१२ श्रावण २०८३, मंगलवार
,
Latest
प्रदेश सभाको निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन सकिन्छः प्रश्तावित निर्वाचन आयुक्त वाग्ले निर्वाचन आयुक्तको कार्ययोजना मापनयोग्य र नतिजामुखी हुनुपर्छः दंगाल विदेशमा रहेका नेपालीलाई मतदानको अवसरदेखि ई–भोटिङसम्म, यस्ताे छ प्रस्तावित निर्वाचन आयुक्त वाग्लेको कार्ययोजना देवानगञ्ज हिंसाबारे निष्पक्ष छानबिन गर्न राप्रपाको माग, पीडितलाई न्याय दिन आग्रह निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउनु नै प्रमुख चुनौतीः उपनेता अर्याल गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही नेपाल–क्यानडा द्विपक्षीय परामर्श संयन्त्र बैठक यातायात कार्यालय विराटनगरद्वारा ४८ करोड ९८ लाखभन्दा बढी राजस्व सङ्कलन सुनसरीमा आज पनि भारी वर्षाको सम्भावना सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव बेचबिखनको प्रकृति बदलिँदो छ, सचेतनाका लागि कलाकारको भुमिका अपरिहार्यः हरिवंश आचार्य



अ+ अ-

काठमाडाैँ । वरिष्ठ कलाकार हरिवंश आचार्यले मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै गएको भन्दै यसका विरुद्ध व्यापक जनचेतना जगाउनुपर्नेमा जोड दिनुभएको छ ।

मङ्गलवार विश्व मानव बेचबिखन विरुद्धको दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मानव बेचबिखनको स्वरूप बदलिएको भन्दै यसका विरुद्ध व्यापक जनचेतना र राजनीतिक सुशासनको आवश्यक रहेको बताउनुभएको हो । आचार्यले विगत लामो समयदेखि आफूहरू कलाका माध्यमबाट मानव बेचबिखन विरुद्धको अभियानमा सक्रिय रहेको स्मरण गराउनु भयो ।

उहाँले ‘रातु’, ‘छोरी’ र ‘टीकेको तीन मन्तर’ जस्ता टेलिचलचित्र तथा विभिन्न गीतमार्फत सचेतना फैलाउँदै आएको जानकारी दिँदै हालको परिस्थिति झन् चुनौतीपूर्ण बनेको बताउनु भयो । उहाँले प्रविधिको विकाससँगै मोबाइल फोन र सामाजिक सञ्जालको दुरुपयोगले मानव तस्करहरूलाई थप सहज बनाएको र सर्वसाधारणलाई प्रलोभनमा पार्न सजिलो भएको उल्लेख गर्नुभयो ।

मुलुकको राजनीतिक अस्थिरता र बेरोजगारीका कारण युवाहरूमा विदेशिने मोह बढ्नु र त्यसैको फाइदा उठाउँदै तस्करहरूले सपना बाँड्नु दुःखद् भएको उहाँको ठम्याइ छ । कलाकार आचार्यले नक्कली भूटानी शरणार्थी प्रकरण जस्ता घटनालाई लक्षित गर्दै राजनीतिक नेतृत्वकै संलग्नतामा मान्छे बेचिनु अनैतिकताको पराकाष्ठा भएको टिप्पणी गर्नुभयो । उहाँले नयाँ राजनीतिक संस्कार र सोचका साथ अघि बढे मात्र यस्ता समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

आफ्नो सामाजिक उत्तरदायित्वबाट कहिल्यै पछि नहट्ने प्रतिवद्धता जनाउँदै आचार्यले अडियो–भिजुअल माध्यमबाट आगामी दिनमा पनि सचेतनाका कार्यक्रमहरूलाई निरन्तरता दिने बताउनु भयो । केही नकारात्मक तत्वहरूले कलाकारका सामाजिक कार्यलाई लिएर अनर्गल प्रचार गर्ने गरेको प्रति दुःख व्यक्त गर्दै उहाँले साइबर अपराध नियन्त्रणमा नेपाल प्रहरीले थप प्रभावकारी कदम चाल्नुपर्ने सुझाव दिनुभयो । –न्युज एजेन्सी नेपाल

 




भर्खरै