२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोत्र गाउँको घरबासमा पर्यटक वृद्धि



अ+ अ-

जुम्ला । जुम्ला गुठीचौर गाउँपालिका वडा नं १ चोत्र गाउँमा १५ घरधुरीबाट शुरु भएको घरबास (होमस्टे)मा अहिले आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गएका छन् । त्यहाँको घरबासमा अहिले दिनहुँ स्वदेशी र विदेशी पर्यटक पुग्ने गरेका छन् । गुणस्तरीय सेवा र आतिथ्य सत्कार गरी धेरै पर्यटक भित्रिने त्यो गाउँ घरबास गाउँका रुपमा विकसित भएको छ ।

गुठीचौर गाउँपालिकाको सहजीकरणमा घरबास स्थापना गरिएको हो । पन्ध्र घरधुरीबाट शुरु भएको घरबासलाई अहिले ५५ घरमा विस्तार गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्माले जानकारी दिनुभयो । जाजरकोट र डोल्पा जिल्लाको नजिकै पर्ने चोत्र र गडीगाउँलाई पर्यटन क्षेत्रका रुपमा विकास गरिने लक्ष्य रहेको उहाँको भनाइ थियो ।

विशेष गरी हिउँदको समयमा बढी पर्यटक भित्रिने गरेका छन् । स्वच्छ वातावरण, खानेपानी, शौचालय, बिजुली बत्तीलगायत सुविधाको व्यवस्था गरिएकाले पर्यटक घरबासमा आकर्षित भएको चोत्र गाउँका हिमा आगम्मु बुढाले बताउनुभयो । घरबास सञ्चालन भएका घरमा पाँचदेखि १० जनासम्म बस्न सक्ने क्षमता रहेको उहाँको भनाइ थियो ।
“घरबासलाई अझै व्यावसायिक बनाउने सोच बनाएका छौँ”, उहाँले भन्नुभयो, “आउँदा दिनमा अझै सुविधा सम्पन्न बनाउने प्रयत्नमा छौँ ।” प्राङ्गारिक खाना आलु, मकै, मूला, कोदोको ढिँडो, सिस्नो, स्थानीय कुखुरा तथा स्थानीय परिकारमा पर्यटक रमाउने गरेका छन् । घरबास सञ्चालन गरेपछि आफ्नो घरखर्चसमेत राम्रोसँग चलेको बुढाले बताउनुभयो ।

यस गाउँको कला, संस्कृति र मौलिकतासँगै पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले बताउनुभयो । पदयात्रामा आएका स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष गरेर ग्रामीण तहमा घरबास बनाउन थालिएको उहाँको भनाइ थियो । पदयात्राका लागि पदमार्ग धेरै भएकाले यस क्षेत्रमा बसोबासका लागि सहज हुने अपेक्षाका साथ घरबासको अवधारणा स्थानीय सरकारले ल्याएको अध्यक्ष भण्डारीले जानकारी गराउनुभयो । ग्रामीण तहमा घरबास सञ्चालनले स्थानीय स्रोत र साधनको परिचालन, स्थानीय कृषिको प्रवद्र्धनसँगै प्राङ्गारिक खानाले स्थानीयवासीको आर्थिक अवस्थामा सुधार हुनाका साथै प्राङ्गारिक खानाको प्रयोगले स्थानीय कला, संस्कृति र जीवन पद्धतिसमेत संरक्षण हुने उहाँको भनाइ थियो ।

पर्यटकको सहजताका लागि प्रत्येक घरमा टेलिफोन सेवा जडान गरिने जानकारी दिँदै उपाध्यक्ष जानदेवी ऐडीले उक्त गाउँलाई नमूना घरबासका रुपमा विकास गरिने बताउनुभयो । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने तयारी गरिरहेको अवस्थामा स्थानीय तहमा निजी र सामुदायिक घरबास बनाउनेको सङ्ख्या बढेको छ ।