१४ आश्विन २०८१, सोमबार
,
Latest
फसेका दुई अन्तरिक्षयात्री लिन गएको यान अन्तरिक्ष स्टेशनमा जोडियो बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित साहासिक उद्दारकर्ता चणिकलाललाई बागमती सरकारले डेढलाख नगदसहित सम्मान गर्ने एनपिएलः सुदूरपश्चिमको लोगो र नाम सार्वजनिक प्राकृतिक विपत्तिबाट जनधनको क्षतिलाई न्यून पार्ने उपाय अपनाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह पठन संस्कृति विकासका लागि साझाको पुस्तक प्रदर्शनी जारी काठमाडौं उपत्यकामा दशैंको दुई दिन मात्रै पेट्रोल पम्प बन्द हुने चितवनमा साउनयता स्क्रब टाइफसबाट २२९ संक्रमित, एकको मृत्यु धादिङका प्रहरी प्रमुख पनि प्रधान कार्यालय तानिए बुधबारदेखि वर्षाको सम्भावना, कोशी प्रदेशमा भारी वर्षा हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जागिरपछि कुखुरापालन व्यवसाय



अ+ अ-

बागलुङ । कुनै बेला पशुको उपचारमा गाउँघर डुल्नुहुन्थ्यो प्रतिमान थापा । अचेल उहाँको दिनचर्या फेरिएको छ । ‘जेटिए’को परिचय व्यवसायीमा बदलिएको छ । सात वर्षको जागिरे जीवनपछि थापा अहिले कुखुरापालनमा लाग्नुभएको छ ।

काठेखोला गाउँपालिका–४ तङ्ग्रामका थापाले कुखुरापालन व्यवसाय शुरु गरेको चार महीना बित्यो । त्यसअघि थापाले दुई वर्ष तत्कालस्न जिल्ला पशु सेवा कार्यालय र पाँच वर्ष गैरसरकारी संस्थाको परियोजनामा ‘जेटिए’का रुपमा बिताउनुभयो । २९ वर्षीय थापाको ‘फार्म’मा अहिले स्थानीय ‘साकिनी’ जातका कुखुरा छन् । “जागिर छाडेर कुखुरापालनतिर लागेँ, सफल भइएला भन्ने आश छ”, उहाँले भन्नुभयो, “आफ्नै श्रम र लगानीमा आत्मनिर्भर बन्ने सोचले व्यवसाय रोजेँ ।”

कुखुरापालनका लागि थापाले बागलुङ नगरपालिका–३ रातामाटामा वार्षिक रु ६० हजारमा जग्गा भाडामा लिनुभएको छ । खोर निर्माण, चल्ला, दाना खरीदलगायत गरी रु आठ लाख लगानी भएको उहाँको भनाइ छ । “शुरुमा एक हजार चल्ला राखेँ, २६० जति बिक्री भए, केही चल्ला मरे”, थापाले भन्नुभयो ।

स्थानीय जातको कुखुरा महङ्गो पर्ने हुँदा बजारीकरणमा चुनौती रहेको उहाँको अनुभव छ । “सस्तो र धेरै पाइने हुँदा अहिले पनि उपभोक्ताको रोजाइ उन्नतजातकै कुखुरामा छ”, थापाले भन्नुभयो, “स्थानीय जातमा बानी पार्न समय लाग्छ ।” अन्य जातको भन्दा स्थानीय जातको कुखुराको मूल्य झण्डै दोब्बर छ । आउँदो एक वर्ष नाफा कमाउनेभन्दा पनि बजारीकरणमै बित्ने थापाको भनाइ छ ।

अहिले भएका कुखुराले अण्डा दिने समय भएकाले अण्डा र चल्ला बिक्रीबाट पनि थप आम्दानी हुनेछ । चल्ला उत्पादनका लागि ‘ह्याचरी मेसिन’ खरीद गर्ने तयारीमा थापा हुनुहुन्छ । स्थानीय जातको कुखुरा हुर्कन समय लाग्ने भएकाले पाँच महीनामा बेच्न योग्य हुन्छ ।

उन्नत जातका कुखुरालाई जस्तो नियमित भ्याक्सिन, औषधि खुवाउनु नपर्ने थापाको भनाइ छ । स्थानीय जातको कुखुरालाई खुला चरनसँगै गाउँघरकै गहुँ, मकै र भुसको दाना खुवाउने गरिएको छ । स्थानीय जातको कुखुरासँगै, टर्की, हाँसलगायतका पक्षीको व्यावसायिक पालन गर्ने योजना थापाको छ ।

थापालाई कुखुरापालनमा श्रीमती रुपाको दरिलो साथ छ । कुखुराको रेखेदेख, सुसारमा दुवै उत्तिकै खट्छन् । थापा दम्पतीका चार वर्षीय छोरा र दुई वर्षीया छोरी छिन् । कृषि उद्यमबाटै परिवारलाई आत्मनिर्भर बनाउने लक्ष्य थापाको छ ।