१४ श्रावण २०८३, बिहीबार
,
Latest
मधेसको सुरक्षा अवस्थाप्रति रास्वपा सांसद झाको चिन्ता, सरकारको सक्रियता पर्याप्त नभएको आरोप प्रदेश सरकार ‘सरकार’जस्ता नभई ‘ईकाई’ जस्ता भएः सिटौला स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउनु हुँदैनः अध्यक्ष दाहाल सरकार र डा. केसीबीचको सहमतिको विरोधमा निजी मेडिकल कलेजद्वारा रेसिडेन्ट चिकित्सकको स्टाइपेन्ड स्थगन मन्त्री यादवद्वारा शासकीय सुधारका १०० बुँदा कार्यान्वयनमा तीव्रता दिन निर्देशन सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु पूर्वराजा शाहद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, नेपालीलाई मिलेर बस्न आग्रह सामुदायिक तनाव र हिंसाप्रति पूर्वराष्ट्रपति भण्डारीको चिन्ता, संयमता अपनाउन आग्रह प्रतिनिधि सभा बैठक साउन १९ गतेसम्म स्थगित सुनसरीको घटनाको प्रभाव सिरहामा, दुई समूहबीच झडपपछि ११ भन्दा बढी मोटरसाइकलमा आगजनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनलाई प्रचण्डको सुझावः अहंकार त्याग्नुस्, नत्र दुर्भाग्य हुनेछ



अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुकका जटिल समस्या समाधानका लागि अनुभवी नेता तथा विज्ञहरूको ज्ञान र अनुभवलाई सरकारले आत्मसात गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै दाहालले देशका विभिन्न राजनीतिक उतारचढाव झेलेका तथा लोकतन्त्रका लागि लामो समय संघर्ष, जेलनेल, यातना र बलिदान भोगेका नेताहरूको अनुभव राष्ट्रको महत्वपूर्ण सम्पत्ति भएको बताउनुभयो ।

उहाँले सुशासन, सामाजिक न्याय र समृद्धिका लागि विगतका अनुभवबाट सिक्न सरकारलाई आग्रह गर्नुभयो । प्रधानमन्त्रीको कार्यशैलीप्रति प्रश्न उठाउँदै दाहालले ‘आफू मात्रै पर्याप्त छु’ भन्ने सोच र अहंकारबाट सरकार सञ्चालन भइरहेको भए त्यो मुलुकका लागि दुर्भाग्यपूर्ण हुने टिप्पणी गर्नुभयो ।

दाहालले भन्नुभयो, ‘नेपालमा विगतका अनेकौँ राजनीतिक उतारचढाव पार गरेका अनुभवी नेता, बुद्धिजीवी र विज्ञहरूको ठूलो पंक्ति छ । कठिन परिस्थितिमा देशलाई निकास दिने क्षमता भएका, सुशासन, सामाजिक न्याय र समृद्धिका लागि निरन्तर संघर्ष गरेका तथा लोकतन्त्रका लागि झन्डै ७० वर्षसम्म जेल, यातना र बलिदान सहेका नेताहरूको अनुभव हाम्रो सम्पत्ति हो ।’

उहाँले प्रधानमन्त्रीले अनुभवी नेताहरूसँग संवाद र सहकार्य गर्नुपर्ने बताउँदै आफूलाई पनि बोलाएर विगतमा भ्रष्टाचारविरुद्ध सुरु गरिएको अभियान र त्यसका चुनौतीबारे छलफल गर्न सकिने धारणा राख्नुभयो । ‘अनुभवबाट सिक्न किन हिचकिचाउनु ? यदि म आफैँ पर्याप्त छु, मलाई कसैको आवश्यकता छैन भन्ने अहंकारले यस्तो भइरहेको हो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ,’ दाहालले भन्नुभयो ।

नेपाली कांग्रेस, नेकपा (एमाले) लगायतका राजनीतिक दलसँग लामो राजनीतिक संघर्ष र शासन सञ्चालनको अनुभव रहेको उल्लेख गर्दै उहाँले ती अनुभव वर्तमान सरकारका लागि मार्गदर्शक र सहयोगी बन्न सक्ने बताउनुभयो ।

प्रतिपक्षलाई अवमूल्यन गर्ने, अपमानित गर्ने तथा संवादबाट टाढा रहने प्रवृत्तिले अन्ततः राष्ट्र, जनता र सरकारलाई नै संकटमा पार्न सक्ने दाहालको चेतावनी थियो । उहाँले सरकारलाई सबै राजनीतिक दल, वर्ग, तह र समुदायलाई समेटेर उदारतापूर्वक अघि बढ्न सुझाव दिनुभयो ।

‘जति उदारतापूर्वक सहकार्य गर्न सकियो, त्यति नै देश, जनता र सरकारकै हित हुन्छ,’ दाहालले भन्नुभयो, ‘सरकार जति संवादबाट टाढा जान्छ, प्रतिपक्षलाई अवमूल्यन वा अपमानित गर्छ अथवा समाजका कुनै वर्ग, तह वा समुदायलाई बेवास्ता गर्छ, त्यति नै राष्ट्र, जनता र हामी सबै अप्ठ्यारोमा पर्न सक्छौँ ।’