभिन्न सीमावर्ती क्षेत्रबाट वर्षौँदेखि चलिरहेको गाईगोरुको तस्करी धन्दा रोक्न प्रहरीले यस्तो विशेष योजना अघि बढाएको हो ।

झापाको प्रहरीले मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङलगायतका क्षेत्रबाट गाईगोरुलाई ठूला ट्रकमा डाली छोपेर ओसारपसार गर्न र सिधैँ सीमावर्ती बजारमा लैजान बन्देज लगाएको हो । सीमाका बजारमा बिक्री गर्ने बहानामा खुला सीमाको फाइदा उठाउँदै गाईगोरु सिधैँ भारत पुर्याउने पहिल्यैदेखि चलेको तस्करी गतिविधि रोक्न त्यस्तो बन्देज लगाउनुपरेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले ठूला गाडीमा ल्याइएका गाईगोरुलाई दमक पशुहाटमा उतारेर साना गाडीमार्फत मात्र झापाका अरु बजारमा लैजान दिने व्यवस्था गरिएको बताए। गाईगोरु बोक्ने साना गाडीसमेत डाली खुला भएको हुनुपर्ने नियम लगाइएको छ । दमकलाई झापाको सबैभन्दा ठूलो पशुबजार मानिन्छ । त्यहाँबाट त्रिपालले डाली छोपिएका ठूला ट्रकमा गाईगोरु लोड गरेर खुला सिमाना कटाउँदै भारत तस्करी हुने गरेको स्थानीयवासीको भनाइ छ ।

तस्करीमा संलग्न व्यक्तिहरुले झापाको ज्यामिरगढी, भद्रपुर, पृथ्वीनगर, टाघनडुब्बा र गौरीगञ्ज सीमा क्षेत्रबाट गाईगोरु भारतको नक्सलबाडी, खोरीबारी, गलगलिया, कादोगाउँ र डिगल बैंक पुर्याउने गरेका छन् । स्थानीय बजारबाट लुकाइछिपाइ ल्याइएका गाईगोरुलाई चरनमा लैजाने बहाना गरी सीमावर्ती गाउँको सेल्टरमा थुपार्ने र प्रहरी प्रशासनको आँखा छलेर सीमापार गराउने तस्करी धन्दा अब रोकिने अपेक्षा गरिएको छ ।

गन्तव्य गलत बताएर ओसारपसार गरेको पत्ता लागेमा गाईगोरुलाई पूर्वपश्चिम राजमार्गबाट दक्षिणतर्फ लैजान पूर्णतः रोक लगाउन जिल्लाभरिका प्रहरी कार्यालयमा जिल्ला प्रहरी कार्यालय झापाले सर्कुलर पठाएको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कअनुसार २०७६ वैशाखदेखि भदौसम्मको पाँच महीना अवधिमा प्रहरीले १४८ गाईगोरु भारत तस्करी हुनलागेको अवस्थामा नियन्त्रणमा लिएर भन्सार बुझाएको छ । नियन्त्रणमा लिइएकामध्ये २९ गाईलाई भद्रपुर गौशालामा संरक्षणका लागि बुझाइएको प्रहरीको भनाइ छ ।