१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद

कालोपत्रपछि बर्खायाममा सहज बन्यो दोर्दीको केन्द्र जोड्ने सडक

कालोपत्रपछि बर्खायाममा सहज बन्यो दोर्दीको केन्द्र जोड्ने सडक
अ अ+ अ-

लमजुङ। अघिल्लो बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने सडकका कारण सास्ती खेप्दै आएका दोर्दी गाउँपालिकावासी अहिले सहज रूपमा सडक यात्राको अनुभव गरिरहेका छन् ।

उदिपुर–रिठ्ठेबगर–नौथर हुँदै दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडक कालोपत्र सम्पन्न भएपछि यस वर्षको बर्खायाममा ससवारीसाधन सहज रूपमा सञ्चालन भइरहेका छन् ।

गण्डकी प्रदेश सरकारको ‘एक पालिका, एक सडक’ अभियानअन्तर्गत निर्माण गरिएको उक्त सडक सञ्चालनमा आएपछि सदरमुकाम बेँसीसहर र दोर्दी गाउँपालिकाबीचको यात्रा सहज, छोटो र सुरक्षित बनेको छ । विगतमा वर्षामा सडक हिलाम्मे हुने, सवारीसाधन चिप्लिने, गाडी फस्ने तथा यात्रा गर्न घण्टौँ लाग्ने अवस्था थियो । हिउँदमा धुलो उड्ने समस्या हुँदा स्थानीय बासिन्दा, यात्रु तथा सडक आसपासका बस्तीसमेत प्रभावित हुने गरेका थिए ।

अहिले अस्फाल्ट प्रविधिबाट कालोपत्र भएपछि स्थानीयले राहत पाएका छन् । सडक राम्रो भएपछि वर्षायाममा पनि सहज रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन् भने दैनिक आवतजावत छरितो बनेको छ । दोर्दी गाउँपालिका–४ नौथरसैराका स्थानीय लक्ष्मण गुरुङले सडक कालोपत्र भएपछि बर्खायाममा समेत सहज रूपमा आवतजावत गर्न सकिएको बताउनुभयो ।

विगतमा हिलो र चिप्लोपनका कारण उदिपुरबाट दोर्दी पुग्न निकै समय लाग्ने गरेको स्मरण गर्दै उहाँले अहिले मोटरसाइकल तथा साना सवारीसाधनबाट १५–२० मिनेटमै आवतजावत गर्न सकिने भएको बताउनुभयो । “पहिला बर्खामा सडकको अवस्था खराब हुँदा जोखिम मोलेर यात्रा गर्नुपथ्र्यो । गाडी चिप्लिने, हिलोमा फस्ने र कतिपय अवस्थामा यात्रुले झरेर बाटो मिलाउनुपर्ने अवस्था थियो । अहिले सडक राम्रो भएपछि समयमा नै गन्तव्यमा पुग्न सकिन्छ”, उहाँले भन्नुभयो ।

बेँसीसहर नगरपालिका–११ रामचोक बेँसीका ईश्वरराज सेढाईले पनि सडक सहज भएपछि दैनिक आवतजावतमा ठूलो सुविधा पुगेको बताउनुभयो । घर र कामको सिलसिलामा यही सडक हुँदै नियमित यात्रा गर्ने उहाँले पहिले घर पुगेर फर्किनसमेत धेरै समय लाग्ने गरेकामा अहिले छोटो समयमै काम सकेर फर्किन सकिने अवस्था बनेको बताउनुभयो ।

“पहिला जानलाई लाग्ने समयले अहिले गएर आएर काम सक्न सकिने अवस्था छ । समयको सदुपयोग भएको छ”, उहाँले भन्नुभयो । सडक सहज भएपछि कृषि उत्पादन बजारसम्म पुर्याउन, आवश्यक सामग्री ल्याउन तथा सदरमुकाम आवतजावत गर्न पनि सहज भएको उहाँको भनाइ छ ।

दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले पालिका केन्द्र जोड्ने मुख्य सडक कालोपत्र भएपछि स्थानीयलाई ठूलो राहत पुगेको जानकारी दिनुभयो । सडक निर्माण सम्पन्न भएपछि पालिका आउने–जाने र सदरमुकाम बेँसीसहरसम्मको यात्रा सहज, छोटो र सुरक्षित बनेको उल्लेख गर्दै उहाँले वर्षायाममा हुने जोखिमसमेत हटेको बताउनुभयो ।

सडक पूर्वाधारको विकासले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानीलगायत अन्य विकासका क्षेत्रमा सकारात्मक प्रभाव पारेको उहाँको भनाइ छ । “यो सडक दोर्दीको विकासको एउटा महत्त्वपूर्ण उदाहरण हो”, उहाँले भन्नुभयो ।

पूर्वाधार विकास कार्यालय लमजुङका सूचना अधिकारी नरेशराज जोशीले सडक निर्माण सम्पन्न भई अहिले नियमित रूपमा सञ्चालनमा रहेको बताउनुभयो । उहाँका अनुसार गत मङ्सिरको अन्तिमतिर कालोपत्र सम्पन्न भएको हो । प्रदेश सरकारको रु २६ करोड २९ लाख लगानीमा निर्माण भएको ७.१ किलोमिटर सडकको ठेक्का कन्टेक निर्माण प्रालि काठमाडौँले पाएको थियो ।

कम्पनीसँग विसं २०७७ असार ३ गते सम्झौता भएको थियो । कोभिड–१९ लगायतका कारण निर्माण प्रभावित भएपछि तोकिएको समयमा काम सम्पन्न हुन सकेन । त्यसपछि पटकपटक म्याद थप गरिएकामा पछिल्लोपटक थपिएको अवधिभित्र निर्माण सम्पन्न गरी सडक सञ्चालनमा ल्याइएको हो ।

सडकमा अस्फाल्ट कालोपत्रसँगै आवश्यक स्थानमा ढलान, नाला तथा अन्य संरचना निर्माण गरिएको छ । सडक सञ्चालनमा आएपछि दोर्दी गाउँपालिकाका बासिन्दाको दैनिक आवतजावत, कृषि उपज ढुवानी, शैक्षिक तथा स्वास्थ्य सेवामा पहुँच सहज भएको छ । सदरमुकामसँगको सम्पर्क सहज बनेसँगै स्थानीयको आर्थिक तथा सामाजिक गतिविधिमा समेत सकारात्मक प्रभाव परेको छ । रासस