८ श्रावण २०८३, शुक्रबार
,
Latest
काठमाडौँ प्रहरीका ६१ प्रतिशत मुद्दाको ‘डिजिटल अभिलेख’ जाजरकोटमा १८८ घर पुनर्निर्माण प्रक्रिया अघि बढाइने सञ्चारमन्त्रीद्वारा नुवाकोटको विद्युत् सेवामा देखिएका समस्या समाधान गर्न निर्देशन वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि व्यावहारिक नीति लागू गरिन्छः मन्त्री यादव दश अर्ब राजस्व सङ्कलन सीमा सुरक्षाको लागि ‘डिजिटल बोर्डर प्रणाली’ तत्काल लागू गर्न संसदीय समितिको निर्देशन हर्मुज जलमार्गमा फसेका छ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान सीमा सुरक्षाको लागि ‘ड्रोन’ र ‘फेस रिकोग्निसन’ सीसीटिभी प्रयोग गर्ने सरकारको तयारी फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध तेक्वान्दोको तीनदिने राष्ट्रिय रेफ्री सेमिनार शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुला सीमाना र साइबर अपराध मुख्य सुरक्षा चुनौती, सीमा क्षेत्रमा नेपाल प्रहरीको उपस्थिति बढाइयो



अ+ अ-

काठमाडाैँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मुलुकको दक्षिणी सीमा क्षेत्रमा खुला सीमानाका कारण सिर्जित विविध सुरक्षा चुनौतीहरू सम्बोधन गर्न प्रहरी सक्रियतापूर्वक परिचालित रहेको बताउनुभएको छ ।  शुक्रवार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आफ्नो धारणा राख्दै महानिरीक्षक कार्कीले सीमा सुरक्षा, संगठित अपराध र पछिल्लो समय बढ्दै गएको डिजिटल ठगीका विषयमा गम्भीर चासो व्यक्त गर्नुभएको हो ।

महानिरीक्षक कार्कीकाअनुसार १ हजार १०४ किलोमिटर लामो दक्षिणी सीमा क्षेत्रमा नागरिकको सुरक्षाका लागि प्रहरीका ३ सय ६ वटा इकाइहरू परिचालित छन् । यसमा स्थायी युनिटका साथै नागरिकको सुरक्षार्थ स्थापना गरिएका अस्थायी प्रहरी चौकीहरू समेत समावेश छन् । सीमावर्ती क्षेत्रका बासिन्दाको सुरक्षा र प्रहरीसम्मको सहज पहुँच सुनिश्चित गर्न यी इकाइहरूले महत्वपूर्ण भुमिका खेलिरहेको उहाँले उल्लेख गर्नुभयो ।

बैठकमा महानिरीक्षक कार्कीले खुला सीमानाका कारण निम्तिएका सुरक्षा चुनौतीहरूको चर्चा गर्नुभयो । उहाँले लागुऔषधको अवैध ओसारपसारले तराईदेखि हिमालका चुचुरासम्मका युवाहरू प्रभावित भएको बताउनु भयो । लागुऔषध मात्र नभई हातहतियार र विस्फोटक पदार्थको ओसारपसार, सीमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधि र मानव बेचबिखन जस्ता संगठित अपराध नियन्त्रण गर्नु प्रहरीको मुख्य चुनौती बनेको बताउनु भयो । महानिरीक्षक कार्कीले भन्सार छली र तस्करी नियन्त्रणलाई राष्ट्रिय सुरक्षा र आन्तरिक आर्थिक सुरक्षासँग जोडेर हेर्नुपर्ने बताउनु भयो । सीमा क्षेत्रमा हुने अपहरण र शरीर वन्धक जस्ता घटनाले नागरिकको सुरक्षा अनुभूतिमा प्रत्यक्ष असर पु¥याएको उहाँको भनाइ छ ।

पछिल्लो समय नक्कली मुद्राको कारोबार र डिजिटल ठगी नयाँ चुनौतीका रूपमा उदाएको उहाँले जानकारी दिनुभयो । सीमापारि नक्कली नेपाली रुपैयाँ उत्पादन गरी नेपालमा वितरण गर्ने गरिएको र डिजिटल वालेटमार्फत नागरिकको बैंक खाताबाट रकम चोरी हुने घटनाहरू बढेको उहाँले बताउनु भयो । चिट्ठा परेको प्रलोभन देखाएर गरिने साइबर ठगी, अनलाइन सट्टेबाजी र हुण्डी कारोबारले वित्तीय सुरक्षामा गम्भीर असर पारेको उहाँले औंल्याउनु भयो । सीमा क्षेत्रमा हुने डुबान, वन पैदावार र नदीजन्य पदार्थको अवैध दोहन तथा कवाडी सामानको तस्करीका कारण समूहगत द्वन्द्व बढ्ने गरेको उहाँले उल्लेख गर्नुभयो । यस्ता गतिविधिले वातावरणीय समस्याका साथै शान्ति सुरक्षामा समेत खलल पु¥याएको उहाँको ठहर छ ।

सीमा क्षेत्रको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाल प्रहरीले गत आर्थिक वर्षमा विशेष सक्रियता देखाएको छ । महानिरीक्षक कार्कीकाअनुसार सो अवधिमा सीमा क्षेत्रमा मात्रै १ हजार ३ सय ६९ पटक अनुगमन र २ सय ९७ पटक विशेष गस्ती गरिएको छ । यस्तै, अन्य सुरक्षा निकायहरूसँगको समन्वयमा १ हजार २ सय १ वटा संयुक्त गस्ती सम्पन्न गरिएको जानकारी उहाँले समितिलाई दिनुभयो । –न्युज एजेन्सी नेपाल