३० असार २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाहले सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता नलिएसम्म विरोध जारी रहने एमालेको चेतावनी उच्च शिक्षामा १० प्रतिशत छात्रवृत्ति सुनिश्चित गर्न विश्वविद्यालयका उपकुलपतिहरूको संयुक्त पहल विवेक मण्डलको निधनप्रति गगन थापाद्वारा श्रद्धाञ्जली, सन्तानको शिक्षामा सहयोग गर्ने प्रतिबद्धता नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल थप, देशभरको रगतको उपलब्धता अब एकै ठाउँबाट हेर्न सकिने गाजा शहरमा इजरायली हवाई आक्रमणः चार प्यालेस्टिनीको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आत्मदाह प्रयास गरेका विवेक मण्डलको मृत्यु कान्ति लोकपथ अस्थायी रूपमा बन्द न्युयोर्कमा ‘नेपाली–अमेरिकन व्यापार तथा लगानी सम्मेलन २०२६’ घोषणा, नेपाल–अमेरिका आर्थिक सहकार्य विस्तारमा जोड हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युयोर्कमा ‘नेपाली–अमेरिकन व्यापार तथा लगानी सम्मेलन २०२६’ घोषणा, नेपाल–अमेरिका आर्थिक सहकार्य विस्तारमा जोड



अ+ अ-

न्युयोर्क: असार नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्स ले ‘नेपाली–अमेरिकन व्यापार तथा लगानी सम्मेलन २०२६’ आयोजना गर्ने घोषणा गरेको छ।

आयोजकका अनुसार सम्मेलन आगामी सेप्टेम्बर २५ देखि २७, २०२६ सम्म अमेरिकाको न्युयोर्कस्थित जेएफके मेरियट होटल मा “पूँजी, विचार र अवसरलाई जोड्ने” नारासहित सञ्चालन हुनेछ।

तीनदिने सम्मेलनमा नेपाल र अमेरिकाका सरकारी प्रतिनिधि, व्यवसायी, लगानीकर्ता, उद्यमी, नीतिनिर्माता तथा विश्वभर रहेका नेपाली डायस्पोराका प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। सम्मेलनमार्फत दुई देशबीच व्यापार विस्तार, लगानी प्रवर्द्धन, प्रविधि विकास तथा दीर्घकालीन आर्थिक साझेदारीलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

सम्मेलन घोषणा कार्यक्रममा बोल्दै ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्स का अध्यक्ष प्रदीप श्रेष्ठ ले सम्मेलन नेपाल र अमेरिकाबीच आर्थिक सम्बन्धलाई नयाँ आयाम दिने साझा मञ्च भएको बताए।

उनले नेपाल पर्यटन, जलविद्युत्, सूचना प्रविधि, आधुनिक कृषि, पूर्वाधार, उत्पादनमूलक उद्योग तथा स्टार्टअप क्षेत्रमा लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै अमेरिकामा रहेका नेपाली मूलका व्यवसायी, लगानीकर्ता तथा प्रविधि विज्ञहरूको ज्ञान, अनुभव र पूँजीलाई नेपालको आर्थिक विकाससँग जोड्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए।

उनले अमेरिकाभर रहेका नेपाली उद्यमीहरूबीच सञ्जाल विस्तार, अनुभव आदानप्रदान तथा रणनीतिक साझेदारी निर्माणमा पनि सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनका अनुसार नेपाली व्यवसायीहरूले अमेरिका भरि रेस्टुरेन्ट, होटल, स्वास्थ्य सेवा, सूचना प्रविधि, रियल स्टेट, निर्माण, वित्तीय सेवा, खुद्रा व्यापार, शिक्षा तथा यातायातलगायत क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेका छन्।

सम्मेलनमा नेपालका लगानी सम्भावना, अन्तर्राष्ट्रिय व्यापार, पूँजी साझेदारी, कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित नवप्रवर्तन तथा स्थानीय व्यवसायलाई विश्व बजारसँग जोड्ने विषयमा विभिन्न सत्र सञ्चालन गरिनेछ।

कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय तथा डायस्पोरा नेतृत्वको विशेष सम्बोधन, सरकार–निजी क्षेत्र संवाद, स्टार्टअप प्रदर्शनी, उत्पादन सार्वजनिक कार्यक्रम, लगानीकर्ता सञ्जालीकरण, व्यवसाय–व्यवसाय (B2B) तथा व्यवसाय–सरकार (B2G) भेटघाट, रणनीतिक साझेदारी बैठक गरिने जनाइएको छ।

घोषणा कार्यक्रममा सम्मेलनको आधिकारिक वेबसाइट सार्वजनिक गर्दै दर्ता प्रक्रिया पनि खुला गरिएको छ। स्टार्टअप तथा उद्यमीहरूले आफ्नो व्यवसाय प्रस्तुत गर्न आवेदन दिन सक्नेछन् भने प्रायोजन, प्रदर्शनी तथा रणनीतिक साझेदारीका अवसरहरू पनि खुला गरिएको आयोजकले जनाएको छ। यससम्बन्धी जानकारी सचिवालय निर्देशक दिपेन्द्र लामा ले दिएका थिए भने वित्त निर्देशक पशुपति श्रेष्ठ ले सहभागीहरूको जिज्ञासाको जवाफ दिएका थिए।

सम्मेलन ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्स को आयोजनामा तथा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावास को सहयोगमा सम्पन्न हुने छ। घोषणा कार्यक्रममा महावाणिज्यदूत दधिराम भण्डारी ले नेपाल–अमेरिका आर्थिक सहकार्यलाई सुदृढ बनाउन यस्ता सम्मेलनको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गरे।