२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

एमसिसी मुद्दामा गठबन्धन टुटाउने षड्यन्त्र सफल हुँदैन : गठबन्धन

एमसिसी मुद्दामा गठबन्धन टुटाउने षड्यन्त्र सफल हुँदैन : गठबन्धन
अ अ+ अ-

प्रधानमन्त्रीलाई एमसिसी अनुमोदनको आश्वासन दिएर ओलीले सत्तागठबन्धन टुटाउने ‘दाउपेच’ गरेको शीर्ष नेताहरूको आरोप

पाँचदलीय सत्तागठबन्धनका शीर्ष नेताहरूले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदनको आश्वासन दिएर एमाले अध्यक्ष केपी ओलीले गठबन्धन टुटाउने ‘दाउपेच’ गरेको दाबी गरेका छन् । तर, त्यस्तो ‘दाउपेच’ सफल हुन नदिने उनीहरूको भनाइ छ ।

समाजवादी प्रेस संगठनले सोमबार राजधानीमा गरेको कार्यक्रममा गठबन्धनका शीर्ष नेताहरूले एमसिसीको मुद्दामा राष्ट्रिय हितअनुकूल सहमति जुटाउने र अहिलेको गठबन्धन टुट्न नदिने दाबी गरे । ओलीको दाउपेचप्रति आफूहरू सचेत रहेको उनीहरूको भनाइ छ । 

आइतबार पाँचदलीय गठबन्धन र सर्वदलीय बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी अनुमोदनका लागि प्रस्ताव गरेको अर्को दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष डा. बाबुराम भट्टराईले एमसिसीका कारण गठबन्धन तलमाथि नहुने दाबी गरेका हुन् ।

माओवादी अध्यक्ष प्रचण्डले एमसिसी मुद्दामा सर्त अगाडि सारेर एमाले अध्यक्ष ओलीले गठबन्धन टुटाउने ‘डिजाइन’ गरे पनि प्रधानमन्त्री देउवा र आफूबीच त्यसलाई सफल हुन नदिने सहमति बनेको बताए । ‘निरन्तर सदन अवरुद्ध गर्नुका पछाडि उहाँ (केपी ओली)ले सर्त राखेको सुनेका छौँ । गठबन्धन टुट्छ भने कांग्रेसलाई एकलौटी सरकार चलाउन दिने उहाँको कुरा छ । गठबन्धन टुट्ने हो भने एमसिसी पास गर्न सहयोग गरिदिने भन्नुभएको छ । यति ठूलो आन्दोलन गरेर आएको चिजलाई एउटा डिजाइनका साथ समर्थन गर्ने रे ! अर्कोतिर सदन चल्न नदिएर कुनै पनि विधेयक पारित हुन नदिने डिजाइन । यो सबै प्रतिगमनकै निरन्तरता हो,’ प्रचण्डले भने, ‘प्रधानमन्त्री देउवाजीसँग यसबीचमा मेरो कुराकानी भइरहेको छ, उहाँले कुनै हालतमा गठबन्धन टुट्न नदिने, गठबन्धन टुटाऊ समर्थन गर्छु भन्ने ओली प्रवृत्तिलाई सफल हुन नदिने विश्वास दिलाउनुभएको छ, उहाँलाई धन्यवाद भन्न चाहन्छु ।’ 

 

एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमसिसी सम्झौतालाई विशुद्ध आर्थिक विषय बनाएर राष्ट्रिय हितअनुकूल अगाडि बढाउन सकिने सम्भावनाबारे छलफल चलिरहेको बताए । ‘एमसिसीको सवालमा केही त्रुटि कमजोरी छन् भने, सच्याउनुपर्ने र प्रतिबद्धता लिनुपर्ने कुरा छन् भने ती के–के हुन् भनेर छलफल गरिरहेका छौँ । तीनजनाको कमिटी बनाइएको छ,’ नेपालले भने, ‘जनभावनालाई पनि विचार गरिरहेका छौँ । यी सबै हेर्छौं । नेपाललाई कुनै पनि सैन्य गठबन्धनमा समावेश गर्ने कुरा स्विकार्न सक्दैनौँ । सहज वातावरणमा अगाडि बढाउन चाहन्छौँ । यसलाई विशुद्ध आर्थिक विषय बनाऊँ । यो सेनाको विषय, नेपालको सार्वभौमसत्ताको मामिलासँग जोडिएको विषय नहोस्, छिमेकीमाथि असर पर्ने कुरा पनि नहोस् भन्नेमा हामी सचेत छौँ । यसबारे पाँच दलमा छलफल गर्छौँ र निष्कर्षमा पुग्छौँ । देशको हित सुनिश्चित गरेर अगाडि बढ्नेछौँ ।’ 

जनता समाजवादी पार्टीको राष्ट्रिय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले एमसिसीमा सहमति जुट्न नसके प्रतिगमनको खतरा रहेकाले सजगता अपनाएर अघि बढ्ने तयारी भइरहेको बताए । ‘चर्चामा एमसिसीको मुद्दा छ, यस्ता मुद्दामा कमसेकम गठबन्धनका घटकबीच सहमति जुटाएर अगाडि बढ्न सकेनौँ भने यही बहानामा भित्री–बाहिरी शक्तिले खेलेर गठबन्धन तोडिदिने, त्यसपछि फेरि अर्को ढंगले प्रतिगमन आउने खतरा छ,’ भट्टराईले भने, ‘यो विषयलाई यो वा ऊ बहानामा तन्काउन थालेमा विस्फोटक रूप लिएर गठबन्धन भत्किने र पुनः प्रतिगमन आउने टड्कारो सम्भावना छ, त्यसलाई ख्याल गरेर छलफल गरेर हामी अगाडि बढ्छौँ ।’ 

सरकारका प्रवक्ता तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले पनि एमसिसी मुद्दामा सकभर राष्ट्रिय सहमति जुटाउने, त्यसो हुन नसके गठबन्धनभित्र एउटै धारणा बनाएर अघि बढ्ने प्रयास भइरहेको जानकारी दिए । ‘सर्वदलीय सहमतिका लागि सरकारले प्रयास गरिरहेको छ, गठबन्धनभित्र पनि एमसिसीका सवालमा छलफल चलिरहेको छ,’ गठबन्धनले बनाएको तीनदलीय अध्ययन समितिमा समेत रहेका कार्कीले भने, ‘यसलाई सबै पक्षबाट विचार गरेर नै अगाडि बढाउने तयारी छ ।’ सोही कार्यक्रममा फरक प्रसंगमा प्रचण्डले निर्वाचन आयोगको सेटिङमा ओलीको राजनीति बचाइएको दाबी गरे । ‘यदि निर्वाचन आयोगले कानुनअनुसार निर्णय लिएको भए केपी ओली पार्टीविहीन, चुनावचिह्नविहीन एउटा बबुरो नेता बन्थे । अर्को पार्टी दर्ता गरेर चुनावचिह्न पनि उहाँले अर्कै बनाइसक्नुभएको थियो । त्यसपछि एउटा सेटिङअन्तर्गत उहाँलाई बचाइयो,’ प्रचण्डले भने । 

समाजवादीका अध्यक्ष नेपालले कांग्रेससहित कुनै पनि दलले आगामी निर्वाचनमा बहुमत ल्याउने स्थिति नरहेकाले गठबन्धनलाई निरन्तरता दिन छलफल चलिरहेको बताए । ‘गठबन्धन एकताबद्ध भएर अगाडि बढिरहेको छ । राष्ट्रिय सभाको निर्वाचनमा संयुक्त रूपमा अगाडि बढ्ने फैसला गरेका छौँ । उपनिर्वाचनमा पनि मिलेर अगाडि बढ्ने निर्णय गरेका छौँ । आगामी दिनमा कसैको बहुमत आउने स्थिति छैन,’ उनले भने, ‘सबैको चाहना पाँच पार्टी आगामी संघीय, प्रदेश र स्थानीय चुनावमा मिलेर अगाडि बढून् भन्ने छ । यी विषयमा पनि हामीले छलफल चलाइरहेका छौँ । यसर्थ, गठबन्धन लामो समयसम्म जाने सम्भावना छ ।’ 

नेपालले अबको चुनावमा ओलीले एक्लै बहुमतको धक्कु लगाएको र त्यस्तो गफको कुनै अर्थ नरहेको दाबी गरे । ‘कुनै एउटा पार्टीले बहुमत पाउने सम्भावना छैन । तर, अहिले हेर्नुस्, केपी ओली एक्लै बहुमत ल्याउँछु भन्दै कुर्लिएका छन् । गफमा मात्रै बहुमत आउँछ । गफमा त उनलाई गिनिज बुकमा नाम लेखिदिए हुन्छ । गफाडी नम्बर एक केपी ओली… अरूलाई अपमान मात्रै गर्ने, तेजोवध मात्रै गर्ने, परपीडक नम्बर एक ओली भनिदिए हुन्छ,’ उनले भने । सिंगो पार्टी ओलीको नेतृत्वसामु निरीह बनिसकेको दाबी गर्दै नेपालले एमाले वामपन्थबाट रामपन्थ भइसकेको जिकिरसमेत गरे । 

(नयाँपत्रिका दैनिकमा समाचार छ)