काठमाडाैँ । पूर्वमन्त्री एवं नेकपा (एमाले)का केन्द्रिय सदस्य प्रदीप ज्ञवालीले जनता सजग नभए संविधानमा हुने प्रतिकूल तथा प्रतिगामी संशोधनलाई रोक्न नसकिने टिप्पणी गुर्नभएको छ ।
शुक्रवार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा काठमाडौंमा आयोजित ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरुको भुमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । संविधान निर्माणमा प्रमुख भुमिका खेलेका नेकपा (तत्कालीन माओवादी केन्द्र), नेकपा (एमाले) र नेपाली काँग्रेस मिल्दा पनि प्रतिनिधि सभामा सरकारका प्रतिगामी प्रयास रोक्न नसकिने अवस्था रहेको उहाँको भनाइ छ । उहाँले सरकारका पछिल्ला गतिविधले मुलुक भूराजनीतिक भूमरीमा फस्ने खतरा बढेको दाबी समेत गर्नुभयो
। पश्चिमी मुलुकका सैन्य अधिकारीहरूको नेपाल भ्रमण, ‘फ्री तिब्बत’ सम्बन्धी गतिविधि, दलाई लामासम्बन्धी कार्यक्रम तथा प्रधानमन्त्रीले संसदमा दिएको आत्मघाति अभिव्यक्तिले मुलुकलाई जटिल भूराजनीतिक अवस्थामा धकेल्ने जोखिम रहेको ज्ञवालीको भनाइ छ । उहाँले संविधान संशोधनको नाममा संविधानका आधारभूत मूल्यमान्यतामाथि कैँची चलाउने प्रयत्न भइरहेको टिप्पणी गर्नुभयो । उहाँले मुलुकमा उत्पन्न राजनीतिक र संवैधानिक जोखिम टार्न सबै लोकतान्त्रिक तथा वामपन्थी दलहरुबीच कार्यगत एकताको आवश्यकता रहेको पनि बताउनु भयो ।
उहाँले सत्तारुढ दल रास्वपाले सामाजिक प्रजातन्त्रलाई आफ्नो राजनीतिक दर्शनका रूपमा आत्मसाथ गरेको भएपनि सरकार नीति र व्यवहार उक्त सिद्धान्तसँग मेल नखाने टिप्पणी गर्नुभयाे ।










