काठमाडौँ। मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत जलबिरे क्षेत्रमा आइतबार बिहान दुईवटा बस एकआपसमा ठोक्किँदा सडक अवरुद्ध भएको छ ।
आज बिहानैदेखि सञ्चालनमा आएको सडक उक्त दुर्घटनाका कारण पुनः ठप्प हुन पुगेको हो।
सुरक्षाको दृष्टिकोणले जिल्ला प्रशासन कार्यालयले हिजो बेलुकी १० बजेदेखि उक्त सडक खण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो। आज बिहानैदेखि रोक हटाई सडक सुचारु गरिए पनि खुलेको केही समयमै दुर्घटना भएपछि यात्रुहरू बिच बाटोमै अलपत्र परेका छन्।
प्रहरीका अनुसार दाङबाट काठमाडौं आउँदै गरेको लु.प्र.०२-००१ ख ०५०५ र नारायणगढबाट काठमाडौं जाँदै गरेको बा. प्र. ०३ ००१ ख १६७१ नम्बरको बस ठोक्किएका हुन् । अर्को काठमाडौंबा नारायणगढतर्फ आउँदै गरेको गाडीको नम्बर खुलेको छैन ।
ठोक्किएको निलो रङको बस नारायणगढबाट काठमाडौं जाँदै थियो भने राजधानी एक्सप्रेस नारायणगढतर्फ आउँदै थियो । दुर्घटनामा नारायणगढ आउँदै गरेको राजधानी एक्स्प्रेस बसका चालक गम्भीर घाइते भएका छन् ।











