• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   डेनमार्कलाई हराउँदै आयोजक जर्मनी युरो कपको क्वाटरफाइनलमा ★   कोहलीले लिए ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास ★   इटालीलाई हराउँदै स्वीट्जरल्यान्ड युरो कपको क्वाटरफाइनलमा ★   दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारतले जित्यो टी–२० विश्वकपको उपाधि ★   दक्षिण अफ्रिकालाई विश्वकपको उपाधि जित्न १७७ रनको लक्ष्य ★   श्रीमानको असार १५ ★   उत्पादित अन्नको जिम्मेबारी स्थानीयतहले लिने नीति आबश्यक: नेता अब्दुल सत्तार ★   पत्नी आरजुसहित बालकोटमा देउवा, ओलीसँग सवा दुई घण्टा कुराकानी ★   कमेडी च्याम्पियन सिजन-३ का विजेता बने सुनिल खड्का ★   उत्पादत्व वृद्धिका निम्ति परम्परागत पद्धति परित्याग गर्न मन्त्री चौधरीको सुझाव

‘सी विचारधारा’बारे नेकपामा प्रशिक्षण : चीनको विकास मोडल सिक्दै सत्तारूढ नेकपा



काठमाडौं । सत्तारुढ नेकपाले मुलुकको विकासका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङको विचारधारा लागू गर्ने तयारी थालेको छ । नेकपाले चीनमा चामत्कारिक विकास गर्न सफल सीको विचाराधाराबारे पार्टीमा प्रशिक्षण दिँदै सीको विकास मोडल लागू गर्ने गृहकार्य अघि बढाएको हो । नेकपाले अवलम्बन गरेको जनताको जनवाद (जज) र जिनपिङको विचारधाराबारे केन्द्रित भई आज९सोमबार०देखि प्रशिक्षण सुरु हुन लागेको नेकपाले जनाएको छ ।

चिनियाँ राष्ट्रपति जिनपिङको नेपाल भ्रमणको तयारी भइरहेको समयमा सी विचारधारालाई नेकपाले अवलम्बन गर्न लागेको हो । स्कुल विभागमा हुने प्रशिक्षण पछि सी विचारधारालाई अवलम्बन गर्दा पार्टी बलियो हुने नेकपाको बुझाइ छ । कतिपयले सीको नेपाल भ्रमणलाई लक्षित गरी सो विषय अगाडि सारिएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्कुल विभागले चिनियाँ कम्युनिस्ट पार्टीका उच्चस्तरका नेतासहित जज र सी विचारधारबारे सोमबार र मंगलबार राजधानीमा छलफल तय गरेको हो ।

नेकपाको यो तयारीलाई नेपालस्थित कूटनीतिक नियोगहरूले समेत विशेष चासो दिएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको केही समयअघि भएको नेपाल भ्रमणका क्रममा समेत सी विचारधारा अवलम्बन गर्ने विषयमा छलफल भएको थियो । सो कार्यक्रमा नेपाल र चीनका तीन सय बढी नेता सहभागी हुने प्रचार विभागका उपप्रमुख सूर्य थापाले बताए । नेकपा सचिवालयका नौ जना, स्थायी कमिटीका ४५ जना, केन्द्रीय कमिटीका एक तिहाइ गरी नेपालबाट २ सय ५० जना नेता सहभागिता हुने स्कुल विभागले जनाएको छ ।

चीनबाट चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ तावको नेतृत्वमा ४० चिनियाँ नेता सहभागी हुँदै छन् । नेकपा केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख थापाले छलफलका क्रममा नेपालको ७० वर्षे कम्युनिस्ट इतिहासका साथै चीनको कम्युनिस्ट विचारको आदानप्रदान हुने जानकारी दिए ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणको पूर्वसन्ध्यामा सत्तारूढ नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच विचार आदान–प्रदान एवं अन्तरक्रिया हुने बताइएको भए पनि अब स्कुल विभागले सोअनुसार प्रशिक्षण दिने तयारी गरिरहेको पार्टी निकट स्रोतले जानकारी दिएको छ । सीले नेपालमा कम्युनिस्ट सरकार रहेको समयमा विशेष प्याकेज घोषणा गर्न सक्ने अपेक्षासमेत नेकपाले गरेको छ ।

केपी ओली नेतृत्वको सरकार पनि सीको नेपाल भ्रमणको अवसरलाई विशेष बनाउने तयारीमा जुटेको छ । जसका कारण पार्टीको स्कुल विभागले समेत सी विचारधारालाई अगाडि सारेको विज्ञहरू बताउँछन् । ‘यो कुनै प्रशिक्षण होइन, दुई देशका कम्युनिस्ट विचारको छलफल मात्रै हो,’ थापाले भने, ‘नेपाल र चीन दुवैतर्फबाट कार्यपत्र प्रस्तुत गरिने र त्यसमा छलफल हुन्छ ।’

नेकपा स्थायी कमिटीका सदस्य एवं स्कुल विभागका उपप्रमुख बेदुराम भुसालले यो केवल वैचारिक छलफल मात्रै भएको बताए । दुवै देशका कम्युनिस्ट विचारबारे अनुभव साटासाट एवं छलफल हुने उनले बताए । नेपालबाट कम्युनिस्ट नेता कार्यकर्ताले समय समयमा चीनमा गएर त्यहाँको राजनीति, संस्कृति, समाजलगायतका विषयमा अध्ययन गर्ने गरेका छन् । चीनका तर्फबाट त्यहाँको सत्तारूढ दलकै विदेश विभाग प्रमुखको नेतृत्वमा नेपालमै छलफल हुने यो कार्यक्रम अहिलेसम्मकै पहिलो भएको नेताहरू बताउँछन् ।

नेकपा स्थायी कमिटीका सदस्य एवं प्रशिक्षण विभागका उपप्रमुख देवेन्द्र पौडेलले कम्युनिस्ट पार्टीको नीति, सिद्धान्त, कार्यक्रमलगायतका विषयमा छलफल हुने बताए । दुवै देशका कम्युनिस्ट नेताहरू सहभागी हुने कार्यक्रममा दुवै तर्फबाट विभिन्न कार्यपत्र प्रस्तुत हुनुका साथै त्यस विषयमा खुला छलफल हुने उनले बताए । चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा भूमिगत कालमा सीपी मैनालीको नेतृत्वमा नेकपाका वर्तमान स्कुल विभाग प्रमुख ईश्वर पोखरेल, अमृत बोहोरासहितका नेता ६ महिना चीनमा प्रशिक्षित भएर आएका थिए ।

त्यसयता पनि नेपालका क्रियाशील कम्युनिस्ट घटकका नेता–कार्यकर्ता चीन गएर कम्युनिस्ट विचारधारबारे अध्ययन गर्दै आएका छन् । उद्घाटन सत्रमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले नेपालको बदलिँदो कम्युनिस्ट आन्दोलनबारे आफ्नो मन्तव्य राख्नेछन् ।

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ तावको नेतृत्वमा नेपाल आउनेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्कुल विभागका अर्का सदस्य बेदुराम भुसालले स्वागत गर्ने कार्यक्रम रहेको नेकपा प्रचार विभागका उपप्रमुख थापाले बताए । सन् १९४९ को जनवादी क्रान्तिपछि माओत्से तुङले नौलो जनवादमार्फत झन्डै तीन दशक परिवर्तनको नेतृत्व गरेका थिए । त्यसपछि शासनमा आएका देङ स्याओ पिङले चिनियाँ विशेषतायुक्त समाजवादको अवधारणा अघि सारेर चीनलाई आर्थिक क्रान्तिको दिशा दिए ।

दोस्रोपल्ट राष्ट्रपति पद सम्हालिरहेका सीले ‘नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवाद’ सुरु गरेका छन् । जसलाई संविधानमा समेत सी विचारधाराका रूपमा ग्रहण गरी चिनियाँ कम्युनिस्ट पार्टीको निर्देशक सिद्धान्त बनाइएको छ ।

यस्तो हुनेछ कार्यक्रमचिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ तावले पार्टीको दृष्टिकोण राखेपछि अघिल्लो दिनको सत्र पूरा हुनेछ । भोलिपल्ट चिनियाँ कम्युनिस्ट पार्टीका विदेश, प्रशिक्षण र संगठन विभागका प्रतिनिधिले आ–आफ्ना छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्ने र छलफल हुनेछ । चिनियाँ कम्युनिस्ट पार्टीको १९औं महाधिवेशनले तय गरेको राजनीतिक–वैचारिक कार्यदिशा, कम्युनिस्ट आन्दोलनको विश्व दृष्टिकोण, बदलिँदो विश्वबारे उनीहरूले आफ्ना विचार, दृष्टिकोण र धारणा राख्ने कार्यक्रम तय भएको छ ।

छलफलमा दुई देशका कम्युनिस्ट विचारका साथै सांस्कृतिक, आर्थिक, इतिहासलगायतका विषयमा केन्द्रित भई अनुभव साटासाट हुनेछ । यसका साथै विश्वको पछिल्लो राजनीतिक, आर्थिक अवस्था एवं प्रगतिको विषयमा छलफल हुनेछ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले असोज अन्तिममा नेपालको भ्रमण गर्दै छन् । दुवै देशले भ्रमणको तयारीलाई तीव्रता पनि दिएका छन् । सोमबार र मंगलबार चल्ने अन्तक्र्रिया र वैचारिक आदानप्रदान पनि भ्रमणकै पूर्वतयारीका रूपमा रहेको बताइएको छ । समाचार राजधानी दैनिकबाट