९ भाद्र २०८३, मंगलवार
,
Latest
नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्लाइउड निर्यातका अवरोध तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साहले प्लाइउड तथा काठजन्य सामग्रीको निर्यातमा देखिएका अवरोध तत्काल हटाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको निर्यात समितिका प्रतिनिधिसँग शुक्रबार सिंहदरबारमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री साहले प्लाइउड निर्यातमा देखिएका नीतिगत तथा प्राविधिक समस्या समाधान गर्न निर्देशन दिनुभएको हो ।

भेटमा प्लाइउड क्षेत्रको वर्तमान अवस्था, लगानी, निर्यातको सम्भावना र विद्यमान समस्याबारे विस्तृत छलफल भएको नेपाल उद्योग वाणिज्य महासंघको निर्यात समितिका सभापति होमप्रसाद दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार व्यवसायीहरूले कच्चा पदार्थको आपूर्ति, भारतीय गुणस्तर मापदण्ड (बीआईएस) र नेपाल गुणस्तर (एनएस) बीचको समकक्षता कायम गर्नुपर्ने लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

विशेषगरी प्लाइउड, ढोका तथा अन्य काठजन्य सामग्री निर्यातका लागि आवश्यक फाइटो स्यानिटरी तथा फ्युमिगेसन सर्टिफिकेटसम्बन्धी कार्यविधि नहुँदा निर्यात प्रक्रिया प्रभावित भएको व्यवसायीहरूले बताएका थिए । त्यसपछि प्रधानमन्त्री साहले क्वारेन्टाइनसम्बन्धी आवश्यक कार्यविधि तत्काल तयार गरी निर्यात प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको दाहालले बताउनुभयो ।

सरकारले अघि सारेको काठ निर्यातको योजनालाई प्रभावकारी बनाउन सल्लो तथा अन्य हार्डउडजन्य सामग्रीको निर्यातका लागि आवश्यक कार्यविधि तयार गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ ।

दाहालका अनुसार व्यवसायीहरूले नेपालबाट ठूलो परिमाणमा निर्यात गर्न सकिने सम्भावना रहेको प्लाइउड उद्योगका समस्या र चुनौतीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । प्रधानमन्त्रीले व्यवसायीका कुरा सुन्दै तत्काल समाधान गर्न सकिने विषयमा सम्बन्धित निकायलाई निर्देशन दिनुभएको उहाँले बताउनुभयो ।

यसैगरी, स्वदेशमै तयारी वस्तु उत्पादन गर्ने सम्भावना हुँदाहुँदै ठूलो परिमाणमा कच्चा पदार्थ मात्रै विदेश निर्यात भइरहेको विषयमा समेत छलफल भएको थियो । कच्चा पदार्थको निर्यात घटाउँदै प्रशोधित तथा तयारी वस्तुको निर्यात बढाउन सरकारले आवश्यक नीति र सहजीकरण गर्ने प्रतिबद्धता जनाएको दाहालले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको सक्रियतापछि प्लाइउड तथा काठजन्य सामग्री निर्यातमा देखिएका क्वारेन्टाइनसम्बन्धी समस्या छिट्टै समाधान हुनेमा व्यवसायीहरू आशावादी देखिएका छन्।