काठमाडाैँ । भोटेकोशी नदीमा आएको विनासकारी बाढी र विपद्पछि सिर्जित जटिल अवस्थालाई सम्बोधन गर्न जिल्ला जनस्वास्थ्य कार्यालय रसुवाले १२ बुँदे निर्णय गरेको छ । जिल्लास्थित जनस्वास्थ्य कार्यालयका प्रमुख निरध्वज घर्तीमगरको अध्यक्षतामा बसेको सरोकार भएका निकायका प्रतिनिधि सहभागी बैठकले बाढीबाट भएको क्षति, स्वास्थ्य सेवा प्रवाह तथा आगामी कार्ययोजनासम्बन्धी निर्णय पारित गरेको हो ।
बैठकले गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाउने स्वास्थ्यकर्मी, कर्मचारी तथा सर्वसाधारणप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । बाढीका कारण नौकुण्ड गाउँपालिकामा भौतिक क्षति नभए पनि मानवीय, स्वास्थ्य तथा जनजीवनमा गम्भीर असर पुगेकाले उक्त गाउँपालिकालाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्न सम्बन्धित अधिकारप्राप्त निकायसमक्ष सिफारिस गर्ने निर्णय बैठकले गरेको जनस्वास्थ्य प्रमुख घर्तीमगरले जानकारी दिनुभयो ।
उहाँका अनुसार बाढीका कारण सडक सञ्जाल विच्छेद भई गम्भीर बिरामीहरूको प्रेषण (रेफर)मा जटिलता उत्पन्न भएकाले न्यूनतम छ महिनाका लागि जीवजिवे ग्रामीण अस्पताल र दोबो तेम्बा फुर्पु आधारभूत अस्पतालमा विशेषज्ञ चिकित्सक (एमडिजिपी), एनेस्थेसिया सहायक तथा छात्रवृत्ति करारका मेडिकल अधिकृत उपलब्ध गराउन बागमती प्रदेश सरकारसँग माग गरिएको छ ।
भौगोलिक विकटताका बीच स्वास्थ्य सेवा पुर्याउन दोबोतेम्बा फुर्पु आधारभूत अस्पतालमा सञ्चालित टेलिमेडिसिन कार्यक्रमलाई थप सुदृढ गरिने भएको छ । बाढीले स्याफ्रुबेँसी स्वास्थ्यचौकी पूर्ण रूपमा क्षतिग्रस्त भएकाले खोप सेवाको निरन्तरताका लागि गोसाइँकुण्ड गाउँपालिकाको कोल्डचेन सबसेन्टर रसुवा स्वास्थ्यचौकीमा कायम गर्ने निर्णय गरिएको छ । साथै, बाढी प्रभावित क्षेत्रमा सञ्चालन हुने स्वास्थ्य शिविरहरूमा ‘सामुदायिक आँखा केन्द्र, रसुवा’लाई पनि सहभागी गराइने कार्यालयले जनाएको छ ।
बैठकले आर्थिक वर्ष २०८२/८३ को जिल्लास्तरीय वार्षिक समीक्षा कार्यक्रम आगामी असोज २१ र २२ गते आयोजना गर्ने निर्णयसमेत गरेको छ । बाढीका कारण गोसाइँकुण्ड गाउँपालिकाले समीक्षा गर्न नसकेको अवस्थामा सहज भएपछि मात्र गर्ने र अन्य पालिकाहरूमा दसैँलगत्तै पालिकास्तरीय समीक्षा गरिने जनस्वास्थ्य प्रमुख घर्तीमगरले बताउनुभयो ।
बाढीबाट क्षति पुगेका स्वास्थ्य संस्थाहरूको तथ्याङ्क सङ्कलन र प्रतिवेदन प्रणालीलाई नियमित गर्न पालिकाका तथ्याङ्क फोकल पर्सनहरूलाई जिम्मेवारी दिइएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।








